आगामी उपनिर्वाचनमा एमालेले जित्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा बैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेले इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा सदस्य दुवै ठाउँमा जित्ने बताउनुभएको छ । बझाङ काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रदेश सभा उपनिर्वाचनको विशेष भेलालाई सम्बोधन गर्दै ओलीले २०७९ को निर्वाचनमा एमालेले एमाले विरुद्धको गठबन्धन बेहोरेर आएको बताउनुभयो । अहिले खुल्ला प्रतिस्पर्धा भएकोले एमालेले चुनाव जित्ने ओलीले दाबी गर्नुभयो ।

‘यस पटक हामी हार्दैनौँ, यस पटक हामी जित्छौँ र यस पल्ट हामीले हार्नै मिल्दैन’, ओलीले भन्नुभयो । विगतमा सबै एकातिर, एमाले एकातिर भएको, एमालेका हस्ती भनिएका नेताहरू पार्टी फुटाएर एमाले विरुद्ध चुनाव लडेका ओलीले स्मरण गर्नुभयो । त्यस्तो परिस्थितिमा पनि नेकपा एमालेले एक्लै चुनाव लडेर सर्वाधिक लोकप्रिय पार्टी बनेको ओलीले बताउनुभयो । सो निर्वाचनमा कांग्रेले केही ठाउँमा निर्वाचन कब्जा गरेर संसदीय अंकगणितमा एमालेको भन्दा केही बढी सिट प्राप्त गरेको ओलीले बताउनुभयो ।

कांग्रेसले चुनावमा धाँधली गरेर बल्ल बल्ल एमालेको भन्दा केही बढी सिट लाएको उहाँको भनाइ छ । के होला के होला भन्ने अवस्थामा समेत एमाले सर्वाधिक मत ल्याएको उहाँले बताउनुभयो । त्यस बेला बझाङमा दौडमा जितेको नभई एमालेलाई डोरीमा अल्झाई लडाएर चुनाव जितको उहाँले टिप्पणी गर्नुभयो । ओलीले एकताबद्ध भएर चुनाव लाग्न र अघि बढ्न आग्रह गर्नुभयो । कहिल्यै नभएको ऊर्जा लगाएर चुनावमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

बैशाख १५ गते आउन धेरै समय बाँकी नरहेको भन्दै चुनावमा लागिहाल्न उहाँले निर्देशन दिनुभयो । ‘हामी जित्ने छौँ बैशाख १५ गते’, उहाँले भन्नुभयो । इलाम–२ मा एमालेले अत्याधीक बहुमतले जित्ने पनि उहाँले दाबी गर्नुभयो ।

सुवास नेम्वाङको निधनबाट रिक्त हुन आएको क्षेत्रमा चुनाव लड्न लागेको बताउँदै ओलीले हिजो सबै मिल्दा पनि एमालेले एक्लै लडेर चुनाव जितेको स्मरण गराउनुभयो । यस पटक इलाममा हाम्रो कोही प्रतिस्पर्धी छैन, हामी जित्छौँ’, उहाँले भन्नुभयो । बझाङमा पनि कांग्रेसले माओवादी र समाजवादीको भोटले २०७९ सालको चुनाव जितेको बताउँदै ओलीले यस पटकको निर्वाचनमा अन्तिममा पुग्दासम्म माओवादीले एमालेलाई समर्थन गर्ने ओलीले विश्वास व्यक्त गर्नुभयो । यदि ती निर्वाचन क्षेत्रमा एमालेको भन्दा माओवादीको भोट बढी भएको भए एमालेले माओवादीलाई खुल्ला दिलले समर्थन गर्ने ओलीले बताउनुभयो ।

माओवादीको भन्दा एमालेको बढी भोट भएकोले एमालले छाड्न नमिल्ने ओलीको धारणा छ । यस पटक कतै पनि बुथ कब्जा नहुने ओलीले बताउनुभयो । एमाले हुँदा हुँदै बुथ कब्जा हुन नदिने उहाँले प्रष्ट पार्नुभयो । हरेक बुथमा २ सयका दरले युवालाई परिचालित हुन उहाँले आग्रह गर्नुभयो । ‘युवा परिचालन विचारले हुनुस्, बोतलबाट होइन’, उहाँले भन्नुभयो । ओलीले चुनावमा फजुल खर्च नगर्न आग्रह गर्नुभयो । पार्टीको चुनाव भएकोले सबैलाई खट्न उहाँले आग्रह गर्नुभयो । चुनावमा हरेकलाई आफ्नो तर्फबाट योगदान गर्न ओलीले निर्देशन दिनुभयो । सबैले सहयोग गरेर चुनावलाई पार लगाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले चुनावको बेलमा कुनै पनि नेता र उम्मेदवारको कुनै प्रकारको आलोचना वा टिप्पणी गर्न नमिल्ने ओलीले बताउनुभयो । केही असन्तुष्टि छन् भने चुनाव पछि छलफल गरिने उहाँले प्रष्ट पार्नुभयो । पार्टी भित्र एकता र विराेधीसँग प्रतिस्पर्धा गर्न उहाँले निर्देशन दिनुभयाे ।

तपाईको प्रतिक्रिया