धुलिखेल÷धुलिखेल नगरपालिका नगर सभाको सोह्रौं अधिवेशन बिहीबार सम्पन्न भएको छ ।
असोज १०–१२ गतेको अविरल वर्षाद्पछि नगरपालिका क्षेत्रमा पु¥याएको क्षतिको बारेमा योजना बनाउन पूर्व विनियोजन गरेका ७५ वटा योजनाको बजेट संशोधन गरिएको छ ।
नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाको आर्थिक वर्ष २०८१÷२०८२ को बजेट तथा कार्यक्रम संशोधन गर्ने निर्णय भएको सभालाई जानकारी गराउनुनभयो ।
सभाले नगरपालिकाको कर्मचारी व्यवस्थापन सम्बन्धि (विशेष) विधेयक,नगरपालिकाको जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८१,आर्थिक ऐन तथा राजस्वका दररेट संसोधन गर्ने निर्णय गरेको छ ।
सभामा धुलिखेल, पनौती नगरपालिका, पनौती वडा नं १२ र धुलिखेल खानेपानी उपभोक्ता समिति बीच भएको सहमति सर्वसम्मतरुपमा अनुमोदन गरेको छ । त्यस्तै विपदबाट भएको क्षतिको जानकारी गराउँदै नगरलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय नगर सभाले पास गरेको छ ।
नगर सभामा उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी लगायतले सभामा उठेका सदस्यहरुका सवालका बारेमा जवाफ दिनुभयो ।
वडा अध्यक्षहरु नारायणप्रसाद बडाल, रोमीप्रसाद श्रेष्ठ, गोविन्द्रप्रसाद उपाध्यायले विधेयकहरु प्रस्तुत गर्नुभएको थियो । उपप्रमुख निराजन जंगमले खानेपानीसँग सम्वन्धित सम्झौताका बारेमा जानकारी दिनुभयो । नगर सभाले पास गरेको विधेयक मध्ये महत्वपूर्ण विधेयकका रुपमा विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन विधेयक २०८१ रहेको छ । विभिन्न क्षेत्रका ब्यक्तिहरु सदस्य रहने गरी नगर प्रमुखको संयोजकत्वमा विपद ब्यवस्थापन समिति गठन गर्ने, वडा स्तरीय समिति गठन गर्ने, विपद ब्यवस्थापन सम्वन्धी विभिन्न कार्य गर्ने गरी ब्यवस्था गरिएको छ ।
तपाईको प्रतिक्रिया