तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसारको अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा महोत्सवको आयोजना गरिने भएको छ। ल्होसार मनाउन र रमाइलो गर्न काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गर्दै तामाङ अगुवाहरुले बनेपाको उग्रेश्वर महादेव मन्दिर परिसरमै ल महोत्सव मनाउन लाग्नुभएको हो। संवत् २८६१ डुल सोनाम ल्होछार(नयाँ वर्ष) काभ्रेपलाञ्चोक बनेपामा भव्य रुपमा मनाइने तयारी गरिएको छ ।
तामाङ समुदायको धार्मिक,सांस्कृतिक तथा सामाजिक महत्वको पर्व ल्होछारको अवसरमा यहाँ ऐतिहासीक रुपमा विशाल मेला नै आयोजना गर्ने भएको हो । माघ १४ गतेदेखि २२ गतेसम्म स्थानीय उग्रेश्वर मन्दिर परिषरमा प्रथम ऐतिहासिक सोनाम ल्होछार मेला एवं महोत्सव हुने भएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
तामाङ संस्कृति, कलाको प्रवद्र्धन,स्थानीय पहिचानको अभिवृद्धि गराउने घरेलु तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनी र विक्री गर्दै तिनको विकासका लागि सहयोग पुर्याउने उद्धेश्यले मेलाको आयोजना गरिएको आयोजक औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालका अध्यक्ष एवं ‘२८६१ डुल सोनाम ल्होछार मेला तथा महोत्सव २०८१’ का संयोजक क्षेत्र बहादुर वाईबाले बताउनुभयो ।
उहाँका अनुसार महोत्सवमा सर्वसुलभ रुपमा स्थानीय खानाको विशेष परिकार,सांस्कृतिक भेषभूषा, लत्ताकपडा,जुत्ताचप्पल,लघु उद्यम,कृषि,पर्यटन,वैकल्पिक उर्जा,अटो तथा विद्युतीय सामाग्री,गार्मेन्ट सामाग्री,हस्तकला समाग्रीहरुको प्रदर्शनी र विक्रि वितरणका लागि करीव ६० वटा स्टलहरु रहने छन् ।
महोत्सवमा स्थानीय कला संस्कृति झल्कने झाँकीका साथै स्थानीयदेखि राष्ट्रिय चर्चित कलाकारहरुद्धारा हाँस्यव्यंग,नाचगान डम्फु सेलो प्रतियोगिताजस्ता सांस्कृतिक प्रस्तुतीहरु मुख्य आकर्षणको रुपमा हुने महोत्सव संयोजक वाईबाले बताउनुभयो । साथै अन्य आकर्षणका रुपमा बालउद्यान,विभिन्न खेलहरु पनि समावेश गरिनेछ ।
स्वास्थ्य,शिक्षा क्षेत्रलाई समेत समेट्ने गरी स्टलहरु राख्ने तयारी गरेको आयोजकले ७ दिनसम्म चल्ने मेलाको झण्डै २ लाखले अवलोकन गर्ने अनुमान गरेका छन् ।
यसरी पहिलो पटक विशाल रुपमा आयोजना हुने मेला तथा महोत्सवमार्फत काभ्रे र आसपासका जिल्लाका तामाङ समुदायका साथै अन्य जातजातिले समेत एकै थलोमा सहभागि भएर सद्भावपूर्ण वातारणमा मिलिजुली भव्य रुपमा ल्होछार मनाउन पाउने भएका हुन् ।
तपाईको प्रतिक्रिया