
हुनेको सहयोग नहुनेलाई उपयोग भन्ने नारा बोकेर मानव कल्याणको लागि लागिरहेको मानव कल्याण समाज सेवाघरलाई करोडौं रुपियाँको भवन हस्तान्तरण तथा उद्घाटन गरिएको छ । सरकारी निकायले भवन निर्माण गरेर मानव कल्याण समाज(सेवाघर) लाई औपचारिक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।
पनौती नगरपालिका वडा नं.५ ढलमले गैरीगाउँमा मानव कल्याण समाजको नवनिर्मित भवन उद्घाटन भएसँगै सामाजिक सेवामा कृयाशिल रहेका अभियान्तामा हौसला बढेको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री हरीप्रभा खड्गी श्रेष्ठले भवन उद्घाटन गर्नुभयो । विपद्मा परेका बालबालिकाहरुको संरक्षणका लागि बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले भवन निर्माणको लागि ५ करोड बजेट बिनियोजन गरेको थियो । सेवा घरमा रहेका दुईजना बालबालिकाको अन्नप्राशन गरिएको छ । सुयस मानव र दर्शिका मानवलाई सामाजिक विकास मन्त्री हरीप्रभा खड्गी श्रेष्ठले सुभ साईतमा खाना खुवाउनु भएको छ । उहाँले मानवता, सम्पदा, संस्कृति, कला नेपालको पहिचान भएको उल्लेख गर्नुहुँदै नेपालीको अमुल्य पहिचान संरक्षणको लागि सबैजना एकजुट हुनुपर्ने बताउनुभयो ।
आफूले आफ्नो पहिचान गर्न सक्नुपर्ने भन्दै मन्बी खड्गीले गृहणी महिलाको सशक्तिकरणको लागि प्रदेश सरकारले बजेट छुट्याएर काम गरिरहेको जानकारी दिनुभयो । मानव कल्याण समाजले सडक तथा सार्वजनिक स्थलहरुबाट उद्धार गरिएका ४५ जनालाई गुणस्तरीय शिक्षा दिक्षा सहित आश्रय प्रदान गरिरहेको अध्यक्ष सुमित्रा चौंलागाँईले जानकारी दिनुभयो । यस्तै ३० बालबालिकालाई स्वास्थ्य उपचार पश्चात घर पत्ता लगाई पारिवारिक पुनर्मिलन गरेको पनि सो अवसरमा उल्लेख गर्नुभयो । काठमाडौं, काभ्रेपलाञ्चोक दाङ बारा लगायत छ जिल्लामा मानव कल्याण समाज रहेको अध्यक्ष सुमित्राले बताउनुभयो । कार्यक्रममा मानव सेवाको अनुकरणीय रहेको सेवा घर आफ्नो वडामा राख्न पाउँदा खुसी लागेको पनौती नगरपालिका वडा नं.५ का वडाअध्यक्ष बिनोद खत्रीले उल्लेख गर्नुभयो । बागमती प्रदेश सांसद कन्चन चन्द्र बादे, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी,संविधान सभा सदस्य रामहरि सुवेदी, पनौती नगरपालिका कर्मचारीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया