
काभ्रे सेवा समाजका पुर्व अध्यक्ष केशव थापाले काभ्रेको समृद्धिमा काठमाडौं विश्वविद्यालयको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उच्च जनशक्ति उत्पादनमा काठमाडौं विश्वविद्यालयको योगदान प्रशंसनीय रहेको भएपनि जिल्लाको फरक फरक विशेषता, सम्भाव्यता, र आवश्यकताको खोज अनुसन्धान र सोही अनुसारको योगदानमा गम्भीर बन्न नसकेको विवरण पेस गर्नुभयो ।
शिक्षा र समृद्धिकाबीच सकारात्मक सम्बन्ध रहने भन्दै उहाँले काभ्रेको समृद्धिमा विश्वविद्यालयको अतुलनीय योगदान हुन सक्ने दाबी पेस गर्नुभयो । उहाँले विश्वविद्यालयको अवका नेतृत्व दूरदर्शी, साहसी, समयको पदचाप सहजै पहिल्याएर अनुशरण गर्न सक्नेविश्वविद्यालयको मुख्य कार्यमा किञ्चित सम्झौता नगरी विश्वविद्यालयको स्वायत्तता रक्षाको लागि काम गर्ने नेतृत्व अहिलेको आवश्यकतामा जोड दिनुभयो ।
प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादेले काठमाडौं विश्वविद्यालय विद्यार्थी खोज्नुपर्ने अवस्थामा पुग्नु दुःखद भएको बताउँदै अध्ययनकै लागि विदेशिनुपर्ने बाध्यता अन्त्यका लागि आवश्यक कदम चाल्न उनले विश्वविद्यालयलाई आग्रह गर्नुभयो । विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवादले दुवै संस्थाको गुणस्तर खस्किएको बताउनुभयो ।
जिल्लावासीले आफ्नै जिल्लामा रहेको विश्वविद्यालयमा छोराछोरी पढाउन सक्ने अवस्था निर्माण गर्न सबैपक्षको ध्यानाकर्षण जरुरी रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले पादरर्शीतामै प्रश्न उठेको भन्दै वास्तविकता सबैले थाहा पाउनुपर्ने बताउनुभयो । उहाँले पवित्र शैक्षिक थलो निश्पक्ष र पारदर्शी हुनुपर्ने बताउनुभयो । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले विश्वविद्यालयले उत्पादन गरेका विद्यार्थी अन्तराष्ट्रिसँग तुलना गर्दा कहाँ छन् तुलना गरेर आवश्यक सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विश्वविद्यालयले मानविय पुँजी मार्फत समृद्ध जिल्ला बनाउन सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले काठमाडौं विश्वविद्यालयले काभ्रेलाई कति चिनेको छ भन्नेमै शंका लागेको बताउनुभयो । विश्व विद्यालयले सबै पालिकालाई चिन्नुपर्नेमा जोड दिनुभयो ।
आगामी दिनमा १३ वटै पालिकाका विद्यार्थीलाई अवसर उपलब्ध गराउन आग्रह गरेका छन् । राम्रो अध्ययन गर्न सक्ने भएपनि आर्थिक अभावले रोजेको विषय र विश्वविद्यालय पढ्न नसक्नेहरुलाई समेट्न उनको आग्रह छ विपन्न विद्यार्थीको लागि काठमाडौं विश्व विद्यालयको आगामी नेतृत्वले शिक्षाको प्याकेज ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।
एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले विश्वविद्यालयबाट प्राप्त गर्न सकिने अवसरबारे छलफल चलाउनुपर्ने उल्लेख गर्नुभयो । विश्वविद्यालयबाट प्राप्त गर्न सकिने रिसर्च सबैभन्दा ठुलो विकास हुन सक्ने बताउँदै विकास निर्माणका कामलाई दिगो वनाउन, जीविकोपार्जन र पर्यावरण र विकासका विषयमा विश्वविद्यालयलाई जोड्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकालले राजनीतिक प्रभाव र भागबण्डा अन्त्य भएमात्रै विश्वविद्यालय राम्रो बन्न सक्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र काभ्रेका संयोजक भोला अर्यालले विश्वविद्यालयले देशभर कै गौरवको संस्था भएपनि जिल्लामै केहि थाहा नहुने कुरा सामान्य हुन नसक्ने बताउनुभयो ।
एमाले धुलिखेलका अध्यक्ष विष्णु धितालले नेपाल सरकारले पुर्ण साक्षरको अभियान लिएको छ, यो अभियानमा विश्वविद्यालयले औपचारिक र अनौपचारिक रुपमा महत्वपुर्ण भूमिका खेल्न नसकेको बताउनुभयो । कार्यक्रममा शिक्षासेवी कश्यपप्रसाद पौडेल,रास्वपा सभापति प्रविण ढकाल, राप्रपाका जिल्ला अध्यक्ष सहदेव भण्डारी नेविसंघका जिल्ला सभापति अन्जनराज खतिवडा,लगायत शिक्षा क्षेत्रसँग सरोकार राख्ने व्यक्तिहरुले पारदर्शीता र गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सभापतित्वमा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले गर्नुभएको थियो ।
काभ्रेमा समृद्धिमा सहयोगी बन्न सक्छ केयू
2025-02-05T19:43:53+05:45

तपाईको प्रतिक्रिया