जिल्ला सहकारी संघमा चुनावको चर्चा

बनेपा÷ पाँच बर्षअघिको जिल्ला सहकारी संघ र अहिलेको जिल्ला सहकारी संघको अवस्था हेर्दा आकाश जमिनको अन्तर छ । आफ्नो व्यवस्थित कार्यालय भवन, भकुण्डेवेशी, पाँचखाल र पनौतीमा सेवा केन्द्र । एक अर्ब ४० करोडभन्दा धेरैको कुल पुँजी भएको सहकारी संघ बनेर राष्ट्रिय सहकारी महासंघबाट सम्मानित भएको छ ।

नेपालकै ठूलो जिल्ला संघ बनेपछिको पहिलो चुनावी साधारणसभाले संघलाई राम्रोसँग तताएको छ । जिल्लाभरीका सहकारीको साझा संस्था जिल्ला सहकारी संघ लिमिटेडको ४३ औं साधारणसभाको मिती नजिकिदा सहकारीकर्मीबीच चर्चा र परिचर्चा सुरु भएको छ ।
भाद्र २६ गते ४३ औं बार्षिक साधारणसभामात्रै नभएर निर्वाचन हुने भएकाले त्यसको प्रभाव सिंगो सहकारीसँगै जिल्लाका राजनीतिक दललाई पनि परेको छ ।

शून्य अवस्थामा रहेको जिल्ला सहकारी संघले एकाएक ठूलो फड्को मारेपछि त्यसको नेतृत्वमा आउने होडबाजी धेरैले गर्न थालेका छन् । संघको निर्वाचन भित्रभित्रै भुसको आगो जस्तै सल्किएको छ । सहकारीको निर्वाचन भएपनि जिल्लामा रहेका दलहरुले आफ्नो प्रतिष्ठासँग जोडेर निर्वाचनको तयारी थालेका छन् ।

केहि बर्ष देखि संघले आर्थिक, भौतिक तथा संरचनागत रुपमा उल्लेख्य प्रगति गरेकै कारण यसको चर्चा आम काभ्रेली समुदाय अझ सहकारी क्षेत्रमा लाग्ने व्यक्तिहरुका लागि बहस र छलफलका बिषय बनेको अनुमान गरिएको छ ।

पछिल्लो चरण जिल्ला सहकारी संघको अण्डरग्राउण्ड पार्किङ सहितको ५ तल्ले सुविधा सम्पन्न भवन समेत तयार गरेर कार्यालयलाई समेत नयाँ भवनमा सारेर व्यवस्थित बनाउन सफल भएको छ । नेपालकै नमूना संघको रुपमा उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको छ ।

जिल्ला सहकारी संघको बार्षिक प्रतिवेदन अनुसार आर्थिक कारोबारमा समेत ठूलो फड्को मारेको देखिन्छ । असार मसान्तसम्म १ अर्ब ४१ करोड भन्दा बढी कूल पूँजी बनाउन सफल भएको छ ।

यो बर्ष संघले कम्तिमा १२ प्रतिशत लाभांश दिने तयारी गरेको छ । संघले सहकारीको नियमन र अनुगमन जस्ता क्षेत्रमा निकै कार्य समेत गरेको देखिन्छ । संघमा दिलिप शर्माको नेतृत्व रहेको छ । केहि गर्नुपर्छ भन्ने मूल अभिप्रायले अगाडी बढेका अध्यक्ष शर्माले आफ्ना व्यक्तिगत काम भन्दा पनि सहकारी क्षेत्रमा देखिने, महसुस हुने र अनुभव हुने खालका विभिन्न खालका गतिविधिहरु समेत गर्न सफल भएका छन् ।

समय दिने, विना स्वार्थ कार्य गरियो भने जुनसुकै काम पनि सहजताका साथ सफल हुन सकिन्छ भन्ने बुझाइ रहेका अध्यक्ष दिलिप शर्मा अब यसै साधारणसभाबाट छनौट हुने नेतृत्व सहकारीका आधारभूत बिषयवस्तु बुझेको नेतृत्व आउनुपर्ने बताउनुहुन्छ ।

