सहकारी समस्या सुल्झाउन जिल्ला सहकारी संघ र बचतसंघ एकै ठाउँमा

काभ्रेपलाञ्चोक जिल्लाका सहकारी सम्बन्धि दुई नेतृत्वदायी भुमिकामा रहेका जिल्ला सहकारी संघ र काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले नेपाल राष्ट्र बैकद्वारा जारी गरिएको निर्देशन तथा मापदण्ड २०८१ कार्यान्वयनमा चुनौतीका बिषयमा बृहत छलफल कार्यक्रमको आयोजना गरेका छन् ।
शनिबार करिब तीन सय जनाको उपस्थितीमा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुका लागि नेपाल राष्ट्र बैकद्वारा जारी गरिएको निर्देशन तथा मापदण्ड २०८१ कार्यान्वयनमा चुनौती रहेको सो अवसरमा सहभागीले उल्लेख गरेका छन् ।
छलफलमा नेपाल राष्ट्र बैकका उच्च अधिकारी, राष्ट्रिय सहकारी प्राधिकरणको नेतृत्व, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्षको उपस्थितीमा बृहत छलफल गरिएको हो । यसरी दुई संस्थाको समन्वय र संयुक्त आयोजनामा महत्वपूर्ण कार्यक्रम भएको काभ्रेका सहकारीकर्मीहरुले उल्लेख गरेका छन् ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कानूनी व्यवस्था, वर्तमान अवस्था र भावी कार्यदिशा एवं नेपाल राष्ट्र बैकबाट जारी निर्देशन तथा मापदण्ड २०८१ सम्वन्धी बिषयमा अन्तरकृया भएको हो ।
जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटेको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थले राख्दै नेपाल राष्ट्र बैकबाट जारी निर्देशन तथा मापदण्ड २०८१ पार्न सक्ने असरको बारेमा उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक एवं राष्ट्रिय सहकारी नियमन प्राधिकरणका संचालक सदस्य गुरुप्रसाद पौडेलले सहकारीको विद्यमान नियमकीय प्रावधान र प्राधिकरणको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको कार्यपत्रमा सहकारी नियमनको आवश्यकता, सहकारीमा देखिएका समस्याले अर्थतन्त्रलाई पार्न सक्ने संकटको बारेमा केन्द्रीत थियो ।
त्यस्तै, नेपाल राष्ट्र बैकले नियमन गर्ने सहकारी क्षेत्र, सहकारी नियमनमा कानूनी ब्यवस्था, सहकारी ऐन सशोधन र नेपाल राष्ट्र बैकको ऐन तथा निर्देशन र मापदण्डको बारेमा उहाँले स्पष्ट पार्नुभएको थियो ।


राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव रविन ढकालले सहकारी क्षेत्रमा देखिएका समस्या सहकारी क्षेत्रमा कृयाशिल ब्यक्तिहरुबाट नै समाधान गरिनु पर्नेमा जोड दिनुभयो ।
सहकारी क्षेत्रका तमाम समस्या समाधान गर्न जारी भएको निर्देशन तथा शंशोधित ऐनहरु कडाइका साथ कार्यान्वन गर्न सबै पक्ष सक्रिय हुनु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले प्राधिकरण सम्बन्धी कानूनी व्यवस्था, वर्तमान अवस्था, प्राधिकरणको भावी कार्यदिशामा उहाँले केन्द्रीत गर्नुभयो ।
जिल्ला बचत संघका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालले सहकारी संस्थाहरुलाई नेपाल राष्ट्र बैकबाट जारी गरेको निर्देशन तथा मापदण्डले सहकारी संस्थाहरुलाई पर्ने प्रभाव सम्बन्धी कार्यपत्र पेस गर्नुभयो । सो कार्यपत्र जिल्लाभरीका सहकारीका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्धकले तयार पार्नुभएको हो । नियमित बचत र त्यसको सिमा, ऋण तथा लगानीको सिमा, ऐनसँग बाझिने केहि प्रावधानहरु, नागरिकहरुको स्वतन्त्रता विपरितका व्यवस्था, धितो सकार गरेको समय र सिमा सम्बन्धी ब्यवस्था, सहकारीमा नियुक्ति गरिने प्रमुख कार्यकारी निर्देशकको समयसीमा लगायतका विषयमा उल्लेख गरिएका विषयले सहकारी क्षेत्रलाई समस्या पर्ने उल्लेख गर्नुभयो ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष उद्धव सापकोटाले ऐनको ब्यवस्था विपरित निर्देशन जारी भएकाले ऐन बमोजिम निर्देशन संशोधन हुनु पर्नेमा जोड दिनुभयो ।
उहाँले संघहरुले सहकारी ऐन र नियमावली बमोजिम सदस्यता प्रदान गर्नुपर्ने व्यवस्था भएकोमा निर्देशन सो व्यवस्थाको प्रतिकुल भएको, तेश्रो पक्षको धितोमा लगानी भएको ऋण २०८५ असार मसान्तसम्म व्यवस्थापन गर्नु पर्ने व्यवस्था थप गर्न तथा नेपालको संविधान एवं मुलुकी देवानी संहिताले नेपाली नागरिकहरुका लागि गरेको कानूनी व्यवस्थाको प्रतिकुल देखिएका विषय संशोधन गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रमको सहजीकरण जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन सापकोटाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया