बिहानदेखिनै व्यस्त बन्यो ट्राफिक हटलाईन १०३
काभ्रेपलाञ्चोक भित्र सार्वजनिक सवारीले धेरै भाडा असुल्यो, तिव्र गती र ओभरलोड बोक्यो वा ट्राफिक नियम मिच्यो । ट्राफिक जामबारे जान्न मन लाग्यो वा कुनै जानकारी आवश्यक पर्याे । त्यसो हो भने जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले यात्रुको सुविधालाई ध्यानमा राखेर निशुल्क १०३ नंम्बर सूचारु गरेको छ ।
बागमती प्रदेश कार्यालय मातहतका १० जिल्लामा ट्राफिकबारे जानकारी लिन प्रयोग हुने १०३ निशुल्क नंम्बर चलाउने पहिलो जिल्ला काभ्रेपलाञ्चोकको ट्राफिक प्रहरी बनेको छ । यो प्रदेशको उपत्यकाका तीन जिल्लामा मात्रै यो सेवा थियो । यसलाई काभ्रेले आफूलाई एक कदम अघि रहेको भन्ने सन्देश समेत दिएको छ ।
अरनिको राजमार्गको विस्तारको क्रममै छ । कहिले कहाँ कहिले कहाँ ट्राफिक अवरोध भैहाल्छ । बिपी राजमार्गमा पनि समय समयमा ट्राफिक जाम लगायतका समस्या दैनिकजसो हुन्छ । असोज ११ को बाढीपछि काभ्रेभज्याङदेखि नेपालथोकसम्म कहाँ कतिखेर अवरोध हुन्छ भन्न नै सकिदैन ।
सामान्य बर्षादमा पनि बनेपाको पुलबजार डुबी हाल्छ । यहाँको बारेमा जानकारी लिन र दिन निक्कै अप्ठारो भएको थियो । एकै पटक सहजै रुपमा सर्वसाधारणले राजमार्ग, ट्राफिक व्यवस्थापनको बारेमा थाहा पाउन सकेका थिएनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले मुख्य दुईवटा ठूला राजमार्ग भएको ठाउँमा १०३ नंम्बर चलाउने प्रयास गरिरहेको थियो । नभन्दै मंलगबार साँझ जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुखलाई नेपाल टेलिकम बनेपा शाखाबाट फोन आयो । १०३ मा सूचारु भयो भनेर । त्यसपछि ट्राफिक प्रहरीले सेवाको बारेमा आफ्नो माथिल्लो निकायमा जाहेर गरिहाल्यो । बुधबार काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी ( सिडिओ) उमेश ढकालले जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा निरीक्षण गर्ने कार्यतालिका थियो । सोही अनुसार निरीक्षणकै क्रममा रहनु भएको सिडिओ ढकालले सेवाग्राहीलाई ट्राफिक व्यवस्थापनको बारेमा सोधिएको जिज्ञासा मेटाईदिनुभयो ।
उताबाट प्रश्न सोधियो, साँगादेखि बनेपासम्म ट्राफिक जामको कुनै समस्या छ । सिडिओ ढकालले उत्तर फर्काउनुभयो,‘ हालसम्म त्यस्तो कुनै समस्या छैन तपाई ढुक्क भएर यात्रा गर्न सक्नुहुनेछ ।’ त्यसले एउटा सकारात्मक सन्देश प्रवाह गर्याे । सेवाग्राहीलाई सिडिओसँग कुराकानी गरिररहेको थाहा पनि थिएन । तर सिडिओ ढकालले नै पहिलो जानकारी गराउनुभयो ।
१०३ मा फोन गर्याे भने काठमाडौंमा सिधै जाने समस्या थियो । अब काभ्रेपलाञ्चोक जिल्लाभरबाट ट्राफिक व्यवस्थापनका समस्या तथा जनगुनासो सम्बोधन गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले हटलाईन नंम्बर प्रयोगमा आएपछि सिडिओ ढकाल र सेवाग्राहीबीचको पहिलो संवाद थियो ।
सिडिओ ढकालले आम नागरिकले ट्राफिक व्यवस्थापन सम्बन्धी सूचना सुनिश्चित गर्न यस किसिमको सेवाले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । सर्वसाधारणहरुले आफूलाई परेको ट्राफिक समस्या बाटोको अवस्थाको जानकारी, सवारी साधनमा माल सामान छुटेको, बढी भाडा लिएको, गन्तव्यमा जान नमानेको लगायतको बिषयमा तुरुन्त गुनासो राख्न सक्ने र ट्राफिक प्रहरीका तर्फबाट सर्बसाधारणले राखेका त्यस्ता गुनासोका सन्दर्भमा तत्काल समस्या समाधानका लागि पहलकदमी लिन निर्देशन दिनुभयो । यसबाट सेवाग्राही र सेवाप्रदायकले धेरैभन्दा धेरै लाभ लिने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले अबको समय भनेको सूचना र प्रविधिको समय भएकोले सोही अनुरुप प्रहरी सेवा पनि प्रवाह गर्नुपर्ने र त्यसको लागि यो एउटा महत्वपूर्ण पहल भएको बताउनुभयो ।
सबैको हात हातमा मोबाइल पुगेको अवस्थामा पनि आफूलाई परेको ट्राफिक समस्या समयमानै जानकारी गराउन नसकिने अवस्था रहेकोमा आजबाट सञ्चालनमा आएको ट्राफिक हटलाईन नम्बरले त्यस्ता समस्या तथा गुनासोको तत्काल निरुपण हुने विश्वास दिलाउन प्रहरीलाई निर्देशन दिनुभयो ।
ट्राफिकसँग सम्बन्धित निवेदन, बिबिध जानकारीहरू क्युआर कोड मार्फत पनि उपलब्ध गराउने तर्फ पहल गर्न समेत ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेका प्रमुख प्रहरी निरीक्षक बिकाश कुमार तामाङले जुनसुकै दुरसंञ्चार सेवा प्रदायकको नेटवर्कबाट फोन गर्न सकिने जानकारी दिनुभयो । २४ सै घण्टा खुला रहने र यसमा फोन गर्दा सेवाग्राहीको कुनै शुल्क नलाग्ने एवं सेवाग्राहीबाट प्राप्त गुनासाहरूको शिघ्र समाधान गर्दै प्रहरी सेवालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास दिलाउनुभयो । साँगा लगायतका केही क्षेत्रमा उपत्यकाको पनि नेटवर्क टिप्दा काठमाडौमा फोन जाने समस्या हुन सक्ने भएपनि अरु समस्या भने नहुनेमा उहाँले विश्वास दिलाउनुभयो ।
बागमती प्रदेश अन्तरगतका १० जिल्लाहरु मध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले यो सेवा सुरु गरेर प्रथम भएको छ । उपत्यकामा भने यो सेवा पहिलेदेखि नै रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया