बनेपा÷पहिला पहिला भारतीय राज्य बिहारमा ट्रान्सफर्मर चोरिने गरेका समाचार सुन्दा अचम्म लाग्दथ्यो । कसरी त्यत्रो ठूलो सामान चोरिएको होला भनेर अनेकौ प्रश्न गरिथ्यो । तर काभ्रेमा विगत केही महिना यता ट्रान्सफर्मर चोरीएका घटना सामान्य जस्तै बन्न थालेका छन् । रोशी गाउँपालिका वडा नं ७ कटुञ्जेको ओम सत्य साई क्रसर उद्योगमा चोरी भयो ।
दुई महिना अघि मण्डनदेउपुर नगरपालिका वडा नं २ मा ट्रान्सफर्मर चोरी भएको थियो । विगतमा घर, पसलमा चोरी हुने गरेकोमा पछिल्लो समय काभ्रेपलाञ्चोक जिल्लामा चोरीमा संलग्न समूह विद्युत्को ट्रान्सफर्मर चोरीमा समेत सक्रिय भएको छ । पछिल्लो केही महिनामा जिल्लाका विभिन्न स्थानमा गरी छ वटा बिजुलीको ट्रान्सफर्मर चोरी भैसकेका छन् । खानेपानी आयोजना र विद्युत् प्राधिकरणको ट्रान्सफर्मर चोरी गरेको पाइएको छ । गत शुक्रबार राति अज्ञात समूहले बनेपा नगरपालिका–६, बुडोल खत्रीगाउँमा रहेको खत्रीगाउँ डिप बोरिङ खानेपानी आयोजनाको विद्युत् ट्रान्सफर्मरको बाहिरी फलामे भाग फालेर ट्रान्सफर्मरभित्र रहेको तामा र बिजुलीको तेल चोरी गरी लगेको थियो । यस्तै बनेपा नगरपालिका–६, बुडोलमा चोरी गरेको पर्सिपल्ट आइतबार राति नमोबुद्ध नगरपालिका–५ मा कानपुर खानेपानी आयोजनाको बिजुलीको ट्रान्सफर्मर चोरी भएको छ । नमोबुद्ध दाप्चामा पनि चोरी भएको स्थानीय गणेश तामाङले जानकारी दिनुभयो । श्यामपाटीमा रहेको खानेपानीको ट्रान्सर्फमर चोरीएको उहाँले उल्लेख गर्नुभयो ।
चोरीमा संलग्न समूहले कानपुरमा रहेको ट्रान्सफर्मरको बाहिरी भागलाई फालेर भित्र रहेको तामाको तार र बिजुलीको तेल लिएर गएको छ । नमोबुद्ध–५, कानपुरमा ट्रान्सफर्मर चोरीमा संलग्न समूहले चोरी कार्यमा ट्याक्सीको प्रयोग गरे पनि ट्याक्सी नम्बर समेत हालसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।
ट्रान्सफर्मर फुटाई त्यसभित्र रहेको तामा बोकेर आएको ट्याक्सी सोमबार बिहान करिब २ बजेको समयमा सडकमा फसेपछि स्थानीयवासीले उक्त ट्याक्सी धकेल्न सहयोग गरेका थिए । भोलिपल्ट बिहान गाउँमा बिजुलीको ट्रान्सफर्मर चोरी भएको हल्ला भएपछि मात्रै ट्याक्सी धकेल्न सहयोग गर्ने स्थानीयले ट्रान्सफर्मरमा रहेको तामा चोरी भएको जानकारी पाए ।
यसै गरी गत असार १७ गते तेमाल गाउँपालिका–५, गिम्दीमा रहेको सामुदायिक विद्युतीकरणको ट्रान्सफर्मर चोरी भएको थियो । सो स्थानमा पनि चोरीमा संलग्न समूहले तामाको तार र ट्रान्सफर्मरभित्र रहेको तेल चोरी गरेर लगेको थियो ।
नेपाल विद्युत् प्राधिकरण बनेपा वितरण केन्द्रका प्रमुख इन्जिनियर अमृत अधिकारीले केन्द्र मातहतमा रहेको बनेपाको बुडोल खत्रीगाउँमा साउन ४ गते र दुई÷तीन महिनाअघि नगरकोटमा रहेको विद्युत्को ट्रान्सफर्मर चोरी भएको बताउनुभयो । उहाँले एउटा विद्युत्को ट्रान्सफर्मरमा करिब एक सय किलोग्राम तामा रहने भएकाले चोरीमा संलग्न समूहले उक्त तामा चोरी गर्ने उद्देश्यले ट्रान्सफर्मर फुटाई त्यसभित्रको तामा चोरी गरेको हुन सक्ने बताउनुभयो । ५० किलो भोल्टको नयाँ ट्रान्सफर्मरको मूल्य करिब पाँच लाख रुपियाँ पर्ने उहाँको भनाइ छ । बजारमा प्रतिकिलोग्राम तामाको मूल्य दुई हजारदेखि दुई हजार दुई सयसम्म रहेको र पुरानो तामाको मूल्य एक हजार दुई सय रुपियाँभन्दा बढी छ । दुई÷तीन महिनाको अवधिमा जिल्लामा छ वटा विद्युत् ट्रान्सफर्मर चोरी भए पनि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न भने सकेको छैन ।
तपाईको प्रतिक्रिया