
सामुदायिक विद्यालयको शिक्षा सुधार्न अनेकौ प्रयास भएका छन् । लगातार केही बर्षसम्म पनौतीका सामुदायिक विद्यालयको शिक्षा सुधारमा भुमिमा खेलेको फ्रिडम टु लर्न नेपालले बेथानचोक गाउँपालिकामा सकारात्मक तरिकाले शिक्षामा सुधार ल्याउने परियोजनाको सुरुवात गरेको छ । हाललाई बेथानचोक गाउपालिकाका २, ३ र ४ वडाका ३ वटा विद्यालयबाट शुरु गरिने परियोजनाले क्रमशः सवै विद्यालयमा पुग्ने लक्ष्य राखेको छ ।

शिक्षामा कचहरी परियोजना मार्फत समग्र शिक्षाको गुणस्तरमा परिर्वतन ल्याउने प्रयास थालिएको हो । फ्रिडम टु लर्न युकेको सहयोगमा बेथानचोकमा यहि भाद्र ५ गते बुधवार परियोजनाको समुद्घाटन गरिएको छ । कचहरी मार्फत विद्यालयलाई बालमैत्री र गुणस्तरीय शिक्षाका अनेकौ प्रयास हुनेछन् । मूलतः यस विधिबाट बालबालिकाहरुले आफ्नो दैनिक शिक्षा आर्जन गर्ने क्रममा घरमा, विद्यालय आउँदा जादा समुदायमा र कक्षाकोठामा उनीहरुकै नजरबाट के कस्ता समस्याहरु भोगीरहेका छन् भन्ने पत्ता लगाउने र ती समस्या समाधानमा विभिन्न सरोकारवालाहरुलाई परिचालन गर्ने गरिन्छ ।

साथै बालमैत्री विद्यालय संचालन र गुणस्तरीय शिक्षा संचालनमा पारदर्शिता, जवाफदेहिता, समावेशी र सहभागितामा वृद्धि गर्न कचहरी सहयोगी हुनेछ । सेवाप्रदायक र सेवाग्राहीबीच सेवाप्रवाहमा प्रभावकारितामा यसले विशेष भुमिका निर्वाह गर्नेछ ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले शिक्षामा कचहरीले समग्र बेथानचोक गाउँपालिकाको शैक्षिक, भौतिक तथा रचनात्मक विकासमा सहयोग पुयाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले भैरहेको शिक्षाको सुधारमा यसले लगनशिलता , धैर्यता,ईमान्दारिताको विकास गराउने बताउँदै समृद्ध बेथानचोकको अभिलाषालाई पुरा गर्ने बताउनुभयो ।

परियोजना कार्यान्वयनका लागि बेथानचोक गाउपालिकालाई लिएकोमा फ्रिडम टु लर्न नेपाललाई अध्यक्ष अधिकारीले कृतज्ञता व्यक्त गर्नुभयो । बेथानचोकमा परियोजनामा छनौट भएका विद्यालयले सिकेका कुराले समग्र बेथानचोक गाउँपालिकालाई सहयोग पु¥याउने भएकाले यसले दीगो विकास लक्ष्यमा समेत योगदान पुयाउने औल्याउनुभयो ।
यसले विद्यार्थी मात्रै नभएर समग्र शैक्षिक विकासमा शिक्षक, अभिभावक तथा समुदायसँग सम्बन्धित रहेर पढाईका अनेकौ अभ्यासहरु गरिने उहाँले स्पष्ट पार्नुभयो । विशेष गरेर कचहरी नाटकको माध्यमबाट समुदायको समस्या बाहिर ल्याउने र पढाईका अभ्यास हुने कुरा आफूले सुनेको र सुन्दा आफूलाई यो विधि सोचेको भन्दा प्रभावकारी हुने विश्वास लागेको उहाँले उल्लेख गर्नुभयो ।

