अछाम र बाजुरामै फैलियो पशुमा अज्ञात रोग

अछाम र बाजुरामा फैलिएको अज्ञात रोगले २३१ भेडाबाख्रा मरेका छन् भने ३३२ तुहिएका छन् । बाजुराबाट अछाम चराउन ल्याएका भेडाबाख्राहरु झोक्राउने, मुखबाट फिज काट्ने, तुहिने,रगत छादेर मर्न थालेपछि स्थानीय किसान गोठ नै रित्तिने चिन्तामा परेका छन् । मरेका भेडा बाख्राको पेट चिरेर हेर्दा आन्द्रामा घाउँ भएको र पाकेको, मलद्धारबाट रगत बगाएको अछाम पुगेर प्रारम्भिक उपचार गराईरहनु भएको पशु चिकित्सक डा.पद्म पाण्डेले बताउनुभयो ।
यस्तो समस्या चरिचरनको समयमा बिषालु घाँस खाएको समय हुन सक्ने आंकलन गरिएपनि खास कारण भने पत्ता लाग्न नसकेको डा.पाण्डेले बताउनुभयो । उहाँले प्रदेश र संघीय सरकारको विशेषज्ञ टोलीले यसबारे थप अनुशन्धान गरेर रोग नियन्त्रणमा पहलकदमी गरिदिन अनुरोध गर्नुभयो ।

भेडाबाख्रामा देखिएको रोगका कारणले कम्तिमा ९१ लाख रुपियाँको आर्थिक नोक्सानी किसानले व्यहोरीसकेका छन् । सो भेडाबाख्राको न्यूनतममूल्य २५ हजार मापन गर्दा पनि मरेका भेडाबाख्राबाट ५७ लाख, तुहिएका भेडाबाख्राको क्षति सात हजारको दरले २३ लाख र पहिलो चरणमा ३५ सय भेडाबाख्राको उपचारमा न्यूनतम तीन सय रुपियाँ खर्चहुँदा १० लाख भएको र कूल ९१ लाख रुपियाँको क्षति भैसकेको पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज शाहीले बताउनुभयो ।
पहिलोपटक पौष १३ गते देखिएको सो रोगको कारण भटाभट भेडाबाख्रा मर्न थालेपछि बाजुराबाट अछाम भेडाबाख्रा चराउन आएका पशुधनीले बुढीनन्दा नगरपालिकामा गुहार मागेपछि सो छिमेकी जिल्लामा पुगेर उपचार थालेको डा.पाण्डेले भन्नुभयो । उहाँ सोही नगरपालिकाको पशु चिकित्सक हुनुहुन्छ ।
पुस १३ गतेदेखि अछाम जिल्लाको मेललेख, मंगलसेन,चौरपाटी, पूर्वीचौकीमा देखिएको सो रोगले कम्तिमा २३१ वटा भेडाबाख्रा मरेका छन् भने सोभन्दा धेरै संख्यामा तुहिएको उहाँले उल्लेख गर्नुभयो । स्थानीय किसान छिरिङ गुरुङको मात्रै १०५ वटा भेडाबाख्रा मरिसकेका छन् । प्रेम महताराको २२, जाढचौ थापाको ३५, सरपलाल गुरुङको १२ वटा, प्रेमछिरिङ गुरुङको ४२ र कर्ण गुरुङको १५ वटा भेडाबाख्रा मरिसकेका छन् । भेडाबाख्रा बिरामी हुने क्रम बढेको उहाँले उल्लेख गर्नुभयो ।
कृषकको समस्या परेपछि अछामकै डा.हुमनाथ पाण्डेको नेतृत्वमा टोलि पुगेको छ । पशु चिकित्सकको टोलीले मृतक पशुको नमूना शनिबार पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी पठाईएको छ ।
पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. शाहीले अछाम जिल्लाको मेललेख, मंगलसैन, चौरपाटी, पूर्वी चौकी लगाएतका ठाउँमा देखिएको पशु रोगका कारण करिव २१ जना किसानका २३१ बटा भेडा बाख्रा मरेको र सो भन्दा बढी संख्यामा गर्भपतन भएको सुचना प्राप्त भएको जानकारी दिनुभयो । ‘ यो करोडभन्दामाथिको क्षति हो’ उहाँले भन्नुभयो । सो ठाउँमा करिव ३०५० भेडा वाख्रा चरीचरनका लागि बाजुराबाट अछाम जिल्लामा आएका थिए ।

तपाईको प्रतिक्रिया