२० बर्षअघि तत्कालिन कुशादेवी गाविस हालको पनौती नगरपालिका वडा नं २ नयाँगाउँका स्थानीयले खानीको कारणले गाउँबाट नै विस्थापित हुनुपर्छ भन्ने सोचकै थिएनन् । असोजमा आएको आरीघोप्टे बर्षापछि बस्तीमुनीको ढुङ्गाखानीबाट आएको पहिरोले गाउँनै तान्ने पिरलोबाट गुज्रिरहेका छन् ।
त्यो समस्या त्यहाँका स्थानीयको मात्रै हैन सिंगो नगरपालिका र जिल्लाको भएकाले समाधान खोज्न पनौती नगरपालिकाले २०८० पौष २६ गते वडा नं २ का अध्यक्ष पुरुषोत्तम अधिकारीको संयोजकत्वमा गठित समितिलाई पनि स्थानीयले लिखित रुपमै आफ्नो समस्या जाहेर गरेका छन् । वडा अध्यक्ष अधिकारीको नेतृत्वमा समिति बनेपछि तीन महिना लगाएर खोज र अनुशन्धानमार्फत पत्ता लागेको कुरा मंगलबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । समितिमा स्थानीय, खानीका प्रतिनिधि र पनौती नगरपालिकाका कर्मचारी सदस्य छन् ।
स्थानीय जनताले सरकारले आफूहरुसँग भएको जग्गा खरिद गरिदिन, पुरै गाउँलाई नै खानी क्षेत्र घोषणा गर्न र आफूहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिदिन माग राखेका छन् ।
संचालित हुँदा बस्ति पुर्ण जोखिम भएकोले खानी नै यथावत रहने स्थितिमा बस्ती नै स्थानान्तरण गर्नुपर्ने सुझाव दिएका छन् । बस्ती स्थानान्तरणको लागि हाल संचालित उद्योगहरुले आ–आफ्नो एरियाको जग्गा तत्काल खरिद गरि सहयोग गर्नुपर्ने माग स्थानीयको रहेको छ । यदि त्यसो हुन नसके वडा र नगरको संयोजकत्वमा खानी बन्द गर्नुपर्ने माग उनीहरुको रहेको छ ।
समयावधि पूरा भएका खानीहरुलाई पुन अनुमति दिँदा हाल संचालन भएको खानीको अन्तिम बिन्दुदेखि सिमा नाप गरि क्वायरी एरिया तोक्नुपर्ने र सो क्यायरी क्षेत्र भित्रका जग्गा तत्काल खरिद गरे पश्चात मात्रै खानी संचालनको अनुमति दिनुपर्ने स्थानीयको सुझाव रहेको छ । क्वायरि एरिया भन्दा बाहिरको जग्गा र बस्तीको जिम्मा नगरपालिकाले लिनु पर्नेमा स्थानीयले जोड दिएका छन् ।
कुनै किसिमको निष्कर्ष निस्कन नसक्दा त्यहाका स्थानीयलाई सुरक्षित बसोबासको लागि घडेरी उपलब्ध नगरपालिकाले गराउनु पर्ने उनीहरुको माग छ ।
खानी क्षेत्र घोषणा गरि सरकारलेनै उद्योगले ओगटेको भन्दा बाहेकको जग्गाको जिम्मा लिनुपर्ने, कुनै किसिमको सहमति र निराकरणमा जान नसक्दा पुर्ण रुपमा खानी बन्द गरि बस्ती सुरक्षित बनाउनु पर्ने माग उनीहरुको रहेको छ । त्यसो हुन नसक्दा स्थानीय जनता, नगरपालिका, व्यवसायीको साझा पहलमा जलाधार क्षेत्र घोषणा गरि कृत्रिम ताल निर्माण गरि पर्यटनलाई स्थापित गर्न आवश्यक रहेको पनि स्थानीयको सुझाव रहेको छ ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले खानीको व्यवस्थापन र नागरिकको बस्ती जोगाउने उपायको खोजीको रुपमा अध्ययन समितिले काम गरेको उल्लेख गर्नुभयो । उहाँले जनताको सुझावलाई सिरोपर गर्दै कार्यपालिकाको बैठकबाट थप योजना बनाउने विश्वास दिलाउनुभयो ।
खानी व्यवसायी राजेन्द्र पौडेलले खानी क्षेत्र घोषणा गर्ने, पर्यटकीय क्षेत्रका लागि जलासययुक्त क्षेत्र बनाउने बिषयमा व्यवसायीले सहयोग गर्ने प्रतिबद्धता जनउनुभयो । खानी क्षेत्र घोषणाहुँदा बार्षिक कम्तिमा एक अर्बसम्मको राजस्व सकलन हुने बिषयमा सरोकारवालाले ध्यान दिन उहाँले अनुरोध गर्नुभयो । स्थानीय बासिन्दा सुर्दशन तिमल्सिनाले एक पटक सबैले नयाँगाउँबासी बनेर हेरिदिन अनुरोध गर्नुभयो । सरकारले विस्थापित गराउने की स्थापित भन्ने साझा प्रश्न आफूहरुको रहेको उहाँले उल्लेख गर्नुभयो । अध्ययन प्रतिवेदन समितिका सदस्य सचिव केशव बञ्जाराले सहजीकरण गर्नुभएको कार्यक्रममा उपप्रमुख गीता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, वडा नं ८ का अध्यक्ष वेदप्रसाद बञ्जारा १२ का अध्यक्ष जयराम केसीको उपस्थिती थियो ।
तपाईको प्रतिक्रिया