
आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले शुक्रबार प्रदेशस्तरिय सुरक्षा निकायका प्रमुखहरुलाई विपद खोज तथा उद्धार सामग्री हस्तान्तरण गर्नु भएको छ ।
बागमती प्रदेशको राजधानी हेटौडास्थित मन्त्रालयको सभाकक्षमा मन्त्री लामिछानेले नेपाली सेनाका सहायकरथी सुवासजंग थापालाई ५७ प्रकृतिका २५२ वटा सामान, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक गणेश ठाडामगरलाई ६२ प्रकृतिका १५२ वटा सामान र नेपाल प्रहरीका प्रहरी उपरिक्षक राकेश सिंहलाई ५६ प्रकृतिका १६२ वटा सामान हस्तान्तरण गर्नु भएको हो ।
सुरक्षा निकायलाई विपदको खोज तथा उद्धारमा सवल र सक्षम बनाउँदै लैजाने क्रममा ती खोज तथा उद्धारका सामग्री हस्तान्तरण गरिएका हुन् । मन्त्री लामिछानेले आगामी दिनमा पनि सुरक्षा निकायसँगको समन्वयमा अझै परिस्कृत र उन्नतस्तरमा सामग्री हस्तान्तरण गरी सुरक्षा निकायलाई विपदको खोज तथा उद्धार कार्यमा सक्षम बनाउँदै लगिने बताउनुभयो ।
मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीका अनुसार ४१ प्रकृतिका २५२ वटा सामान प्रदेश गोदामघरमा सुरक्षित राखिएको छ । ती सामाग्री आवश्यकता अनुसार सुरक्षा निकाय र विपदग्रस्त क्षेत्रमा पठाइने सचिव दर्जीले बताउनुभयो ।
अघिल्लो सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठको कार्यकालमा सुरक्षा निकायसँगको निरन्तर छलफल र समन्वय गरी विपद खोज तथा उद्धारका लागि ती सामग्री पहिचान गरिएको थियो । अव पनि सुरक्षा निकायका प्रमुखहरुसँग समन्वय गरेर नै थप सामानको पहिचान गरी आगामी बर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने मन्त्री लामिछानेले बताउनुभयो । मन्त्रालयले सशस्त्र प्रहरीलाई गोताखोर तालिम सञ्चालन गर्न पनि सहयोग गर्दै आएको छ ।
विपद व्यवस्थापन, जोखिम न्यूनीकरण र विपद प्रतिकार्य, प्रादेशिक विपद कोष स्थापना र सञ्चालन,स्थानीय विपद कोषमा सहयोग, विपद तथ्याङक व्यवस्थापन, अध्ययन तथा अनुसन्धान, विपद जोखिम क्षेत्र नक्शांकन र वस्ती स्थानान्तरण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र योजना तर्जुमा कार्यान्वयन र नियमनको काम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी भित्र पर्दछ ।
मन्त्री लामिछानेद्धारा विपद खोज तथा उद्धार सामग्री सुरक्षा निकायलाई हस्तान्तरण
2024-08-16T15:50:10+05:45

तपाईको प्रतिक्रिया