शिव र मधुको नयाँ गठबन्धन बनेकै हो

काभ्रे हेडलाईन टिम
असार लागेपछि नेपाली काग्रेस काभ्रेमा मिल्ती भै हाल्छ । १३ आंै महाधिवेशनको संघारमा असार १५ गते दही च्युरा खादै काभ्रेका कांग्रेसका ठूला नेता शिव हुँमागाई र मधु आचार्यले एकअर्कालाई आममाफी दिए । पानी बारबार भएको अवस्थामा नेताहरु मिलेपछि कार्यकर्ता अचम्ममा परेका थिए । दुई नेताको बारेमा अनेकौ गुनगान पनि गाइयो । एकताको कुरा पनि भए । निर्वाचनमा जित्ने र जिताउनेसम्मका टिक्का टिप्पणी गरियो ।
त्यसपछि पार्टीको आन्तरिक निर्वाचन, स्थानीय तहका चुनाव र आम निर्वाचनपनि भए । दही च्युरा खाएको दिनमा भएको मिल्ती धेरै दिन टिक्न सकेन । निर्वाचनअघि मिलेको जस्तो देखिएको सम्बन्ध निर्वाचनपघि कारवाहीको सिफारिससम्म पुग्यो । निर्वाचनमा अन्तरघात भएको भन्दै तीन जना नेता कारवाहीमा परे । नेपाली काग्रेस काभ्रेले तीन जनालाई कारवाहीको लागि सिफारिस गर्याे ।
कारवाहीको सिफारिसमा परेका नेता थिए तिनै मधु आचार्य, गणेश लामा र महेश खरेल । तीनै जना बहादुरले पार्टीको आन्तरिक निर्वाचनमा विजयी भएर दुई जना केन्द्रीयसदस्य र एक जना काभ्रेको प्रतिनिधिसभाको सभापतिमा निर्वाचित भएका थिए ।
काभ्रेको पार्टी कार्यालयमा जान रोकदेखि फोटो छोप्ने कार्यसम्म यो समयमा भयो । गुट उपगुृट र सामाजिक संजालमा आरोप प्रत्यारोपको अनेकौ श्रृंखला भए । नेताको झगडा कार्यकर्तासम्म पुग्यो । कार्यकर्तासम्म पानी बाराबारको अवस्था सृजना भयो ।
काभ्रेमा कांग्रेसको विवाद लामो समय चल्दैन भन्ने चिया गफलाई मिलाउन नेताहरुले फेरि असारनै रोजे । चिसिएको सम्बन्ध एक्कासी मिलनको बिन्दुमा आइपुग्यो ।

अघिल्लो असारमा दही च्युराले जोडेको सम्बन्ध अहिले भने नेविसंघको कार्यक्रमले जुरायो । कार्यक्रमका प्रमुख अतिथी थिए केन्द्रीय सदस्य शिव हुँमागाई । नेविसंघ काभ्रेको एक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुँमागाईले अन्तरघात गर्नेलाई माफी दिएको भाषण गरेपछि एकाएक कांगे्रसभित्रको आन्तरिक राजनीति गरमगरम चल्यो । त्यसपछि सुरुभयो सामाजिक संजालको फन्डा । तत्कालिन अवस्थामा कार्वाही गरिएका नेतासँग हुँमागाई बसेको फोटा हालेर प्रशंसाका गाना गाउन थाले । यसको भित्री कुरा न कांग्रेसलाई थाहा छ न त आम जनतालाई नै ।
करिब १८ महिनापछि कार्वाही गरिएका भनिएका नेतालाई कसरी आम माफी पाए त्यो भने चर्चा गर्न लायक बिषय बनेको छ ।  पत्रकार रोसन पाण्डेले सामाजिक संञ्जालमा राजनीतिमा हरेक कुरा संम्भव भएको भन्दै कारवाही गरिएका महेश खरेल र गणेश लामासँग बसेको फोटो सामाजिक संञ्जालमा साझा गरेका छन् । उनले भनेका छन् राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन । तस्बीरमा सबैको मुहारमा खुसी देखिन्छ । नेपाली कांग्रेसका केन्द्रीय नेतासँग राम्रोसम्बन्ध राख्ने पाण्डेले फोटो सार्वजनिक गरेसँगै काभ्रेको राजनीतिक माहौल एक्कासी तातियो ।
यो कुरा असली कांग्रेसका कार्यकर्तालाई चित्त बुझेको भने छैन । नेविसंघका पूर्व केन्द्रीय सदस्य मधुकर खनाल भाषणमै तीन शब्दको कार्वाही र फेरि दिल खुस भएपछि दुई शब्दको माफीले केही गर्न नसक्ने उल्लेख गर्छन् ।  नेपाली कांग्रेसका प्रतिनिधी सभाका सभापति समेत महेश खरेल मख्ख परेर बसेको र खुसीले गद्गद् भएको फोटो सार्वजनिक भएपछि दुख गर्ने एउटा र फल खाने अर्कै भनेर कटाक्ष गरेका छन् । उनले माओवादीको चरम द्धन्द्धमा खरेल अमेरिकामा ज्यान जोगाउन बसेको र नेपाल आएपछि लाभ नै लाभको पद मात्रै लिएको र अहिले आएर गल्ती गर्नेले माफी पाउन नहुने तर्क पेश गरे ।
आन्दोलनमा होमिदा मर्ने त हामी जस्ता कार्यकर्ता भएको भन्दै खनालले खरेलले नेपाली कांग्रेसमा योगदान नै नभएको तर्क पेस गरे । त्यसो पाँचखाल कम काठमाडौं ज्यादा बस्न रुची राख्ने खरेलको दोश्रो कार्यकाल अझ राम्रो बन्न नसकेको गुनासो आइरहेको छ । स्टन्ट गर्ने र प्रचारमै रमाउने खरेलको पहिलो कार्यकाल उत्कृष्ट भनेर एकलौटी प्रचार गरिएपनि दोश्रो कार्यकाल असफल बनेको चर्चा पाँचखालमै चुलिएको छ ।
गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अन्तरघात गरेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई जना केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न सिफारिस गरेको थियो । पानी बाराबारको अवस्थामा रहेका नेताहरुले किन माफी दिए त त्यो समयले नै बताउने छ ।
उनीहरुमाथि प्रतिनिधि सभा क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र जिल्ला सभापति तीर्थ लामालाई अन्तर्घात गरी असहयोग गरेको आरोप लागेको थियो । आचार्य र गणेश लामा निर्वाचन प्रचार अभियानमा एक दिन पनि मत माग्न नहिँडेको र उल्टै विपक्षी उम्मेदवारलाई मत मागेकाले कांग्रेस काभ्रेले उनीहरुलाई कारबाही गरी केन्द्रमा सिफारिस गरेको कांंग्रेस जिल्ला सभापति तिर्थ लामाले त्यतीबेला निर्णय गरेका थिए । कांग्रेसको जिल्ला कार्य समितिको बैठक आगामी साउन २ गते बस्दैछ । माफीको निर्णय गर्छ त भन्ने प्रश्नमा नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकालले यो बिषय व्यक्तिको नभएर सिंगो पार्टीको भएकाले पार्टीको बैठकले नै छिनोफानो गर्ने बताउनुभयो । उहाँले व्यक्तीले माफ दिने भन्ने बिषय हुँदैन त्यसबारे पार्टीले स्पष्ट निर्णय गर्छ ।

आफू मात्रै सदैव बलियो हुनुपर्ने हुँमागाई र आचार्यको गुण छ । नेपाली कांग्रेसमा तिर्थ लामाको उदय भएपछि नेताहरुको मिल्ती भएको चर्चा बजारमा छ । सिधै केन्द्रीय सभापतिसँग सम्बन्ध राख्ने र हुँमागाईलाई गन्न छाडेपछि लामालाई साइजमा ल्याउन नेताहरु फेरि मिलेको हुन सक्ने आकलन गरिएको छ । हुनत संसदीय राजनीतिमा निक्कै चतुर बहालबाला भएकै कारणले तिर्थसँग आरिष गर्ने कांग्रेसभित्र नै छन् । युवामाझ लोकप्रिय र आफ्नो निर्वाचन क्षेत्रमा सर्वमान्य नेता बनेपछि तिर्थलाई रोक्न यो नयाँ गठबन्धन बनेको भन्नेहरु पनि कांग्रेसमै छन् । तर फोटो  सार्वजनिक भएपनि के के कुरामा सहमति भयो भन्ने बारेमा थप कुरा बाहिर आएको छैन । आम माफीको घोषणा हुनु र एकले अर्काको अनुहार समेत नहेर्ने अवस्थाबाट कसरी एकै ठाउँमा बसेको फोटो सार्वजनिक भयो भन्ने प्रश्न उब्जिएको छ ।
यो कुरा तिर्थले बुझेका छन् की छैनन् त्यो समयले नै बताउला तर अहिलेको पार्टी भित्रको नयाँ गठबन्धनले तिर्थलाई अलग्याउने बिषय भने निश्चित नै छ । त्यसका लागि पुराना नेताहरु बीचको सहकार्य भएको देखिन्छ । तर आफैले सभापति बनाएको तिर्थको किन विश्वास गरनेन् त शिवले । यसको खास कारण पनि छ । सदैव सत्तामा रहन चाहने नेता शिव र मधु हुन् । अहिले तिर्थले सहजै नेताहरुले भनेको कुरा मान्दैनन् । सिधा सभापति शेरबहादुर देउवासँग सम्पर्क राख्न सक्ने भएकाले आफ्नो अस्तित्व जोगाउन दुई नेताको मिल्ती भएको चर्चा काग्रेस वृत्तमा चुलिएको छ ।

तपाईको प्रतिक्रिया