
बनेपा । सिन्धुलीपाल्चोकको ग्रामीण र विकट क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिकाले सुरु गरेको आमा बचाउ कार्यक्रमले धेरै आमाको ज्यान जोगिन थालेको छ । गाउँपालिकाका महिला केन्द्रीत गरेर चलाएको अभियानले ग्रामीण क्षेत्रका आमाहरुको स्वास्थ्यमा सुधार आएको हो ।
गाउँपालिकाले सुरु गरेको कार्यक्रमबाट धेरैले फाईदा लिएका छन् । त्योमध्ये धेरै अहिले बनेपाको शीर मेमोरियल अस्पताल बनेपामा उपचार गराईरहेका छन् । शीर मेमोरियल अस्पतालको सर्जिकल वार्ड बिरामीले भरिएको छ । वार्डको सबै शैयाका बिरामी त्रिपुराका हुन् । ६१ वर्षीया पदमकुमारी बोहरा ४१ वर्ष अगाडिदेखि आङ (पाठेघर) खसेको समस्याबाट छुटकार पाउनु भएको छ । ‘आङ खसेको समस्या मेरो छोरा जन्मेको वर्षदेखि भएको हो। छोरा ०४० सालमा जन्मेको हो,’ बोहराले भनिन्, ‘कहिले चुरा राख्ने त कहिले निकाल्ने गर्दै आएकी थिएँ। त्यतिवेला साह्रै गाह्रो भएको थियो। अहिले अप्रेसन भयो खुसी लागेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका– ७ तौथली गैह्रीगाउँकी ६९ वर्षीया कृष्णमाया विक ले १३ वर्षदेखि पाठेघर खस्दाको समस्या झेलिराख्नु भएको थियो ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले लाजका कारण पाठेघरको समस्या सहजै भन्न नसक्ने र अन्य विविध कारण महिलाहरूले पाठेघरको समस्या झेलिरहेकामा कार्यपालिकाले ‘उपाध्यक्ष आमा बचाऊँ कार्यक्रम’ पारित गरेर अगाडि बढेको बताउनुभयो ।
महिलाले समस्या महिलालाई नै भन्छन् भन्ने विश्वास गरेर कार्यपालिकाले आफूलाई जिम्मा दिएको उपाध्यक्ष गीताकुमारी नेपालले बताउनुभयो ।
आर्थिक वर्ष ०७९÷८० देखि हरेक वर्ष शिविरमार्फत पाठेघर खस्ने समस्याको पहिचान गरी उपचार गर्दै आएको उहाँले बताउनुभयो । गाउँपालिकाले पहिलो वर्ष ११ जनालाई प्रसुती गृह,दोस्रो वर्ष १३ जना भक्तपुर अस्पताल र यस वर्ष १२ जनाको शल्यक्रिया गरिएको हो ।
त्रिपुरासुन्दरी गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रनारायण साहका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा पाठेघर खसेको बिरामी १८ जना पहिचान भएको थियो । उपचारका लागि दुईजना आउन चाहेनन् ।
१६ जना अस्पताल आएकोमा चारजनाको सुगर र प्रेसरका कारण शल्यक्रिया हुन सकेन र १२ जनाको सफल शल्यक्रिया भएको साहले बताए। उनका अनुसार गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविरमार्फत समस्याको पहिचान गरी अस्पतालसम्म बिरामीलाई निःशुल्क ल्याउने र लाने काम गर्नेछ ।
शीर मेमोरियल अस्पताल बनेपाले यो बर्ष एक सय जनाको शल्यक्रिया गरेको छ । अस्पतालको डा.एन्जेला बस्नेतका अनुसार अघिल्लो बर्ष २१२ जनाको पाठेघरको शल्यक्रिया गरेको र यो बर्ष एक सय जनाको गरिसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया