बनेपा÷काभ्रेपलाञ्चोक जिल्लामात्रै नभएर मध्यपहाडी जिल्लामै अब्बल र उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालले उच्च प्रविधि भित्राउँदै आफूलाई अगाडी बढाएको छ । आफ्नो सेवा सुविधालाई थप प्रभावकारी बनाउने अभियानमा लागेको अस्पतालले बुधबार गुणस्तरीय जनशक्ति सहित नयाँ प्रविधिहरु भित्राउँदै बिरामीको सेवामा आफूलाई समर्पित गर्ने लक्ष्यलाई अघि सारेको हो ।
अस्पतालले नयाँ भित्राएको प्रविधीले उपचारमा सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यलाई पुरा गराउने विश्वास लिएको छ । बुधबारबाट अल्ट्रासाउन्ड मेशिन, ल्याप्रोस्कोपिक टावर, युरेटेरोनस्कोप र सर्भर मेशिन संचालनमा आएसँगै बिरामीको उपचारमा सहज हुने विश्वास लिइएको छ ।
अस्पतालका कार्यकारी प्रमुख डा.हेक्टर गायरसले शीर मेमोरियल अस्पतालले प्रविधिको उपलब्धतासँगै बिरामीले सहज उपचार पाउने विश्वास दिलाउनुभयो । उहाँले अस्पतालले प्राविधिक ज्ञान र दक्ष जनशक्तिको उचित व्यवस्थापन गरिएको र अगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाउनुभयो ।
गुणस्तरीय सेवा पहिलो शर्त र प्राथमिकता राखेको डा.गायरसले उल्लेख गर्नुभयो । उहाँले बिरामीहरुको सेवामा आवश्यक पर्ने प्रविधि प्रयोगका लागि अस्पताल निरन्तर कृयाशिल रहने उल्लेख गर्नुभयो ।
अस्पतालले पछिल्लो समय प्रविधि सहितका उपकरणहरु मार्फत उपचार सेवा उपलब्ध गराईसकेको छ ।
आगामी २४ गते देखि अस्पतालले सिटी स्क्यान मेशिन संचालन गर्दै छ । डायोलोसिस सेवाका लागि पुर्वाधार निर्माणको कार्य भईरहेको र त्यसलाई पनि छिट्टै संचालनमा ल्याउने तयारी अस्पतालको छ ।
बिरामीको उपचारको लागि उपकरणहरु थप महत्वपूर्ण हुने अस्पतालका मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतले जानकारी दिनुभयो । उहाँले उपकरणले उपचारमा सहज बनाउने र समयको बचत हुने उल्लेख गर्नुभयो । डा.अनिल पालिखे र डा.अनुपम भण्डारीले यस अघि अस्पतालमा रहेका तीनवटा अल्ट्रासाउण्ड मेशिनबाट उपलब्ध गराएको सेवामा थप अर्काे उपकरणले बिरामीहरुका लागि सहयोग पुग्ने बताउनुभयो ।
डा.धु्रर्व कँडेलले ल्याप्रोस्कोपिक टावर र युरेटेरोनस्कोपको प्रयोग र त्यस मार्फत बिरामीहरुका लागि उपलब्ध गराईने सेवा गुणस्तरीय र सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
मृगौलामा हुने पत्थरी तथा अन्य उपचार सेवामा यी उपकरणले काम गर्ने र सेवामा सहयोगी र सरल बन्ने उल्लेख गर्नुभयो । ल्याप्रोस्कोपिक टावर र अल्ट्रासाउण्ड मेशिनका लागि जर्मन रोटरीयनहरुले सहयोग गर्नुभयो ।
अस्पतालले विभिन्न सहयोगीहरु मार्फत प्राप्त उपकरणहरुलाई बिरामीको उपचार सेवामा भरपुर उपयोग गर्ने विश्वास सो अवसरमा दिलाउनुभयो ।
बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटाले अस्पतालले उपलब्ध गराएको सेवालाई अझै प्रभावकारी बन्न उपकरणहरु सहयोगी बन्ने विश्वास लिएको उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, वडा नं ५ का अध्यक्ष बलराम अधिकारी, अस्पतालका विभागीय प्रमुखहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुले अस्पतालले उपलब्ध गराईरहेका सेवाहरु विरामीका लागि महत्वपूर्ण र अत्यावश्यक भएकाले त्यसको निरन्तरता र गुणस्तरका लागि शुभकामना दिनुभएको थियो ।
सेवामा अब्बल र उच्च प्रविधि भित्राउँदै शीर मेमोरियल
2025-04-30T19:23:08+05:45
तपाईको प्रतिक्रिया