आत्महत्या रोक्न जनस्वास्थ्य कार्यालयको ‘ग्रासरुट’ अभियान

बनेपा÷जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आत्महत्या रोकथामका लागि ग्रासरुट अभियान सुरु गरेको छ । आत्महत्या गर्नेमा मानसिक रोगीको संख्या धेरै भएको तथ्याङ्क देखिएपछि आम मानिससँग सहजै पँहुच हुने समुहसँगको अन्तरकृया मार्फत जिल्ला जनस्वास्थ्यले ग्रासरुट अभियान सुरु गरेको हो ।
बनेपा नगरपालिकामा बुधबार स्वास्थ्य कार्यालयले विद्यालय नर्स, विद्यालयका प्रधानाध्यापकसँग मानसिक स्वास्थ्य सेवा प्रर्बद्धक अभियानको रुपमा अन्तरकृया कार्यक्रम गरेको हो । विद्यालयका शिक्षक र नर्स मार्फत एकै पटक सयौं विद्यार्थी र अभिभावकसँग मानसिक स्वास्थ्य सेवाको बारेमा जानकारी पु¥याउन यो अभियान सार्थक बन्ने अपेक्षाले आयोजना गरिएको कार्यक्रममा जानकारी दिइयो ।
बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले नगरपालिकाले नगरबासीका लागि नगर अस्पतालमा विशेषज्ञ डाक्टरको सेवा सुरुवात गरेको बताउनुभयो । समयमै मानसिक स्वास्थ्यमा परामर्श दिन सकेमा त्यसको उपचार हुने र मानिस ठिक हुने कुरालाई नगरले ध्यानमा राखेको स्पष्ट पार्नुभयो । उहाँले सबैको साझा प्रयासले मानसिक रुपमा कमजोर भएपछि लुकाउने र हेयको दृष्टिकोणबाट माया, प्रेम र उपचार गराउन सबैले भुमिका खेल्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
उपप्रमुख बिमला सापकोटाले आत्महत्या रोक्न साथी,विद्यालय,शिक्षक र नर्सको विशेष भुमिका रहेको उल्लेख गर्नुभयो । उहाँले जनप्रतिनिधिले समेत योजना बनाउन र आत्महत्या नियन्त्रणमा भुमिका खेल्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले आफ्नो नगरपालिकाका ६३ जनाको मानसिक रोगको पहिचान गरेको र उहाँहरुलाई कार्ड वितरण गरेको महिला विकास शाखा मार्फत मासिक भत्ताको समेत व्यवस्थापन गरिएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले हरेक कार्यक्रम लक्षित समुहसम्म पुग्न आवश्यक रहेको बताउनुभयो । उहाँले परिवारले मानसिक स्वास्थ्य लुकाउँदा समस्या बढ्ने गरेको बताउनुभयो ।
बनेपा नगरपालिकाका स्वास्थ्य शाखाका महेश्वर श्रेष्ठले बनेपा नगरपालिकामा मानसिक स्वास्थ्यमा गरेको प्रयासको बारेमा जानकारी दिनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेको प्रमुख रागिनी कक्षपति श्रेष्ठले मानसिक समस्याले आत्महत्याको बाटो लिन सक्ने भएकाले त्यसमा ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले कुनै परिवारमा मानसिक रोग देखिएमा परिवारले समाजसँग लुकाउने प्रयास गर्नु नै कमजोरी हुने बताउनुभयो । सुरुमै यसको उपचार गर्न सक्ने हो भने सो समस्या समाधान हुने उहाँले स्पष्ट पार्नुभयो । एक निकाय मात्रै नभएर सबैको साझा प्रयासले आत्महत्या रोकथाम गर्न सकिनेब बताउँदै विद्यालय नर्ससँग प्रत्यक्ष विद्यार्थीको समन्वय हुने भएकाले विद्यालय नर्स र प्रअसँग परामर्श गर्ने हिसाबले बैठक आयोजना गरेको बताउनुभयो । केही समयमै काभ्रेपलाञ्चोकका स्वास्थ्य स्वयसेविकालाई आत्महत्या रोकथाममा कसरी प्रयास गर्न सकिन्छ भनेर अनुशिक्षण चलाउने तयारी जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले गर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया