नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) पाँच जना कर्मचारीलाई निलम्बित गरेको छ ।
केआइआइटीले मङ्गलबार विज्ञप्ति जारी गर्दै दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आइआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिएको छ । साथै दुई जना सुरक्षा कर्मचारीलाई बर्खास्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘‘१६ फेब्रुअरीमा भएको घटनाप्रति केआइआइटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू गहिरो दुःख व्यक्त गर्दछन् । दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ,’’ कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको छ ।’’
यसैगरी, कर्मचारीहरूले विद्यार्थीलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन अधिकतम् प्रयास गरिरहेको विज्ञप्तिमा भनिएको छ ।
‘‘क्याम्पसमा नेपाली विद्यार्थीलाई फर्काउन सहज बनाउन क्याम्पस ६ मा एक प्रतिबद्ध नियन्त्रण कक्ष चौबिसै घण्टा सञ्चालनमा छ,’’ विज्ञप्तिमा भनिएको छ ।
बुटबल घर भएकी २० वर्षीया प्रकृति लम्सालको आइतबार मृत्यु भएको थियो ।
रराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई मन्त्रालयले निरन्तर रूपमा ‘फलोअप’ गरिरहेको बताउनुभएको छ ।
भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा आवश्यक पहल भइरहेकोे आज सामाजिक सञ्जाल ‘एक्स’ मार्फत परराष्ट्रमन्त्री देउवाले स्पष्ट गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ । मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टेलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु । यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ ।”
यसैगरी, सो घटना भएको जानकारी पाउनासाथ परराष्ट्र मन्त्रालयको हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छभने नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने ‘स्टाफ’लाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचनामार्फत गराएको उहाँले स्पष्ट गर्नुभएको छ ।
सो घटनाक्रमका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका परराष्ट्रमन्त्री डा. देउवाले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया