विश्व मुवाँथाइ खेलमा नेपाललाई स्वर्ण

नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले १९औँ मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण जित्नु भएको छ । थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा गुणराजले इटालीका ग्राभियल ओलारिउलाई हराउँदै स्वर्ण जित्नुभएको

नेपाल राष्ट्रिय मुवाँथाई सङ्घका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिनुभयो । नेपाली खेलाडीले सेमी प्रो स्पर्धामा स्वर्ण जितेको यो पहिलो पटक हो । विश्व च्याम्पियनसिपको आठौँ सहभागितामा गुणराज स्वर्ण जित्न सफल हुनुभएको हो । यसअघि पलिस्था कक्षपतिले सन् २०१९ तथा सञ्जय राईले सन् २०१७ मा भएको विश्व च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो । पलिस्था र सञ्जयले एमेच्योरतर्फ स्वर्ण जित्नुभएको थियो ।

विश्व च्याम्पियनसिपको १९औँ संस्करणमै परिका बतासले पनि स्वर्ण जित्नुभएको छ । एमेच्योरतर्फ महिला ४५ केजीमा परिकाले तीन पटककी विश्व च्याम्पियन मरिसियसकी रानीनी कुन्डास्वामीलाई हराउँदै स्वर्ण जित्नुभएको हो । यस्तै एमेच्यारतर्फ पुरुष ५१ केजीमा सुशील शाह ठकुरीले रजत तथा ५७ केजीमा गुमान घर्तीमगरले कांस्य जितेको मुवाँथाई सङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया