राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा रहेको धार्मिक सद्भाव, सहिष्णुता र प्रजातान्त्रिक तथा उदार चरित्र विश्वका लागि अनुकरणीय दृष्टान्त भएको बताउनुभएको छ ।
मुस्लिम आयोगको पाँचौ वार्षिक स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । “मैले अस्ती हिन्दुहरूको पवित्र मन्दिर जलेश्वर महादेवको दर्शन गरें । हिजो बौद्ध धर्मावलम्वीहरूको पवित्र मन्दिर स्वयम्भूनाथको दर्शन गर्न गएँ र आज मुस्लिम समुदायबिच आएको छु” राष्ट्रपति पौडेलले भन्नुभयो, “नेपाली समाज कति सहिष्णु, कति सद्भावपूर्ण र प्रजातान्त्रिक उदारतापूर्ण छ भन्ने यो दृष्टान्त विश्वले अनुकरण गर्नेखालको छ ।” संविधानको यही भावनाको संरक्षण गर्नु नै सबै नेपालीको घर्म भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले राज्यका हरेक निकायमा सहभागिताको समान अवसर प्रदान गरेर सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भए मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
समानुपातिक समावेशीताको आधारमा मुस्लिम समुदायलाई संविधानप्रदत्त राजनीतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चितताको लागि कानुनी व्यवस्था गर्ने तथा तीनै तहको सरकारबाट विशेष नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याइनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
“सबै तह र निकायका सेवा प्रदान गर्ने क्षेत्रमा नेपाली मुस्लिम समुदायको सहभागिताको समान अवसरका लागि उपयुक्त नीतिगत र कानुनी प्रयास गरिनु आवश्यक छ भन्ने मैले ठानेको छु” उहाँले भन्नुभयो । नेपालको संविधान विश्वका उत्कृष्ट संविधानमध्ये एक रहेको र यसले सबै जातजाति, भाषा, धर्म, समुदाय, वर्ग, क्षेत्रको लागि समान हक तथा अधिकारको व्यवस्था गरेको बताउँदै यसको व्यावहारिक कार्यान्वयनका लागि सबैलाई अपिल गर्नुभयो ।
राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको र नेपालमा सदिऔंदेखि सबै जातजाति, भाषा, धर्म र समुदायबिच आपसी सद्भाव, एकता र सहिष्णुता रहँदैआएको बताउँदै यो हाम्रो लागि गौरवको विषय भएको स्पष्ट गर्नुभयो ।
मुस्लिम समुदायको हक हितको संरक्षण, सम्वर्धन तथा सशक्तिकरणका माध्यमबाट सिङ्गो मुस्लिम समुदायको वृहत्तर विकासका लागि नेपालको संविधानमा मुस्लिम आयोगको व्यवस्था गरिएको उहाँको भनाइ छ ।
“संविधान र कानुनले निर्दिष्ट गरेका कार्यभारलाई प्रभावकारी रुपमा सम्पादन गरी समग्र मुस्लिम समुदायको उन्नति र प्रगतिका लागि आयोगले आफ्नो भूमिकालाई आगामी दिनमाा अझै सशक्त र प्रभावकारी बनाउनेनै छ भन्ने मैले विश्वास लिएको छु” राष्ट्रपति पौडेलले भन्नुभयो । आयोगले यो समुदायको हक हितको संरक्षण, धार्मिक, सांस्कृतिक र शैक्षिक धरोहरको विकास, संरक्षण र अध्ययन अनुसन्धान गरी विभिन्न नीतिगत, कानुनी र संस्थागत सुझाव तथा सिफारिस सरकार समक्ष प्रस्तुत गरी कार्यान्वयन अवस्थाको अनुगमन गर्ने, विभिन्न किसिमका क्षमता विकास र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो ।
मुस्लिम समुदायको अहिले चलिरहेको रमजान महिनाको रोजा व्रतको अवसरमा रमजानको शुभकामना तथा मुवारक व्यक्त गर्दै राष्ट्रपति पौडेलले मुस्लिम समुदायको अधिकार प्रवर्धन, क्षमता विकास र सशक्तिकरणको कार्यक्रम तर्जुमा गरी प्रभावकारी कार्यान्वयनमा ल्याउन आयोगले थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले सर्बोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान लगायतलाई सम्मान गर्नुभयो ।
तपाईको प्रतिक्रिया