देशभरका पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी काभ्रेमा


काभ्रेको बनेपामा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीको साधारण सभा भएको छ । काभ्रेको आतिथ्यतामा महासंघको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको हो । बनेपामा भएको साधारण सभामा पुर्व उद्योग राज्यमन्त्री एवं वागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादेले प्रमुख आतिथ्यता ग्रहण गर्नुभयो । उहाँले व्यवसायलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण निर्माणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय प्रत्यक्ष रुपमा मानव स्वास्थ्यसँग जोडिएकाले गुणस्तरीय सेवामा ध्यान दिन अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष तेविन्द्र रत्न शाक्यले नीजि क्षेत्र र नेपाल सरकारसँगको सहकार्य, समन्वय र सहभागीतामा मुलुकलाई विकास र समृद्धिको उचाइमा पुर्याउने अभियानमा व्यवसायीहरु प्रतिवद्ध रहेको बताउनुभयो ।
कोरोना भाइरस, डेंगी लगायतका विभिन्न महामारीले व्यवसाय प्रभावित बन्न पुगेको उहाँले उल्लेख गर्नुभयो । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय हजारौंलाई रोजगारीको सिर्जना गरी राजस्वको मुख्य स्रोत बनेको उहाँले बताउनुभयो ।
महासचिव हिम किसोर काङमाङ राइले स्थानीय स्तरमा सिमित लगानीमा व्यवसाय गरिरहेका व्यवसायीलाई भ्याटको अनिवार्यताले व्यवसाय गर्न कठिन भइरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बनेपा नगरपालिकाको मेयर शान्तिरत्न शाक्य, काभ्रेका उद्योगी व्यापारीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पाण्डेले स्वागत मन्तव्य राखेको कार्यक्रममा काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघका अध्यक्ष शिव प्रसाद तिमल्सिनाले गुणस्तरीय सेवाका लागि प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका प्रदेश संयोजक, जिल्ला अध्यक्ष लगायत विभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया