
बनेपा । पोर्चुगलमा रहेका गायिका रितु अधिकारीको सक्रियतामा नेपाली जनप्रगतिशिल मञ्च पोर्चुगलबाट खानीखोला गाउँपालिकामा अविरल वर्षाका कारण घरबार बगाएर समस्यामा परेका परिवारका विद्यालय जाने बालबालिकाहरुलाई लत्ताकपडा र स्टेशनरी सामग्री सहयोग गरेको छ ।
खानीखोला निवासी अधिकारी जनप्रगतिशिल मञ्च पोर्चुगलमा आवद्ध रहेर काम गर्दै आउनुभएको छ । आफ्नो जन्मभूमिमा बाढीपहिरोले समस्या पारेको खबर पाएपछि उहाँको सक्रियतामा संकलन भएको रकमबाट अतिप्रभावित क्षेत्रमा रहेका विद्यालय जाने ३० जना बालबालिकाहरुलाई सहयोग स्वरुप विद्यालय पोशाक(सर्ट र पाइन्ट)को लागि कपडा र कापी सिसाकलम र डटपेन लगायतका शैक्षिक सामग्री उपलब्ध गराएको सामाजिक अभियन्ता राजन अधिकारीले बताउनुभयो । सो क्रममा खानीखोलाकै युवा उद्धव अधिकारी र अन्य सहयोगी व्यक्तिहरुहरुले सहयोग उपलब्ध गराएको अधिकारीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङले विदेशी भूमिमा रहेर पनि विपद्को वेलामा आफ्नो जन्मभूमिमा रहेका बासिन्दाको सहयोगको लागि पु¥याएको सहयोग अतुलनिय रहेको भन्दै प्राप्त सामग्रीलाई पीडितको घरसम्म पु¥याउने बताउनुभयो । सहयोगी संस्था र व्यक्तित्वहरुले गरेको सहयोगलाई एक ठाउँमा जम्मा गरेर राखेको र त्यसलाई छिट्टै वितरण गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । विशेषगरी प्राप्त सामग्री खानीखोला गाउँपालिका वडा नं. ५, ६ र ७ का बाढीपहिरो प्रभावित बालबालिकालाई वितरण गर्ने जनाएको छ । विद्यालय पोशाकलाई सिलाईको व्यवस्था गरी वितरण गर्ने भएको छ ।
अझै गाउँपालिकाको केन्द्र जोड्ने सडक केही दिनमा नै खुल्ने भएकाले यातायातको साधन सञ्चालन भएपछि वितरण गर्ने गाउँपालिकाले जनाएको छ । बाढीपहिरोबाट खानीखोला गाउँपालिकाको वडा नं. १, ५, ६ र ७ मा गरी करिब ४५ घर पूर्ण क्षति भएको छ ।
खानीखोलाका बाढीपहिरो पीडितलाई नेपाली जनप्रगतिशिल मञ्च पोर्चुगलको सहयोग
2024-10-24T19:35:40+05:45

तपाईको प्रतिक्रिया