प्रदेश राजधानी हेटौंडा जोड्ने ‘जनमुक्ति मार्ग’को घर्तिछाप खण्डमा कालोपत्रे सुरु

महाभारत – काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका विकट महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरे भएर बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने ‘जनमुक्ति मार्ग’ निर्माणको क्रममा मंगलवारबाट काभ्रेको घर्तिछाप खण्डको सडक कालोपत्रे सुरु भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा विकट डाँडापारि क्षेत्रलाई प्रदेश राजधानी जोड्ने मुख्य सडक सञ्जाल ‘जनमुक्ति मार्ग’ सडकखण्ड अन्तर्गत महाभारत गाउँपालिकाको देवीटार–घर्तिछाप–सोलाभञ्ज्याङ अन्तर्गत घर्तिछापको डबली उकालोमा ढलानको काम थालनी गरेको हो ।

पूर्वाधार विकास कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकका इञ्जिनियर भुपेन्द्र कोइरालाले सडकको घुम्ती र उकालोमा गरेर एक हजार ८०० मिटर ढलानको काम सम्पन्न गरिसकेको र मंगलवारबाट कालोपत्रेको काम थालनी गरेको बताउनुभयो । ‘मंगलवार घर्तिछापको डबलीबाट कालोपत्रेको काम सुरु गरेका छौं ।’ उहाँले भन्नुभयो, ‘आगामि असारमसान्तसम्ममा करिब चार किलोमिटरको कालोपत्रे सम्पन्न गर्ने लक्ष्य छ ।’ जनमुक्ति मार्ग सडकखण्ड अन्तर्गत देवीटार–घर्तिछाप–गोकुले सडकखण्डको करिब ९ किलो मिटरको काम अहिलेसम्ममा ६५ प्रतिशत भौतिक प्रगती र ५२ प्रतिशत आर्थिक प्रगती भएको उहाँले बताउनुभयो । सो सडकखण्डको लागि सन्तोषी धर्म एस जेभीले ३९ करोड ७४ लाख ५५ हजारमा ठेक्का प्राप्त गरी निर्माण कार्य अगाडी बढाईरहेको र २०८२ साल चैत मसान्तसम्ममा सकाउनु पर्ने सम्झौता रहेको छ ।


महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार महाभारत गाउँपालिका वडा नंं ६ को देवीटारस्थित बनखुखोलादेखि वडा नं. ८ को घर्तिछापसम्मको सडकखण्डमा ढलान र कालोपत्रेको कामले तिब्रता लिईरहेको छ । खण्ड–खण्डमा विभाजन गरी भईरहेको निर्माण कार्यले राम्रो गति लिईरहेको र काम पनि सन्तोषजनक रुपमा भईरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार देवीटारदेखि सोलाभञ्ज्याङसम्मको एउटा खण्ड, सोलाभञ्ज्याङदेखि गोकुले–छोटेसाहन अर्को खण्ड, छोटेसाहन–सिक्रेदोभान–भोर्लेनी अर्को खण्ड र तीनखुट्टे–बुढाखानी–रजबास अर्को खण्ड गरी काम अगाडी बढिरहेको छ ।


सो सडकखण्डको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरे जोड्ने सडकखण्ड अन्तर्गत देवीटार–घर्तिछाप–गोकुले–छोटेसाहन–तालढुंगा खण्डको महाभारत गाउँपालिकाको घर्तिछापस्थित सोलाभञ्ज्याङमा २०८० साल पुस ६ गते तत्कालिन बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र प्रदेश सभा सदस्य रत्न प्रसाद ढकालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो ।
अध्यक्ष जिम्बाका अनुसार तीनखुट्टे–बुढाखानी–रजबास अर्को खण्ड अन्तर्गतको १७ किलोमिटरमा करिब तीन किलोमिटरको ढलानको काम सम्पन्न भईरहेको र कालोपत्रे गर्ने काम मात्रै बाँकी रहेको छ । तर सो सडक खण्डको सबैभन्दा पहिलो पटक करिब पाँच वर्ष अगाडी ठेक्का भएर काम थालनी गरेको तीनखुट्टे–घ्याब्रिङ–देवीटार सडकखण्डको काम भने अझै सम्पन्न भएको छैन । पटक पटक म्याद थप गरेपनि काम सम्पन्न नगरेपछि समयमा काम सम्पन्न गर्नका लागि पालिकाले प्रदेश सरकारलाई ध्यानाकर्षण गराईरहेको गाउँपालिकाले जनाएको छ ।
पछिल्लो समय विपी राजमार्गदेखि पिन्थली–रजबासको खण्ड ठेक्का आह्वान भईसकेको छ । ति सबै खण्ड गरी विपी राजमार्गको पिन्थलीदेखि महाभारत–खानीखोला हुँदै मकवानपुरको झुरझुरे मदनभण्डारी लोकमार्गसम्मको सडकखण्ड सम्पन्न भएपछि जिल्ला सदरमुकाम धुलिखेलबाट प्रदेश राजधानी हेटौडा आवतजावतको लागि सहज हुनका साथै सो राजमार्गले जिल्लाको डाँडापारि भेगको नागरिको जीवनमा नयाँ आयाम थपिने आशा गरेका छन् । विटक गाउँमा पनि फराकिलो सडक निर्माण भई कालोपत्रे हुनथालेपछि यहाँका नागरिक खुशि भएका छन् ।

तपाईको प्रतिक्रिया