कुशादेवी÷काभ्रेपलाञ्चोक जिल्लाकै नमूना विद्यालयको रुपमा विकासहुँदै गएको कुशादेवी माध्यामिक विद्यालय पनौती–२ ले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जितेको छ । यसअघिको संस्करणमा उपविजेता बनेको कुशादेवीले यो बर्ष च्याम्पियन बनेको हो । बिहीबार सम्पन्न प्रतियोगितामा १० स्वर्ण र ७ रजत जितेर कुशादेवी माविले राष्ट्रपति रनिङ शिल्ड २०८१ हात पारेको हो ।
कूल ३० स्वर्ण पदकमध्ये १० वटा पदक जितेर कुशादेवी यो बर्षको रनिङ शिल्ड भित्राउन सफल भएको हो । भालेश्वर माविले ९ स्वर्ण ल्याउँदै दोश्रो भयो । ईन्द्रेश्वरले ३ वटा स्वर्ण ल्यायो । ईतिहासमै सबैभन्दा ठूलो सफलता हात पारेपछि कुशादेवीमा विद्यार्थीलाई बाजा बजाएर स्वागत गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापाले केही बर्षदेखि निरन्तर गरेको प्रयासले विद्यालयले सफलता हात पारेको बताउनुभयो । दुई बर्षअघि तेश्रो, अघिल्लो बर्ष दोश्रो र यो बर्ष पहिलो भएको विद्यालयले विद्यार्थी, शिक्षक,विद्यालय व्यवस्थापन सबैको सहयोगले संम्भव भएको थापाले उल्लेख गर्नुभयो ।
पनौती नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयले ऐतिहासिक जीत निकालेको भन्दै उहाँले सबैलाई बधाई दिनुभयो । अघिल्लो पटक दोस्रो स्थान हासिल गरेकोमा यस पटक प्रथम स्थान सुनिश्चित गर्न अहोरात्र गरेको मेहनतको परिणाम रहेको उहाँले स्पष्ट पार्नुभयो । तेश्रो स्थान भएको ईन्द्रेश्वर माविले तीनवटा स्वर्ण पदक हात पारेको छ । पनौती नगरपालिकाको शिक्षा शाखा अनुसार ३० स्पर्धामा ११ सय १९ जना विद्यार्थीले सहभागि थिए ।
विद्यालयका प्रअ माधवप्रसाद दाहालले विद्यार्थीको मेहनतको कारणले सफलताका हात पारेको बताउनुभयो । खेल संयोजक सुमन लामाले विद्यार्थीहरुले गरेको कडा मेहनतले सफलता हात पारेको उल्लेख गर्नुभयो । पनौतीका मेयर रामशरण भण्डारीले उद्घाटन गरेको प्रतियोगिताको समापन उपप्रमुख गिता बञ्जाराले गर्नुभयो ।
तपाईको प्रतिक्रिया