लायन्सले दियो विकटका विद्यार्थीलाई न्यानो कपडा

लायन्स क्लब अफ काठमाडौं, ईन्द्रायणी, खुसिबुले धादिङ जिल्ला, धुनिवेसी–४ स्थित श्री जीवनपुर कुलचन्द्र आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो लुगा वितरण गरेको छ । वितरण गरिएका सामग्रीमा जुत्तामोजा, ट्रयाकसुट, टिसर्टका साथै व्याग, कपी खेलकुदका सामग्रीहरु रहेका छन् ।
एक कार्यक्रका बीच लायन्स क्लब इन्द्रायणीका अध्यक्ष अमरराज सुवाल, रमेश अधिकारी, बालकृष्ण बुर्लाकोटी, निरा बज्राचार्य, सलिना दहाललगायतले विद्यालयका प्रधान अध्यापिका देवी पौडेललाई हस्तान्त्रण गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी धुनिवेसी नगरका मेयर बालकृष्ण आचार्यले काठमाडौबाट निकै नजिकको पालिका भएपनि यो पालिका बत्तिमुनिको अध्यारो जस्तो भएको बताउनुभयो । राष्ट्रिय राजमार्गसंग जोडिएको पालिका र राष्ट्रिय गौरवका आयोजना रहेको भएता पनि पुर्वाधार र शिक्षा जस्ता कुरामा पालिका अझै पनि पछाडि नै रहेको जानकारी दिनुभयो । दूई पटक मेयरमा निर्वाचित भएर आएपछि आफ्नो पहिलो कार्यकालबाटै शिक्षा स्वास्थ्य जस्ता विषयलाई प्राथमिकतामा राखेको जानकारी दिदै पालिका अन्तरगतका २६ वटा विद्यालय सुधारका लागि शिक्षा निति बनाई अगाडी बढेको जानकारी दिनुभयो । मेयर आचार्यले पालिकाकै पहलमा जीवनपुर विद्यालयबाटै दिवा खाजा अभियान सुरु गरेका र आज यो कार्यक्रम देश भरिनै सञ्चालनमा रहेको बताउनु भयो । आगामि दिनमा पालिकाको शिक्षाको गुणस्तर बढाउने र पुर्वाधार विकासमा लाग्ने प्रतिवद्धता जाहेर गर्दैे लायन्स क्लवलाई विद्यालय र वालवालिकालाई गरेको सहयोग प्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै लायन्स क्लब इन्द्रायणीका अध्यक्ष अमरराज सुवाल लायन्समा आवद्ध भएका साथै समाजमा केही गर्नु पर्छ भन्ने मान्यता बोकेका व्यक्तित्वहरुलाई समेत जोडेर आवश्यक परेकाहरुलाई सहयोग गर्ने सोच अनुरुप यो कार्यक्रम गरिएको जानकारी दिनुभयो । समाजको आवश्यकता अनुसार नै आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
लायन्स क्लबका भाइस डिष्टिक्ट गभर्नर रमेश अधिकारीले लायन्सले सङ्स्था वा समुदायको आवश्यक्ता बुझेर बिना सिफारिस साथ र सहयोग गर्नेगरेको जानकारी दिनुभयो । यसै सिलसिलामा क्लबले धादिङ जिल्लाको यो विद्यालय रोजेको बताउनु भयो ।
इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले संस्थाबारे जानकारी दिदै समाजमा हरेक व्यक्तित्वलाई योगदान गर्न लायन्सले सिकाउने बताउनुभयो । जहाँ आवश्यक्ता त्यहा लायन्स भन्ने भावना बोकेर क्लब अगाडि बढेको बताउनु भयो ।
विद्यालय प्र.अ. देवी पौडेलले आफु हालै मात्र विद्यालयमा आएको र विद्यालयको अवस्था सुधार गर्न लिगिपरेको जानकारी दिनुभयो । विद्यालयका विद्याथीहरुमा ९० प्रतिशत विद्यार्थी दलित समुदायका रहेको र अति न्युन आय भएकाहरुकै बाहुल्यता रहेकाले पनि आफ्नो पहिलो उद्देश्य शैक्षिक वातावरणको सुधार रहेको बताउनु भयो । साथ साथै बालबालिकाको सर्वाङ्गीण विकासका लागि योजना बनाई अघि बढेको जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पालिका शिक्षा विभागका सदस्य, अविभावकहरुका साथै लायन्स क्लबका विभिन्न तहका पदादिधारीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा विद्यालयका बालबालिकाहरुले स्वागत गान, नृत्य प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा १२५ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया