
धुलिखेल÷असोज १०,११ र १२ गते अविरल बर्षापछि काभ्रेपलाञ्चोकमा भएको ठूलो भौतिक र मानवीय क्षतीको समिक्षा,विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा भएको सिकाईको बारेमा बहुसरोकारसँगको कार्यशाला गोष्ठी बुधबारबाट धुलिखेलमा सुरु भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको आयोजनामा विपद् जोखिम न्यूनिकरण तथा विपद् व्यवस्थापनमा सिकाई तथा आगामी कार्ययोजना विषयक कार्यशाला गोष्ठी सुरु भएको हो । गोष्ठीको खानेपानी तथा सरसफाई मन्त्री प्रदीप यादवले शुभारम्भ गर्नुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनु भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले असोज १०–१२ को विपद् तथा अन्य समयमा हुने विभिन्न खालका विपद्का सन्दर्भमा राष्ट्रिय, अन्तरराष्ट्रिय तथा प्रदेश र स्थानीय सरकारले खेल्नु पर्ने भूमिका, कानूनी व्यवस्था, वर्तमान अवस्था र चुनौतीका बारेमा जानकारी गराउनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको आयोजना तथा जिल्लामा विपदको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी), संयुक्त राष्ट्रसंघीय बालबालिकाको आपतकालिन कोष (युनिसेफ), सेभ द चिल्डे«न, केयर नेपाल, नेपाल रेडक्रस सोसाइटी लगायतका संघ संस्थाहरुको सहयोगमा पुष ३ र ४ गते सञ्चालन हुने गरी कार्यशाला शुरु भएको हो । विपद् पूर्वतयारी, खोज तथा उद्दार, राहत वितरण लगायतका क्रियाकलापहरुको सिकाइ आदान प्रदान, आवश्यकता र उपलब्धता बीचको अन्तराल तथा आगामी दिनका लागि विपद् जोखिम न्यूनिकरण तथा विपद् व्यवस्थापनका लागि कार्ययोजना निर्माण गर्ने उद्देश्यले आयोजित कार्यशालामा प्रतिनिधी सभा र प्रदेश सभा सदस्य , १३ वटै स्थानीय तह, राजनीतिक दल, क्षेत्रगत कार्यालयहरु र जिल्लामा कार्यरत विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
पानी खान सबैले पानु पर्छ : मन्त्री यादव
खानेपानी तथा सरसफाई मन्त्री प्रदीप यादवले बाढीपहिरो प्रभावित क्षेत्रको पुनः निर्माणका लागि कार्यविधि निर्माणको अन्तिम चरणमा पुगेको बताउनुभएको छ । धुलिखेलमा आयोजित कार्यशाला लाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले बाढीपहिरोबाट प्रभावित क्षेत्रको पुर्ननिर्माणका लागि पुसको दोस्रो सातासम्ममा कार्यविधि निर्माण भइसक्ने दाबी गर्नुभयो ।
उहाँले गृहमन्त्रालयले पुर्ननिर्माण सम्बन्धी कार्यविधि बनाएर मन्त्रीपरिषदमा पेश गरेको र मन्त्रीपरिषद्ले निर्णय गरिसकेको भन्दै उनले कार्यविधि विधेक परिषद्मा पुगेको उल्लेख गर्नुभयो ।
निर्णयलाई मन्त्रीपरिषदले अनुमोदन गरेपछि पुर्ननिर्माणको काम तीव्र गतिमा अगाडी बढ्ने मन्त्री यादवले आश्वासन दिदै एकीकृत खानेपानीमा बाढीपहिरोले पुर्याएको क्षतिको आफुले स्थलगत निरीक्षण गरेको बताउनुभयो । उहाँले काभ्रेका तीन वटा नगरपालिकाले लिखित आग्रह गरेमा आयोजना पुर्ननिर्माणको जिम्मा खानेपानी मन्त्रालयले लिने प्रतिबद्धता जनाउनुभयो ।
काभ्रेको पुनः निर्माणलाई योजनाबद्ध बनाऔं : बाँस्कोटा
संघीय सांसद एवं पुर्व मन्त्री गोकुल बाँस्कोटाले विकासका काम योजनावद्ध हुनुपर्ने बताउनुभएको छ । पुनः निर्माणको लागि आगामी दिनमा थप क्षति हुन नदिन खानेपानीको स्रोत, वस्ती क्षेत्र, खोला क्षेत्र छुट्याएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पालिकाले विपद व्यवस्थापनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । काभ्रेको गौरवको रुपमा रहेको एकीकृत खानेपानी आयोजनाले दोस्रो मेलम्चीको हालत व्यहोरीरहेकाले आयोजना सम्पन्न गर्नको लागि सबै पक्ष एक हुनुपर्नेमा जोड दिनुभयो ।
संघीय सांसद सुर्यमान दोङ, प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, रत्नप्रसाद ढकाल, लक्ष्मण ढकाल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमलगायत ले काभ्रेको पुनः निर्माणमा संघीय सरकारले गर्नुपर्ने कार्यको बारेमा ध्यानाकर्षण गराउनुभएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले सहजीकरण गर्नुभएको गोष्ठीमा जिल्लाका प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति, स्थानीय निकाय, जिल्लास्थित सरकारी कार्यालय प्रमुख तथा नागरिक समाज र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता हुनुहुन्छ । बैठकमा सामाजिक संघसंस्थाको तर्फबाट नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले आफ्नो धारणा राख्नु भएको थियो ।
गोष्ठीमा पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, विपद् व्यवस्थापन समिति अन्तरगतका विभिन्न क्लस्टरका संयोजक तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
२०८१ मसिंर २० गते सम्पन्न जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले पौष ३ र ४ गते कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय गरेको थियो । बैठकको निर्णय अनुसार असोज १०–१२ गते परेको अविरल वर्षातका कारण बेपत्ता भएका छ जनाका आफन्तलाई मृत्यु भए सरहको राहत उपलब्ध गराइसकेको छ ।
तेमाल गाउँपालिका वडा नं २ को ६ बर्षिया बालिका अपृया तामाङ र ३ बर्षिया बालिका पृया तामाङ, चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ की ४० बर्षिया शान्ता रिमाल, धुलिखेल ८ की ४२ बर्षिया गिता श्रेष्ठ, बेथानचोक ४ की ज्ञानु परियार र खानीखोला ६ की देविमाया स्याङ्गतान बेपत्ता हुनुभएको थियो । जिल्लामा हाालसम्म विपद्को पूर्ण तथ्याङ्क उपलब्ध हुन सकेको छैन ।
असोज १०–१२ सम्म परेको अविरल वर्षातका कारण भएको क्षति पछि राष्ट्रिय विपद जोखीम न्यूनीकरण तथा ब्यवस्थापनका लागि संकटग्रस्त क्षेत्र घोषणा भएका पालिकाहरुलाई रकम उपलब्ध गराएको छ । रोशी, तेमाल, पनौती, बेतान्चोक र नमोबुद्ध नगरपालिकाले १÷१ करोड अनुदान पाएका छन् भने मण्डनदेउपुर, भुम्लु, चौरीदेउराली र महाभारत गाउँपालिकाले ७५÷७५ लाख रुपैया पाएका छन् । पाँचखाल नगरपालिकाले ५० लाख अनुदान प्राप्त ग¥यो । बनेपा र धुलिखेल अझै संकटग्रस्त पालिकामा समावेश भएका छैनन । जिल्लाका ११ वटा पालिकामा ९ करोड २५ लाख अनुदान उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया