
बालिकाहरूमाथि भइरहेको यौन हिंसाविरुद्ध रोक्न ‘गुड र ब्याड टच’को सन्देश बोकेर प्रहरी र स्थानीय सरकार विद्यालयमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका एसपी बसुन्धरा खड्काले सर्वेक्षण अनुसार बालिकाहरुमाथि यौन हिंसा गर्ने प्रायः ठुला उमेरका आफन्तहरु नै हुने गरेको पाइएकाले ‘गुड र ब्याड टच’को विद्यालयमै पुगेर सचेतना दिन थालिएको बताउनुभयो ।
बालिकाहरुलाई ‘गुड र ब्याड टच’को जानकारी पाएमा तत्कालै प्रतिकार गर्न सकुन भनेर स्थानीय प्रहरी कार्यालयलाई स्थानीय तहसँग सहकार्य गरेर अघि बढाईएकोे खड्काले दाबी गर्नुभयो । बालिकाहरुलाई किताबी ज्ञानको जति आवश्यक छ, त्यति नै बाहिरी ज्ञानको पनि आवश्यक हुन्छ । यस्ता ज्ञानले अपराधिलाई अपराध गर्नबाट रोक्न नसके पनि अपराध हुनबाट बचाउन त सकिने भएकाले सो कार्यलाई अघि बढाईएको बनेपा नगरपालिकाको उपप्रमुख बिमला सापकोटाले बताउनुभयो । बनेपाले पहिलो चरणमा सबै सामुदायिक माध्यामिक विद्यालयमा गुड र ब्याड टच’को सन्देश सहितको सूचना पार्टी टाँस्ने र विशेष कक्षा चलाउने उहाँले उल्लेख गर्नुभयो ।
बालिकाहरुलाई हामीले सही र गलत छुवाइ (गुड टच र ब्याड टच) को बारेमा बुझाउन आवश्यक देखेर यो प्रत्येक सामुदायिक विद्यालयमा टचको बारेमा जानकारीमूलक सूचना पार्टी राखेको सापकोटाले भन्नुभयो । उहाँले कसैले खराब नियतले छोएको कसरी थाहा पाउने र त्यस्तो जानकारी साथी, विद्यालय नर्स, घरपरिवारलाई समयमै गराउने उदेश्य राखिएको स्पष्ट पार्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रे धुलिखेलले पनि यो अभियानलाई साथ दिएको छ । आफ्नो मातहतमा रहेका विद्यालय नर्सलाई बालबालिकालाई गुड र ब्याड टचको बारेमा राम्रोसँग बुझाउन आवश्यक तालिम दिएको छ । कार्यालयको प्रमुख रागिनी कक्षपती श्रेष्ठले बालबालिकाको आफ्नो बारेमा जानकारी दिन एकान्त भन्दा सबै भएको ठाउँमा सम्झाउनु पर्ने र यसो गर्दा उनीहरुले सही र गलत टचको बारेमा राम्रोसंग सम्झने बताउनुभयो ।
मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले विद्यालयस्तरमै गुड टच र ब्याड टचको बारेमा जानकारी दिन सकेमा संम्भावित जोखिम कम हुने उल्लेख गर्नुभयो । उहाँले आफ्ना सन्तानहरुलाई गुड टच र ब्याड टचको बारेमा बताउनका लागि स्विम सूटको उदाहरण दिन सकिने उल्लेख गर्नुभयो । उहाँले बालिकालाई स्विमिङ गर्ने क्रममा लगाइने कस्ट्यूमले शरीरको जुन भाग ढाकिन्छ, ती नीजि अंग भएको तथा तीनलाई कसैले पनि छुन पाउँदैन भन्ने कुरा बुझाउनु पर्नेमा जोड दिनुभयो । बालबालिकाहरुलाई के पनि भन्नु पर्छ भने यदि कुनै व्यक्तिले उहाँहरुको ती अंगहरुमा छोएमा अथवा छुने प्रयास गरेमा तुरुन्त आफ्ना बुवा–आमालाई अथवा स्कूलमा शिक्षकलाई भन्नु पर्छ भनेर सम्झाउनु पर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया