
पनौती÷नेपाल कम्युनिष्ट पार्टी (एमाले) पनौती नगर कमिटीले उद्धार तथा राहतलाई प्रभावकारी बनाउन अनुरोध गरेको छ । अध्यक्ष सुरेशप्रसाद हुँमागाईले जारी गरेको बिज्ञप्तीमा असोज ११ गतेदेखि परेको अविरल बर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लाको सिङ्गो पनौती नगरपालिकाले ईतिहासकै ठूलो विपत्तिको सामना गरिरहेको उल्लेख गरिएको छ । बाढी र पहिरोमा परेर १८ जना नागरिक तथा एक जना विदेशी नागरिकले ज्यान गुमाउनु भएको छ भने दर्जनौंको संख्यामा नागरिकहरु घाईते हुनुभएकाले उद्धार र राहतलाई प्रभावकारी बनाउन अनुरोध गरेको छ ।
कम्तिमा एक हजार घर प्रभावित भएको विज्ञप्तीमा भनिएको छ । ठूलो परिणाममा व्यक्तीगत तथा सार्वजनिक सम्पत्तिको क्षति भएको छ । बस्ती नै बगरमा परिणत भएको छ । यो त्रासदीपुर्ण विपद्ले सिङ्गो पनौती नगरपालिकाले ठूलो आर्थिक तथा भौतिक क्षति व्यहोरोको छ ।
यो विपाद्मा परेर ज्यान गुमाउनुहुने नगरबासीप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । पहिरो र बाढीमा परेर घाईते हुनुभएकाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । घाईतेको निशुल्क गुणस्तरीय उपचारमा कुनै पनि कसर बाँकी नराख्न सरकारसँग माग राखेको छ । पहिरो र बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित स्थानमा पुनःस्थापनामा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले विशेष भुमिका निर्वाह गर्न गर्दै जिल्लामा सबैभन्दा धेरै क्षति पारेको पनौतीमा अझैपनि उद्धारको आवश्यकता भएकाले सो कार्यलाई अघि बढाउन जोडदार माग राखेको छ ।
पहिरो र बाढीमा परेर वेपत्ता भएकाको खोज तथा उद्धार कार्यलाई तिव्रता दिन सम्बन्धित निकायसँग माग राख्दछौ । पनौती नगरपालिकाका विभिन्न वडामा पहिरोमा परेका ढुवानीका साधनमा यातायात मजदुर फसेको हुन सक्ने भएकाले तत्कालै खोजीको आव्हान गर्दछौ । पहिरोमा परेर पशु मरेकाले मरेका पशुको उचित व्यवस्थापन गर्न अनुरोध गरेको छ । पनौती नगरपालिकाभित्रका सबै वडामा भएको क्षतिको विवरण संकलन तथा असाँध्यै प्रभावित बनेको वडाहरुका नागरिकको उद्धार, बासस्थान नै गुमेका नागरिकको उद्धारपछि बासस्थान र खानपानको व्यवस्थापनको जोडदार माग गर्दछौ । पनौती नगरपालिकाको प्रारम्भिक आँकडा अनुसार कम्तिमा एक हजार परिवार विस्थापित बनेकाले ती परिवारका लागि पनौती नगरपालिकाले राहतको प्याकेज घोषणा गर्न अनुरोध गर्दछौ ।
बाढी र पहिरोपछि सडक,बिजुलीको समस्या परेको पनौतीमा खानेपानीको हाहाकार भएको छ । खानेपानीको स्रोत बगाएको छ । नागरिकलाई स्वस्थ्य खानेपानीको व्यवस्थापन मिलाउन अनुरोध गर्दछौ ।
विपद् लगत्तै पनौतीका १२ वटा नै वडामा एमालेका नेता कार्यकर्ता परिचालन भएको र जनवर्गिय संगठनले उद्धार, राहत तथा स्वास्थ्यउपचारमा सहयोग गरिरहेको अवगत गराउन चाहन्छौ । यस्तो दुखदायी र पिडादायक अवस्थामा पनौती नगरपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर नागरिकलाई उद्धार, राहत तथा पुनस्थापनामा जुट्न सुरक्षा निकाय, सरकारी पक्ष तथा गैरसरकारी क्षेत्रलाई अनुरोध गर्दछौ । विपद्को यो बिषम परिस्थितीमा हाम्रो पार्टी, जनप्रतिनिधि, जनवर्गिय संगठनका सम्पुर्ण नेता कार्यकर्तालाई उद्धार,राहत, पुनस्थापना,घाईतको उपचारमा अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया