जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा

जनकपुर बोल्ट्सका खेलाडी
काठमाडौँ, १५ मङ्सिरः कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल सुरु हुनु पूर्व जनकपुर बोल्ट्स टीमका खेलाडी तस्बिर खिँचाउँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौँ, पुस ४ गते । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेट हराउँदै फाइनलमा स्थान बनाएको हो ।

जितका लागि एक सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाउनुभयो ।

उहाँले १७ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा उक्त रन जोड्दै जनकपुरलाई जितको आधार तय गर्नुभएको हो । यस्तै हर्ष थाकरले १७, शेर मल्लले अविजित १६, मायन यादवले १४ र आकाश त्रिपाठीले १३ रन बनाउनुभयो ।

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिनुभयो । कर्णालीले ट्यालेन्ट हन्टबाट टोलीका अनुबन्ध गरेको १६ वर्षीय शर्माले विकेट लिने क्रममा पूरा चार ओभर बलिङ गदै १७ रन खर्चिनुभयो । सोमपाल कामी, विलियम बसिस्टो र जिसम मक्सुदले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो ।

कर्णालीका लागि गुलशन झाले २५ रन बनाउनुभयो । यस्तै ओपनर देश खनालले २४, विलियम बसिस्टोले १४, जिसम मक्सुद र युनिस ठकुरीले १२/१२ तथा चादविक वाल्टनले ११ रन बनाउनुभयो ।

बलिङमा जनकपुरका ललित राजवंशी, मोहमद मोसिन र जेम्स निसमले दुई दुई विकेट लिनुभयो । हर्ष थाकर र शेर मल्लले एक एक विकेट झार्नुभयो ।

फाइनलमा जनकपुरले सुदूरपश्चिम रोयल्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुरलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

यता कर्णालीले बुधबार एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । पराजित कर्णालीले तेस्रो बन्यो । प्लेअफमा पुगेको चितवन राइनोज चाैथो भयो ।

तपाईको प्रतिक्रिया