प्रेसभित्र स्वतन्त्रतासँगै जिम्मेवारी आवश्यक ः बाँस्कोटा


नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटव्यूरो सदस्य प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्वतन्त्रता भनेको छाडातन्त्र नभएको बताउनुभएको छ ।
उहाँले अनुशासन सहितको स्वनियम भएको स्वतन्त्रताले मात्रै मुलुक निर्माणमा सहयोग पुग्न सक्ने उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको १२ औ अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुलाई पदस्थापन तथा शाखाको ३२ औ स्थापना दिवसको अवसर पारी आयोजित कार्यक्रममा जिम्मेवार, दायित्वबोध सहितको प्रेस स्वतन्त्रता आवश्यक रहेको बताउनुभयो ।
‘‘नेपाली प्रेस पूर्ण स्वतन्त्र छ तर जिम्मेवार, जवाफदेहि र दायित्व सहितको हुनु पर्छ’’–पुर्व मन्त्री बाँस्कोटाले भन्नुभयो । समाजलाई सुसुचित गर्न, राजनीतिलाई सहि मार्गमा हिडाउन, विधी र कानूनको शासन पालना गराउन पूर्ण प्रेस स्वतन्त्रताका लागि नेपाली प्रेस विभाजित हुन नहुने उहाँले स्पष्ट पार्नुभयो ।
संसारमा पुर्ण स्वतन्त्रताको अभ्यास नभएको तर स्वतन्त्रताभित्र जिम्मेवारी आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।
१२ औ अधिबेशनबाट विनोदकुमार न्यौपाने अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । २०४९ पौष २ गते स्थापना भएको नेपाल पत्रकार महासंघ काभ्रे शाखाको स्थापना दिवसको अवसर पारी नयाँ निर्वाचित समितिले पदस्थापन गरेको हो ।

स्थापना दिवसको अवसर पारी आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य तीर्थ लामा, रत्न ढकाल, जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल पत्रकार महासंघ केन्द्रिय समिति कार्यवाहक अध्यक्ष बाला अधिकारी, जिल्ला अध्यक्ष बद्रिराज तिमल्सिना, निर्वाचित अध्यक्ष विनोद न्यौपाने, सचिव कपिल कोईराला लगायतले महासंघको स्थापना दिवसका अवसरमा प्रेसले खेल्नु पर्ने भूमिकाका बारेमा धारणा राखेका थिए । सोहि अवसरमा निर्वाचितहरुलाई निर्वाचित समितिले प्रमाणपत्र वितरण गरेको थियो ।
निर्वाचन समितिमा संयोजक पुर्व अध्यक्ष भोजराज तिमल्सिना, सदस्यहरु पुर्व अध्यक्ष महेश पौड्याल र कानुन ब्यवसायी महेश कुँवर थिए । निर्वाचनमा तथा अन्य समयमा सहयोग गर्नेहरुलाई कदर र प्रसंशापत्र वितरण गरिएको थियो ।
निर्वाचनबाट उपाध्यक्षमा कपिल कोईराला निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सम्झना गौतम निर्विरोध निर्वाचित भएकी छिन् । सचिव पदमा नगेन्द्र अधिकारी निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा केशवराज पौडेल निर्वाचित भएका छन् । सह सचिव पदमा देवराज केसी र निरञ्जुल कायश्थ निर्वाचित भएका छन् ।
सदस्यहरुमा सबिता न्यौपाने र चमार सिं लामा ‘शिशिर’ निर्विरोध भए । खुल्ला सदस्यहरुमा ज्ञानमणी नेपाल, मोहनकृष्ण तिमल्सिना, विकास तिमिल्सना, रोशन तिमल्सिना, रञ्जित बोहोरा, शरण हुमागाई, पुरुषोतम ढकाल निर्वाचित भए । केन्द्रिय प्रतिनिधि परिषदमा प्रदिप केसी निर्वाचित भए । प्रदेश सभा प्रतिनिधिमा भरत अधिकारी, राज्यलक्ष्मी श्रेष्ठ, जानुका खदाल, प्रशान्त श्रेष्ठ, शुकदेव थपलिया र रामहरी श्रेष्ठ निर्विरोध भए ।

तपाईको प्रतिक्रिया