सामुदायिक विद्यालयमा राज्यको करोडौै लगानी छ, तर विद्यालयमा विद्यार्थी संख्या घटिरहेको छ । कतिपय कक्षा रित्तो बन्ने अवस्थामा पुगेका छन् । बाँकी विद्यार्थीलाई गाउँमै रोक्ने वातावरण बन्न सकेन भने केही वर्षपछि विद्यालय नै रित्तो बन्ने अवस्था आउने सङ्केत देखिन थालेको अवस्थामा कचहरीले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तत्कालिन शिक्षा विभाग हालको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समेत शिक्षामा कचहरीलाई सकारात्मक र शिक्षण सिकाईको महत्वपुर्ण औजारको रुपमा लिएको छ । केही समय अगाडि यस केन्द्रमा अधिकृतको रुपमा कार्यरत गीता घिमिरले यो विधि नेपालको लागि निकै मौलिक रहेको भन्दै प्रशंसा गर्नुभएको छ ।
उहाँले शिक्षा क्षेत्रमा लामो समय काम गर्दा यो जस्तो विधि पहिले नदेखेको उल्लेख गर्नुभयो । उहाँको विचारमा शिक्षामा कचहरी मार्फत विद्यार्थी,शिक्षक, अभिभावक र समुदाय नै शिक्षामा सकारात्मक रुपान्तरण गराउनेछ ।

बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले बेथानचोक गाउँपालिकाले आफूलाई धेरै कुरामा सुधार ल्यााउन खोजेको उल्लेख गर्दै शिक्षा सुधारमा नौलो अभ्यास गरेको बताउनुभयो । उहाँले आफ्नो गाउँपालिकाको लागि यो नयाँ कार्यक्रम रहेको र यसले शैक्षिक विकासमा टेवा पुग्ने विश्वास गर्नुभयो । उहाँले नयाँ कुराको सिकेर त्यसलाई शैक्षिक सुधारको पक्षमा कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले यसलाई ठूलो अवसरको रुपमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै यो परियोजनापछि अरु विद्यालयमा पनि सिकाई आदानप्रदानमा सहयोगी बन्ने उल्लेख गर्नुभयो ।

बेथानचोक गाउँपालिकाको शिक्षा शाखाको प्रमुख पुष्पा राईले शिक्षा सुधारमा यस्तो कार्यले ठूलो योगदान पुयाउने उल्लेख गर्नुभयो । उहाँले यो कार्यक्रम आफूलाई नितान्त फरक र प्रभावकारी लागेको धारणा व्यक्त गर्नुभयो ।

फ्रिर्डम टु लर्न नेपालका अध्यक्ष शिक्षाविद् डा.निलमकुमार शर्माले शिक्षाको सुधार विना कुनै पनि सुधार हुन नसक्ने बताउनुभयो । उहाँले बेथानचोक गाउँपालिकामा शिक्षाको सुधारका लागि कचहरी मार्फत काम गर्ने उल्लेख गर्नुभयो । यसका लागि पालिकाले देखाएको तत्परताका लागि उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । आगामी दिनमा समेत यस्तै किसिमको तत्परता कायम रहिरहने अपेक्षा व्यक्त गर्नुभयो ।

फ्रिर्डम टु लर्न नेपालका महासचिव एंव राष्ट्रिय सभाका निर्वतमान सचिव राजेन्द्र फुयालले कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षामा कचहरीको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले जंगलको बाघ र गाउँमा बाख्रासंगै पालिएको बाघको कथा भन्दै जंगलको बाघमा हुने सिकार सम्वन्धी आत्मविश्वासको प्रसंग जोड्दै यो परियोजनाले बालबालिकालाई बाघजस्तै आत्मविश्वासी र निडर बनाउन मद्दत गर्ने कुरा बताउनु भयो । आफूहरुले ठूलो परियोजना लिएर नआएको बरु यहाँको समस्या र तिनको सम्भावित समाधान समेत पहिचान गरी स्थानीय स्तरमै त्यसको समाधानमा जोड दिने कुरा बताउनुभयो ।

