बनेपा- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी काभ्रे शाखाले आफ्नो प्रतिबद्धतालाई प्रमाणित गर्दै बीमित ग्राहकलाई छोटो समयमा उपचार खर्च उपलब्ध गराएको छ। कम्पनीले कानको गम्भीर समस्याबाट पीडित बीमित कृष्णमान तामाङलाई ५ लाख ९ सय रुपैयाँ बराबरको चेक मंगलबार बनेपामा हस्तान्तरण गरेको हो। कम्पनीका बनेपा शाखा प्रमुख ओमराज तामाङ, एजेन्सी मेनेजर अशोकबुद्ध लामा तथा कम्पनीका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलले दुवै कान नसुन्ने समस्या भएका बिमित तामाङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।
कम्पनीको बनेपा कार्यालयमा आयोजित कार्यक्रममा उक्त चेक बिमित परिवार लाई हस्तान्तरण गरिएको थियो। चेक हस्तान्तरण गर्दै एजेन्सि मेनेजर एवं पत्रकार अशोक बुद्ध लामाले बीमाको महत्व र यसबाट मिल्ने आर्थिक सुरक्षाको चर्चा गरे। उनले बीमाले आकस्मिक स्वास्थ्य समस्यामा कसरी सहारा दिन सक्छ भन्ने कुराको उदाहरण यो घटनाले थप साथ दिएको बताए ।
सिटिजन लाइफ इन्स्योरेन्सले बीमाको शुरुवात गरेपछि छोटो समयमा नै आफ्नो सेवा प्रभावकारी रूपमा प्रदान गरेको देखिन्छ। कृष्णमान तामाङले बीमा सम्झौता गरेको केही महिनाभित्रै उक्त सुविधा पाएका हुन्। यो घटनाले बीमा क्षेत्रमा ग्राहकप्रतिको इमानदार सेवा र समयमै राहतको आवश्यकतालाई पुष्टि गरेको छ।
अशोक बुद्ध लामाले भने, “बीमा भनेको भविष्यका अनिश्चित घटनाका लागि तयार हुने उपाय हो। यो केवल व्यवसाय मात्र होइन, सेवा हो। हाम्रो उद्देश्य हरेक बीमितलाई उनीहरूको आवश्यकता अनुसार समयमै सहयोग पुर्याउनु हो।”
सिटिजन लाइफ इन्स्योरेन्सको यो कदमले बीमा बजारमा सकारात्मक प्रभाव पारेको छ। हाल नेपालमा बीमा कम्पनीहरूप्रति केही शङ्का र हल्लाहरू चलिरहेका बेला यसरी तुरुन्त सेवा प्रदान गर्नुले कम्पनीको छविलाई बलियो बनाएको छ।
कार्यक्रमका क्रममा बीमा योजनाका अन्य फाइदाहरू, दीर्घकालीन सुरक्षाका उपायहरू, र स्वास्थ्य बीमाका विशेषताहरूको पनि चर्चा गरियो। अभिकर्ता लामाले ग्राहकलाई आफ्नो परिवारको भविष्य सुरक्षित राख्न बीमामा सहभागी हुन आग्रह गरे।
सिटिजन लाइफ इन्स्योरेन्सले भविष्यमा पनि यस्तै सेवाहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। बीमाले दीर्घकालीन आर्थिक सुरक्षाका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै, कम्पनीले ग्राहकलाई अझ प्रभावकारी सेवा दिने लक्ष्य राखेको छ। नेपालमा बीमाको महत्व र विश्वसनीयताको सन्देश दिन सफल भएको भन्दै बीमा कम्पनीका सुनील पोखरेलले बीमा क्षेत्रको पनि केही कानुनी सुधार र सेवाप्रति लगावका लागि अझै केही काम गर्नु पर्ने धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया