‘मेरा काका चाउ एनलाई’ को नेपाली संस्करण पुस्तक विमोचन गरिएको छ । बेल्ट एन्ड रोड पुस्तकालयमा बुधबार माइ अंकल चाउ एनलाई (My Uncle Zhou Enlai) को नेपाली संकरण ‘मेरा काका चाउ एनलाई’ पुस्तक विमोचन गरिएको हो ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा चाउ एर्लियुद्वारा लिखित सो पुस्तक पूर्वचिनियाँ प्रधानमन्त्री चाउ एनलाईकी नातिनी चाउ रोंग, नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुखवाङ सीन, चाइना स्टडी सेन्टरका महासचिव डा. उपेन्द्र गौतम, अनुवादक अजय शर्मा र सम्पादक तथा प्रकाशक किरण गौतमले विमोचन गर्नुभयो ।
कार्यक्रममा वाङ सीनले प्रधानमन्त्री चाउको निःस्वार्थ योगदान र नेपाल–चीन सम्बन्ध निर्माणमा पु¥याएको ऐतिहासिक भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सन् १९५७ र १९६० का नेपाल भ्रमणहरूदेखि लिएर सगरमाथा–चोमोङमा सीमा समाधानसम्मको प्रसङ्ग स्मरण गर्दै भन्नुभयो, “यो पुस्तक केवल जीवनी होइन, यो हिमालवारपारको आत्मिक पुल हो ।”
चाउ रोंगले नेपालमा प्राप्त आत्मीय स्वागतप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आफ्नो परिवारको नेपालप्रतिको सम्बन्धबारे आत्मीय अनुभूतिका बारेमा चर्चा गर्नुभयो ।
यस्तै, कार्यक्रममा पुस्तकका नेपाली अनुवादक तथा गोरखापत्र दैनिकका उप–सम्पादक अजय शर्माले चाउ एनलाई केवल एक राजनेता मात्रै नभएर एक सहृदय र गम्भीर व्यक्तिका रूपमा आफूले पाएको बताउनुभयो । उहाँले यो अनुवाद आफ्नो जीवनको सबैभन्दा भावनात्मक र प्रेरणादायी अनुभव भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “पुस्तक अनुवाद गर्दा मैले चिनियाँ इतिहासका महत्वपूर्ण घटनाहरू अनुभव गर्ने अवसर पाएँ । चाउ एनलाईको जीवनले नेतृत्व, निष्ठा र पारिवारिक मूल्यबोधबारे ममा गहिरो प्रभाव पा¥यो । यो काम केवल भाषानुवाद मात्रै थिएन, यो दुई देशका संस्कृतिबीचको सेतु निर्माणको अवसार पनि थियो ।” अनुवादकै क्रममा आफूलाई व्यक्तिगत रूपमा पनि प्रेरणा मिलेको उल्लेख गर्दै अनुवादक शर्माले भन्नुभयो, “मेरो बुबा नेत्रलाल शर्मा ‘अभागी’ नेपालका कम्युनिस्ट नेता तथा सहिद हुनुहुन्छ । यो पुस्तकले मलाई मेरो बुबाको जीवन र योगदानबारे पुस्तक लेख्न प्रेरित गरेको छ । यस अभियानमा म जुटेको छु ।”
मेरा काका चाउ एनलाई को नेपाली संस्करण पुस्तक विमोचन
2025-04-30T21:53:01+05:45
तपाईको प्रतिक्रिया