फ्रिर्डम टु लर्न नेपालका प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण थापाले शिक्षामा कचहरी परियोजनाका बारेमा पावरप्वाइन्ट प्रस्तुती मार्फत विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । शिक्षाको सुधारमा अहिलेसम्म भएका उपलब्धी र शिक्षामा कचहरीले पारेको प्रत्यक्ष प्रभावको बारेमा आफ्नो प्रस्तुतीबाट स्पष्ट पार्नुभएको थियो । उहाँले यस परियोजना लामो समय रंगकर्ममा विताएर अनुभवले खारिएका व्यक्तित्व सुरेश चन्दले प्रमुख सहजकर्ता भूमिका निर्वाह गर्नुहुने समेत जानकारी गराउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत थापाले सन् १९७० को दशकमा ब्राजिलका अगष्टो बोयलले प्रतिपादन गरेको फोरम थिएटरलाई नेपालमा गुरुकुल नाटकघरले कचहरी नामाकरण गरी अभ्यासमा ल्याएकोमा टिमले यसलाई शिक्षा परिवर्तनको औजारको रुपमा प्रयोग गरिहेको कुरा राख्नुभयो । अगष्टो बोयलका अनुसार यो फोरम थियटरको विधिले समुदायमा जहाँ समस्या छ, समाधान पनि त्यहि हुन्छ भन्ने विश्वास राख्दछ । त्यसो हुँदा समाधान पनि त्यहिको मान्छेले गर्नुपर्दछ, बाहिरको मान्छेले आएर गर्दिदैन भन्ने विषयमा समेत यो विधिले जोड दिने गर्दछ ।
उहाँका अनुसार सन् २०१२ देखि हालसम्म १५ बढि विद्यालयमा यसको प्रयोग गरी शिक्षामा कचहरी Act on Education नामक स्रोत पुस्तिका समेत विकास गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा शिक्षामा कचहरी कार्यक्रम तीन चरणमा सञ्चालन गरिनेछ । पहिलो चरणमा हरेक हप्ता २५ जना बालबालिकाहरुलाई सहभागी गराएर विद्यालय अघि वा पछिको समयमा करिब २ घण्टाको कार्यशाला मार्फत बालबालिकाहरुले उनीहरुको घरमा, विद्यालय आउदा जादा बाटोमा र कक्षाकोठामा उनीहरुले के कस्ता समस्या भोगीरहेका छन् भन्ने कुराको पहिचान गरिनेछ । यस किसिमका कार्यशालाहरु १२ हप्तासम्म चल्नेछन् । तत्पश्चात आएका समस्याहरुलाई कचहरी नाटकमा परिणत गरी दोश्रो चरणमा कचहरी नाटक मञ्चन कार्यक्रम आयोजना गरी सरोकारवालाहरुलाई समावेश गराएर बालबालिकाहरुले उनिहरुकै नजरबाट देखेका ती समस्या समाधानका उपायहरु पत्ता लगाउन कोशिस गरिनेछ ।

उत्कृष्ट समाधानको उपाय र समाधान गर्ने सरोकारवाला पहिचान गरी उक्त कार्यक्रममा प्रतिवद्धता टिपोट गरिनेछ । तेश्रो चरणमा परियोजनाको टिम र सम्वन्धित विद्यालयले बालबालिकाहरुका ती समस्या समाधान भए नभएको निरन्तर अनुगमन गर्नेछ र यदि सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेको समयमा समाधान नभएको रहेछ भने छिटो समाधान गर्न उत्प्रेरित गर्नेछ ।

प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारी, वडा अध्यक्षहरु मधुसुदन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, राजकुमार लामा, कार्यपालिका सदस्यहरु, शाखाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । सोहि अवसरमा स्थानीय विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । शिक्षाको गुणस्तर सुधार तथा विद्यार्थीको सिकाई अभिबृद्धीमा परियोजनाले काम गर्नेछ ।

तपाईको प्रतिक्रिया