
चार सय ८२ घरलाई असोज १०–१२ मा परेको अविरल बर्षाले पुर्ण रुपमा लडाएको काभ्रेपलाञ्चोकको रोशीमा आठ सय ८३ घर आशिंक रुपमा क्षति पुगेको थियो । बाढी पहिरोमा परेर १२ जनाले ज्यान गुमाएको रोशी सरकारले अस्थायी आवास निर्माणको काम थालेको छ । अत्याधिक चिसो बढ्न थालेपछि पहिलो चरणमा पुर्ण क्षति परेका घरमा अस्थायी आवास सुुरु गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईवाका अनुसार पहिलो चरणमा घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको हो । उहाँले वडा नं २ बाट अस्थायी आवास निर्माणको काम सुरु गरिएको हो । यस वडामा ३० अस्थायी आवास निर्माण उहाँले स्पष्ट पार्नुभयो ।
बाढी पहिरोपछि आफन्तको आश्रउ लिएर बसेका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गाउँपालिकाले लिएको छ । विभिन्न दातृ निकायको सहयोगमा अस्थायी आवास निर्माण कार्यको अघि बढाएको उपाध्यक्ष वाईवाले भन्नुभयो । रोशीमा एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । यस्तै बाढीपहिराले निर्माण सम्पन्न भएको डम्फू उद्यान, १० शय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको थियो ।
स्थानीय स्रोत, साधन प्रयोग गरी अस्थायी आवास निर्माण भइरहेको हो । वडा नं २ मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट स्वीकृत मापदण्डअनुसार नै अस्थायी आवास निर्माणको काम भइरहेको छ । डा नं ९ नार्के तथा आसपास ३० अस्थायी आवास निर्माणको काम भएको छ ।
कात्तिक ३० गते नै विशेष गाउँसभामार्फत चालु आर्थिक वर्षमा योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले विपद्सँग सम्बन्धित बनाएर दुई सय ६६ योजना संशोधन गरेको छ भने विपद् कोष रु दुई करोड ८० लाखको बनाएको जनाएको छ । कोषको रकमले स्थानीय तहमा अत्यावश्यक विपद् खर्च, बाढीपहिराले पुर्याएको क्षतिको तथ्याङ्क सङ्कलन, राहत वितरणलगायत विविध शीर्षकमा खर्च गर्नेगरी संशोधन गरिएको थियो ।
पूर्वाधारको मर्मत तथा निर्माणका लागि एक करोड रुपैयाँ, विपद् हेल्पडेस्कका लागि पाँच लाख रुपैयाँ, तथ्याङ्क सङ्कलन तथा जनशक्ति परिचालनमा १० लाख रुपैयाँ, राहत (खाद्यान्न, लत्ताकपडा)का लागि ५० लाख रुपैयाँ, मृतक परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँ, मर्मतसम्भारमा ५० लाख रुपैयाँ, विपद् सामग्री खरिदमा १० लाख रुपैयाँ तथा बाढीपीडितलाई सहायताका लागि ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया