
पनौती÷हातमा गनिन सक्ने नेपालकै सफल र राम्रा सहकारीको रुपमा स्थापित सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौतीले, काभ्रेपलाञ्चोकले स्थापनाको ३० औँ एंव संस्था एकीकरण अभियानको प्रथम स्थापना दिवस आईतबार मनाएको छ ।
सहकारी अभियानसँग जोडिएका व्यक्तित्व, संचारकर्मी, सामुदायिक साकोसका सेयर सदस्य, जनप्रतिनिधीसँगै बामगती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार मर्हजनको उपस्थितीमा सो सहकारीले आफ्नो जन्मोत्सवलाई भव्य रुपमा मनाएको हो ।
संस्थाका अध्यक्ष प्रकाश बञ्जाराले सहकारीले समुदायका हितका लागि गरिरहेको कार्यको स्थापना दिवसको अवसर पारेर चर्चा गर्नुभयो । उहाँले सहकारीले लम्पी स्किन रोगबाट पिडित किसानलाई राहत उपलब्ध गराएको थियो । त्यस्तै बीमा कार्यक्रम मार्फत बीमित पशु मरेपछि एक बर्षमा मात्रै ६४ लाख रुपियाँको क्षतिपुर्ती उपलब्ध गराएको अध्यक्ष बञ्जाराले उल्लेख गर्नुभयो ।
अध्यक्ष बञ्जाराले सहकारीको सबैभन्दा सुखद पक्ष नै सदस्यको विश्वास रहेको बताउँदै ५९ हजार ९ सय ६७ जना शेयर सदस्यको विश्वासले नै सहकारीले यो अवस्थासम्म आइपुगेकोमा खुसी व्यक्त गर्नुभयो । सहकारीले सामुदायिक विकास कोषबाट विभिन्न कार्यहरु गर्दै आएकोमा सदस्य पनि औधी खुसी भएका छन् । मण्डनदेउपुर नगरपालिका वडा नं ३ बल्देउका कृष्णप्रसाद बजगाईले आफूले सर्वसुलभ रुपमा ऋण लिएको सो ऋणबाट पशुपालन व्यवसाय संचालन गरिरहेको बताउनुहुन्छ । उहाँले आफू सो सहकारीको सेवादेखि निक्कै खुसी रहेको बताउनुहुँदै एउटा भरपर्दाे वित्तिय सहयोगीको रुपमा सामुदायिक साकोसलाई पाएको बताउनुभयो ।
उहाँको तर्कसँग अध्यक्षको मन्तव्यको समेत मेल खान्छ । अध्यक्ष बञ्जाराले सामुदायिक विकास कोषबाट समुदायमा आधारित विभिन्न कार्यमा सहयोग पु¥याउँदै आएको दाबी गर्नुभयो । उहाँका अनुसार सदस्यहरुको सुरक्षाका लागि बीमाको सेवा उपलब्ध गराएर सदस्यले निक्कै्र लाभ लिएका छन् । निर्जिवन बीमा र जीवन बीमा मार्फत सदस्यहरुलाई हुने क्षतिमा केही भएपनि राहत प्रदान गरिएको छ ।
सहकारीको ३० बर्षको लामो यात्रामा सहकारीको उन्नती र प्रगतीमा सहयोग गर्ने एक सयभन्दा धेरैलाई सम्मान गरेर सहकारीले नयाँ कार्यको थालनी समेत गरेको छ ।
सहकारीकर्ममा रमाएका र सहयोग गरेका धेरै क्षेत्रका १०७ जनालाई सम्मान सहित पुरस्कार वितरण गरेको हो । ३० वर्ष अघि ३२ हजार ५ सय रुपैया पुँजी सहित ४१ जना शेयर सदस्यबाट शुरु भएको सामुदायिक सहकारीले संस्थामा अहिले १७ वटा संस्था एकीकरण भएर विसाल सहकारीको स्वरुप धारण गरेको छ । ५९ हजार ९ सय ६७ जना शेयर सदस्यबाट ६ अर्ब १४ करोड ९७ लाख ३३ हजार ९ सय २३ रुपियाँको कूल सम्पत्ति जोडेको सहकारीले आफूलाई बचत तथा ऋण कार्यक्रममा मात्रै सिमित गरेको छैन ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाले सामाजिक सुरक्षा,समवेदना राहत, पारिवारीक समवेदना राहत, सदस्य स्वास्थ्य उपचार राहत, जटिल रोग उपचार सहयोग तथा प्रकोप राहत उपलब्ध गराउँदै आएको बताउनुभयो ।
उहाँका अनुसार बाल, खुत्रुके, उच्च शिक्षा बचत १६ विशेष, दैनिक, सुनौलो अवसर, आवधिक, संक्रान्ति तथा उपदान बचत मुख्य हुन् ।
कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष सुर्य मानन्धरको स्वागत मन्तव्य राख्नुभयो । त्यस्तै सचिव मुकुन्द शर्मा वाग्लेले संचालन गर्नुभएको थियो । स्थापना दिवसमा बोल्दै प्रदेश मन्त्री पुकार मर्हजनले सामुदायिक सहकारीको प्रशसा गर्नुभयो । उहाँले अब्बल सहकारीको रुपमा रहेको सामुदायिकले सहकारी अभियान कै नेतृत्व गरेको बताउनुभयो ।
स्थापना दिवसमा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले सहकारी अभियानमा काभ्रेले गरेको योगदानको चर्चा गर्नुभयो । सो कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, नेफ्स्कुनका कोषाध्यक्ष दिपक थापा, बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष उदयराम कायस्थ, पनौती नगरपालिका सहकारी रजिस्ट्रार इन्द्र प्रसाद अधिकारी लगायतकाको उपस्थिती थियो ।
सामुदायिकले सुरु ग¥र्याे उपदान बचत
सामुदायिक साकोसले १५ र २५ बर्षसम्मको लामो बचत योजना सार्वजनिक गरेको छ । मन्त्री महर्जनले सो बचत योजना सार्वजनिक गर्नुभयो । सो बचत अन्तरगत मासिक एक हजार बचत गर्दा १५ बर्षमा एकमुष्ठ तीन लाख ८० हजार र २५ बर्षमा एकमुष्ट १० लाख रुपियाँ उपलब्ध गराइनेछ ।
ाष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य टेक प्रसाद चौलागाईंले सामुदायिक नामैले र कामैले समुदायमा आधारित रहेर सहकारीको हरेक क्षेत्रमा आफुलाई अब्बल रुपमा स्थापित गर्न सफल रहेकोमा हार्दिक बधाई दिनुहुँदै संस्थाले सदस्य हितका कार्य सँगै एकीकरण अभियान समेतमा सधैं उत्कृष्टता हासिल गर्न सफल रहोस भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।
संस्थाको स्थापना दिवसको अवसरमा सहकारी अभियानको शिर्षस्थ संघ राष्ट्रिय सहकारी संघ लि.र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को हालै सम्पन्न निर्वाचनबाट निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रममा सहकारी अभियानको जिल्ला स्तरिय संघ जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकको अध्यक्ष पदमा रही जिल्लामा सहकारी अभियानलाई गुणस्तर विकास, सुदृढिकरण तथा शुद्धिकरणमा अग्रणी स्थानमा पु¥याउन सफल रहि राष्ट्रिय सहकारी महासंघबाट वर्ष २०८० को उत्कृष्ट संघको रुपमा पुरस्कृत गराउन सफल हुनु भएकोमा अध्यक्ष दिलिप शर्मालाई सम्मान पत्र र नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा यस संस्थासँग एकीकरण भएका संस्थाहरुलाई एकीकरण गर्न÷गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने साथै जिल्ला र राष्ट्रमा समेत सहकारी सम्वन्धि महत्वपूर्ण भुमिकामा समन्वयकारी भुमिका निर्वाह गर्दै आउनु भएका श्री मुकुन्द प्रसाद दाहाललाई नगद र प्रमाणपत्र सहित सहकारी एकीकरण अभियन्ताको सम्मान प्रदान गरिएको थियो भने संस्थाको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा रहि योगदान गर्नुभएका संस्थाका पूर्व सञ्चालक तथा लेखा समितिका पदाधिकारीहरु साथै एकीकरणका लागि आफ्नो पद तथा जिम्मेवारी त्याग गरी एकीकरण सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका एकीकरण भएका साविक ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. र साविक युवा बचत तथा ऋण सहकारी संस्था लि. का पूर्व सञ्चालक तथा लेखा समितिका पदाधिकारीहरु पूर्व सञ्चालक विधा अन्तर्गत सम्मान गरिएको थियो ।
संस्थाको स्थापना दिवसको अवसरमा छात्र र छात्रा गरी ४ जनालाई उत्कृष्ट एस.ई.ई. सम्मान, ४ जनालाई सामुदायिक छात्रवृत्ती, १ जनालाई जगतमाया कर्माचार्य छात्रबृत्ती, ८० वर्ष भन्दा माथिका ३३ जना जेष्ठ सदस्य सम्मान, उत्कृष्ट शेयर खरिदकर्ता, संस्थाका मुख्य कार्यालय लगायत सेवाकेन्द्रहरुबाट १५ जना उत्कृष्ट बचतकर्ता सदस्यहरु, नियमित रुपमा किस्ता भुक्तानी गर्नुहुने १५ जना उत्कृष्ट ऋणी सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा वर्षको उत्कृष्ट सेवाकेन्द्रको रुपमा ग्रामिण स्वाबलम्बन सेवाकेन्द्र र वर्षको उत्कृष्ट कर्मचारीको रुपमा धुनिदेवी नमोबुद्धका ऋण सहायक पदमा कार्यरत कर्मचारी सुदर्शन चिमोरिया पुरस्कृत हुनुभएको थियो ।
संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष प्रकाश बञ्जाराले संस्थाले मन्तव्यसँगै प्राप्त विचारहरुलाई सुझावको रुपमा ग्रहण गर्दै निरन्तर कार्यान्वयमा लैजाने प्रतिवद्धतासँगै एकीकरण भएका र हुने संस्थाहरुलाई समुदायिकको नीति, विधि र प्रविधिमा एकवद्ध गराउँदै अवका दिनमा शुद्धिकरण र सुदृढिकरण सहित अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुहुँदै सदस्यहरुको भावि आर्थिक सुरक्षाको लागि सदस्यमैत्री सेवा उपलब्ध गराउने उद्देश्यका साथ ३० औं स्थापना दिवसको दिनबाट सूरुवात गरिएको सामुदायिक उपदान बचतमा सबैलाई सहभागि हुनको लागि आग्रहका साथ संस्थाको निमन्त्रणालाई स्विकार गरी स्थापना दिवस कार्यक्रमलाई भव्य रुपमा सफल पार्नको लागि उपस्थित भईदिनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नुहुँदै सभाको समापन भएको घोषण गर्नुभएको थियो ।
संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गर्नु भएको कार्यक्रममा पानौती नगरपालिका उप–प्रमुख गिता बन्जारा, जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत संघ लिमिटेडका अध्यक्ष उदयराम कायस्थ, पनौती नगरपालिका वडा नं.४ का अध्यक्ष श्र दीपक प्रसाद दाहाल, पनौती नगरपालिकाका वरिष्ठ प्रसाशकीय अधिकृत एवं स्थानीय सहकारी रजिष्ट्रार इन्द्र प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका उपाध्यक्ष बिनोद न्यौपाने र महिला उपाध्यक्ष सुनिता सापकोटा, पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष नारायण सापकोटा लगायत पत्रकार, नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिना, पनौती प्रहरी चौकीका प्रमुख, सामुदायिक बोर्डिङ स्कुलका प्रिन्सिपल पूर्ण कुमार श्रेष्ठ र सचितिर्थ त्रिवेणी गुरुकुलका पण्डित अच्यूत भट्टराई लगायतका महानुभावहरु अतिथिको रुपमा रहनु भएको थियो भने सञ्चालक समिति सदस्यहरु लेखा सुपरीवेक्षण समितिका सदस्यहरु लगायत विषयगत उप–समिति र सेवाकेन्द्र व्यवस्थापन उप–समितिका संयोजक तथा सदस्यहरुको सहभागीता रहेको थियो ।
स्थापना दिवसको अवसरमा सोहि दिन संस्थाले आफ्नो मुख्य कार्यालय प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४१ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । स्थापना दिवसकै अवसरमा सामुदायिक साकोसको पनौती सेवाकेन्द्रको आयोजनामा पनौती स्थित पवित्र इन्द्रेश्वर मन्दिर परिसरमा सञ्चालक तथा लेखा समितिका पदाधिकारी, कर्मचारी एवं अन्य अतिथिहरुको उपस्थितिमा दीप प्रज्ज्वलन गरी समस्त चराचर जगत र विश्वशान्तिको कामना गर्दै संस्था एवं सदस्यहरुको सामाजिक एवं आर्थिक उन्नति प्रगतिको कामना समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया