
नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा संचालन हुने ३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ मंगलबारबाट शुरू भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले रेफ्रीलाई बल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्घािटन गर्नुभयो ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलाप र सह-शिक्षात्मक गतिविधिमा विद्यार्थीहरूलाई सहभागी गराउनु आजको बद्लिदो युगमा अतिनै आवश्यक भएको चर्चा गर्दै खेलकुदले विद्यार्थीहरूलाई शारीरिक स्वास्थ्यता मात्र प्रदान नगरी वैयक्तिक सृजनशीलता मार्फत उनीहरूको ब्यक्तिगत सीप विकासमा समेत टेवा पुर्या उने विश्वास व्यक्त गर्नुभयो । विद्यालयले आफ्नो शैक्षिक तथा अन्य गतिविधिरूलाई चौतर्फी ढंगबाट अगाडि बढाइरहेको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढ्नका लागि विद्यालय परिवारलाई शुभकामना समेत दिनुभयो ।

सोही विद्यालयका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य, अखिल नेपाल फुटबल संघका सहायक महासचिव बद्री भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक मिन बहादुर कुँवर क्षेत्रीले धन्यबाद ज्ञापन गर्नुभएको थियो । उद्घायटन कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूले नृत्य प्रस्तुत गर्नुकासाथै प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरूले मार्च पास गरेका थिए ।
प्रतियोगिता अन्तर्गत आज भएको उद्घानटन खेलमा नेपाल पुलिस स्कुल साँगा (रातो) टिमले काठमाडौं युनिभर्सिटी हाईस्कुल धुलिखेललाई ३ का विरूद्ध ० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन, दाङ र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १५ विद्यालयका १६ टिमको सहभागिता रहेको छ ।
आजै भएको दोस्रो खेलमा नेपाल एपिएफ स्कुल किर्तिपुरले ल्याब स्कुललाई ३-० गोल अन्तरले हरायो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रमुखहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।
लिग कम नकआउट आधारमा सञ्चालन हुने यो प्रतियोगिता पौषको पहिलो सातासम्म चल्नेछ। प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः रु. ६०,०००, रु. ४०,००० र रु. २०,००० जित्नेछन्। साथै, उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत विधामा विशेष पुरस्कार प्रदान गरिनेछ। यस वर्षदेखि खेलाडीहरूको सुरक्षामा ध्यान दिँदै बिमाको व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया