
आरोप प्रत्यारोप विवाद अवरोधकाबिच पनौती र धुलिखेल नगरपालिकाका जनप्रतिनिधिले खानेपानी ल्याउन सहमति गरेको पत्र सामाजिक संञ्जालमा सार्वजनिक भएको छ । यद्यपी दुबै नगरपालिकाले आधिकारिक रुपमा यसको जानकारी भने गराएका छैनन् । सामाजिक संञ्जालमा सहमतिको फोटो सार्वजनिक भएसँगै काकाकुल बनेका धुलिखेलका स्थानीयका लागि राहत भने हुने भएको छ । असोज १०–१२ गते परेको अविरल वर्षातका कारण धुलिखेल सदरमुकाममा ल्याएको खानेपानी अवरुद्ध हुँदा धुलिखेल क्षेत्रमा खानेपानीको हाहाकार भएको थियो । त्यसको दुई महिनापछि दुई पालिकाका जनप्रतिनिधिबीच भएको सहमतिले खानेपानी ल्याएको संरचना पुर्ननिर्माण गरी तत्काल खानेपानी सूचारु गर्ने सहमति भएको छ ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, धुलिखेलका उपप्रमुख निराजन जंगम र पनौतीको उपप्रमुख गिता बञ्जारा, खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णभुषण खोँजु श्रेष्ठ र पनौती १२ का अध्यक्ष जयराम केसीले पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेको कुरा धुलिखेलका उपप्रमुख जंगमले सामाजिक संञ्जालमा सार्वजनिक गरेका छन् । सम्झौतामा उल्लेख गरिएका बुँदाहरुमा असहति भए वा समस्या भएमा तत्कालै संयुक्त बैठक बसी समाधान खोज्ने प्रतिवद्धताहरु भएको जंगमले टेलिफोन सम्पर्कमा काभ्रे हेटलाईनलाई जानकारी गराउनुभयो । सहमतीमा दीर्घकालीन खानेपानीको व्यवस्था मिलाउन पूर्वाधार निर्माण गर्ने बिषयलाई प्राथमिकतामा राखिएको छ ।
हाललाई अस्थायी संरचना निर्माण गरी तत्कालिन खानेपानी समस्याको समाधान गर्ने, पनौती नगरपालिकाको भौतिक संरचनामा भएको अत्याधिक क्षतिका सन्र्दभमा पुनःनिर्माणको लागि धुलिखेल नगरपालिका, पनौती नगरपालिका तथा धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको संयुक्त प्रयास गर्ने भनिएको छ । आवश्यक आर्थिक तथा भौतिक साझेदारी गरी तत्कालको लागि पनौतीको खानेपानी समस्याको समाधान गर्न पहल गर्ने, खानेपानीको श्रोत ब्यवस्थापन अर्काे ब्यवस्थापन नहुञ्जेल पनौती नगरपालिका वडा नम्वर १२ को वैरा महादेव मुलडोलको श्रोतबाट पनौती बजारमा खानेपानीको ब्यवस्थापन गर्ने, काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको श्रोत पनौती नगरपालिका वडा नम्वर १२ वैरा महादेवको श्रोत एकिकृत खानेपानी आयोजना सम्पन्न हुँदा बैर महादेवको मुलडोलको श्रोतमा समाहित गर्ने र पनौती १२ कलाति भुमिडाँडा एकिकृत खानेपानी उपभोक्ता समितिको एक घर एक धारा अभियानलाई धुलिखेल खानेपानी उपभोक्ता समितिले निर्माण गर्ने सहमति भएकोपत्रमा लेखिएको छ ।



तपाईको प्रतिक्रिया