उहाँले संघलाई यथेष्ट समय प्रदान गर्न सक्ने, सक्षम अनि संस्थागत विकासका आयामहरुमा केन्द्रित रहेर कार्य गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्नुभयो । अध्यक्षले भने जस्तो अवस्था भने जिल्लामा देखिदैन किनभने यहाँका राजनितीक दल राजनैतिक रुपमा नेताहरुको वरीपरी घुम्ने चाकडीमा रम्ने खालका ब्यक्तिहरु नै हावी हुने सम्भावना बढेको देखिन्छ । किनभने हाल जिल्लामा राजनैतिक रुपमा नेताहरुको दौडधुप र प्रत्येक पालिकाहरुमा प्रतिनिधि छनौटमा राजनैतिक पार्टीहरुको दौडधुप निकै बढेको देख्न बुझ्न सजिलै सकिन्छ ।

सबै पालिकामा पार्टीका अध्यक्ष, सचिवहरु सहकारी संस्थाहरु कहाँ कहाँ छन् र आफ्ना पार्टीका हुन की होइनन भन्ने विश्लेषण गर्दै खोज्दै हिड्नुले पनि यो बिषय प्रष्ट बुझ्न र देख्न सकिन्छ ।
प्रत्येक वर्ष संघमा साधारण सभा हुने गर्दछ अरु बर्षहरुमा यसरी नै नेतृत्व गर्नेहरु हिडेको देखिदैन तर निर्वाचनका बर्षहरुमा भने यीनिहरुको तानातान र दौडधुप सहजै देखिनुले पनि यो राजनैतिक रुपले नेतृत्व हडप्ने नै हो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

७७ जिल्लाहरुमा कूल पूँजीको हिसाबले उत्कृष्ट संघ रहेको दावि संघका अध्यक्ष दिलिप शर्मा गर्नुहुन्छ । राष्ट्रिय रुपमा संघहरु मध्ये उत्कृष्ट संघको रुपमा पुरकृत भएको यस जिल्ला सहकारी संघ लि. ले पालिकाहरुसँगको सहकार्यमा धेरै कार्यहरु गर्दै आएको छ । क्षमता अभिबृद्धि, तालिम, गोष्ठी आदिका कार्यहरु समेत गर्दै आएको यस संघ लि ले समस्या परेका सहकारी संस्थाहरुको अभिावकीय भूमिकामा रहेर विविध कार्यहरु समेत गर्दै आएको छ ।

चूनावी साधारण सभा भएकोले जिल्ला सहकारी संघ आसपास राजनैतिक पार्टीका नेता, कार्यकर्ताहरुको चहल पहल निकै देख्न सकिन्छ । अघिपछि संघमा छिर्दै नछिर्ने नेता तथा राजनैतिक आस्था राख्नेहरुको चासो ह्वात्तै बढेका छ ।

जे होस जिल्लामा जिल्ला सहकारी संघको निर्वाचनको सरगर्मी निकै बढाएको छ । तर आम अभियानमा रहेका मानिस तथा अभियानकर्मीहरुसँग भेटघाट तथा कुराकानीहरुमा अब जिल्ला सहकारी संघ लि. ले नेतृत्व कस्तो पाउँछ भन्ने बिषयमा निकै चासो देखाएको छ । राजनैतिक रुपमा सहि काम गर्न नसक्ने मानिस जिल्ला सहकारी संघ लि. मा नेतृत्व राजनैतिक पार्टीहरुले चयन गरेको खण्डमा अबका दिनहरुमा फेरी संघ पहिलेको अवस्थामा नै फर्कने पो हो की भन्ने चिन्ता अभियानकर्मीहरुको रहेको देखिन्छ । राजनैतिक दलहरुले संघ संस्थाहरुमा खेल्दा हस्तक्षेप गर्दा राम्रो मान्छे भन्दा हाम्रो मान्छेको हावी हुने अनि सहकारीका आधारभूत बिषयहरु नबुझने, साना वा समस्यामा परेका संस्थाहरुका प्रतिनीधिहरु नेतृत्वमा पुग्दा संघको हालको उचाई र गरिमा गिर्नेमा कुनै सन्देह छैन ।

तपाईको प्रतिक्रिया