बनेपा – ३० हजार तिरेर स्नातकोत्तर तहको प्रमाणपत्र बनाएर एउटा चल्तीको स्कूलमा पढाउन मिल्छ भने किन पढीरहने, अनि त्यस्ता शिक्षकले पढाएका विद्यार्थीले कस्तो शिक्षा हासिल गर्छन् र गरिरहेका होलान् भन्ने यक्ष प्रश्न काभ्रे मावि बुडोललाई यतीबेला तेस्रिएको छ । हरेक कुरामा अब्बल र उत्कृष्टको नारा दिदै गतिलै प्रचारमा लाग्ने काभे्र माविको असली अनुहार सोमबार बिहान प्रहरीले सोही विद्यालयका सहायक प्रिन्सिपल तथा प्लस टु तर्फका संयोजक विकास श्रेष्ठलाई प्रहरीले कराप्प समातेपछि छर्लङ्ग भएको छ । काभ्रे माविमा अनुशासन हिनताको पराकाष्ट नाँघेको धेरै भैसक्यो । मंसिर २३ गते विद्यार्थीको दुई समुहबीच ग्याङ्ग फाईट नै भयो । दुबै पक्षले उपचार गराउने सहमति भएपछि कुरा सामसुम भैहाल्यो । विद्यालय सो बिषय बाहिर नल्याउन सफल भयो । (सो दिनको घटनाको प्रत्यक्षदर्शी र उपचार भएको सबै प्रमाण सुरक्षित छ (सं ) । त्यसैले एउटा ठूलो दुर्घटनाको संकेत काभ्रे माविलाई गरिरहेको थियो । त्यसको पुष्टि सहायक प्राचार्य पक्राउ गरेपछि भैहाल्यो ।
हामीले कस्तो ठाउँमा आफ्ना बालबालिकालाई अध्यापन गराउँदै आएका छौ भन्ने कुरा अभिभावकले ख्याल राख्नु पर्ने बेला आएको एक अभिभावले बताए । कुनै समय एसएलसीको बोर्ड फष्ट भएको स्कूलमा अध्यापन गराउने शिक्षकको शैक्षिक प्रमाणपत्र नै नक्कली भएको फेला परेपछि यतीबेला काभ्रे शिक्षा विकास प्रतिष्ठानबाट सञ्चालित काभ्रे माध्यामिक विद्यालय बुडोलमा कम्तिमा नौ रेक्टर स्केलको भुकम्प गएको जस्तै भएको छ । विद्यालयका सहायक प्राचार्य र प्लस टुका संयोजक विकास श्रेष्ठको स्नातकोत्तर तहका शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि प्रहरीले गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं ६ मा बुडोलमा रहेको काभ्रे माविको सह – प्राचार्य शिक्षक विकास श्रेष्ठलाई नक्कली प्रमाणपत्र सहित सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
धुलिखेल नगरपालिका वडा नं ५ श्रीखण्डपुर आफ्नै घरबाट बर्ष ४८ को विकास श्रेष्ठकलाई प्रहरीले बिहान पक्राउ गरेको थियो । त्यसपछि ईलाका प्रहरी कार्यालयमा राखेर जनप्रतिनिधिको रोहवरमा मुजुल्का उठाईएको थियो । सोही क्रममा शिक्षक श्रेष्ठले दश बर्षअघि ३० हजार रुपियाँमा शैक्षिक प्रमाणपत्र खरिद गरेको वयान दिएका थिए । आफ्ना विद्यालयमा उच्च योग्यताका शिक्षक मात्रै रहेको चुनौती दिने संचालक र विद्यालयको नेतृत्वलाई समेत यसले ठुलो असर पार्ने निश्चित नै छ । यसबारेमा प्रतिक्रया लिन खोज्दा विद्यालयको तर्फबाट कुनै प्रतिक्रया आएन । व्यवस्थापनले पनि यो बिषयमा बोल्न चाहेन ।
त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरु रहेको भन्ने सूचनाको आधारमा प्रहरिले निजको साथमा रहेको शैक्षिक योग्यताको प्रमाणपत्रहरुको थप अनुसन्धान गर्दा रजिष्ट्रेशन नं. ३६०६१–९३ भएको Bachelor’s Degree in Business Studies र Master’s Degree in Business Studies को ट्रान्सक्रिप्ट त्रिभुवन विश्वविद्यालयको अभिलेखमा भिडाइ हेर्दा नक्कली भएको पाए पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय, परीक्षा प्रशासन महाशाखाको पत्रबाट सबै प्रमाणपत्र नक्कली भएको जानकारी भए पश्चात निज श्रेष्ठलाई अपराध महाशाखाको टोलिले पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको एस्पी काजी कुमार आचार्यले बताए ।
उनको साथ बाट N.C.C बाट जारी भएको स्नातकोत्तर तहको CHARACTER CERTIFICATE थान-१ , T.U बाट जारी भएको स्नातकोत्तर तहको PROVISIONAL CERTIFICATE थान-१, त्रिभुवन विश्वविद्यालयबाट जारी भएको व्यवसाय अध्ययन शास्त्रीको प्रमाणपत्र , नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरबाट जारी भएको अस्थायी अध्यापन अनुमतिपत्र , T.U बाट जारी भएको व्यवस्थापन संकायको स्नातक तहको ACADEMIC TRANSCRIPT, T.U बाट जारी भएको BBS को PROVISIONAL CERTIFICATE जफत गरिएको जनाएको छ ।
नक्कली प्रमाणपत्र सहित पक्राउ गरिएको शिक्षक लामो समयदेखि काभ्रे माविमा शिक्षकको रुपमा कार्यरत थिए । शिक्षकको प्रमाणपत्र नै नक्कली पाए पछि काभ्रे माबि बाट कस्तो खालको शिक्षाको आपेक्षा गर्ने भनेर आम जन चासोको बिषय बनेको छ । नक्कली शैक्षिक प्रमाणपत्रमा १४ वर्षदेखि अध्यापन गराउँदै आएका थिए । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मीन भवन कमर्स क्याम्पसबाट स्नातकोत्तर उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्र बनाएको आरोप छ ।
त्यसैगरी स्नातक तह र प्लस टुको पनि नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उनले अध्यापन गराउँदै आएको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए । ‘प्लस टुदेखि स्नातकोत्तरसम्मको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि पक्राउ गरेर उनीविरुद्ध अनुसन्धान अघि बढाएका छौं,’ जिसीले भने । श्रेष्ठ काभ्रे उच्च माविमा विगत २०६७ सालदेखि अध्यापन गराउँदै आएका थिए । उनीविरुद्ध सरकारी कागजात कीर्तेको कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया