पनौती÷पनौती नगरपालिका वडा नं ५ सुन्दरबस्ती चौकेट हाईटका स्थानीयलाई पछिल्लो समय चिन्ताले निक्कै सताएको छ । आफ्नो आस्था, भरोसा र विश्वासको केन्द्रको रुपमा रहँदै आफ्ना पुर्खाले चार सय बर्षदेखि पुज्दै आएको मन्दिर पहिरोले बग्ने भएपछि चिन्ताले छोपेको हो । त्यो पहिरो प्राकृतिक नभएर मानव सृजित हो । मन्दिर वरिपरी पल्टीङ गरिएपछि मन्दिर पहिरोको उच्च जोखिममा परेको हो ।
पनौती नगरपालिकाले यसअघि पटक पटक के र कस्तो विकास चाहिन्छ भनेर सोध्दा त्यहाँका स्थानीयले कालीमन्दिरको पुनः निर्माण होस् भन्ने सामुहिक माग राखेका थिए । त्यसैको आधारक अघिल्लो बर्ष पनौती नगरपालिकाको आर्थिक सहयोगमा १५ लाख रुपियाँ सहयोग भएपछि मन्दिरको पुनः निर्माण गरिएको थियो ।
मन्दिरको नाममा छ रोपनीभन्दा धेरै जग्गा पनि छ । तर केही समययता मन्दिर पहिरोको जोखिम परेपछि स्थानीयमा चिन्ता बढेको छ । मन्दिर जोगाउन सुरक्षित पर्खाल लगाउन अनुरोध गर्दै उनीहरु वडा कार्यालय, नगर कार्यपालिकाको कार्यालयसम्म पुगेका छन् । पल्टीङ गर्ने कम्पनीलाई मन्दिर सुरक्षित बनाउन पटक पटक अनुरोध समेत गरेपनि सुनुवाई नभएपछि उनीहरुमा चिन्ता झनै बढेको छ ।
स्थानीय सुन्दरबस्ती इनपावरमेन्ट युवा क्लवका अध्यक्ष समेत रहेका सन्देश थापाले पटक पटक अनुरोध गरेपनि मन्दिर जोगाउने बारेमा ठोस प्रयास नभएकोमा चिन्ता व्यक्त गर्नुभयो । तर उहाँले स्थानीय सरकारले आफ्नो माग सुन्ने आशा भने व्यक्त गर्नुभयो ।
पनौती नगरपालिकाका उपप्रमुख गिता बञ्जाराले आफूले सो स्थानको स्थलगत निरीक्षण गरेको र मन्दिर उच्च जोखिममा परेकाले त्यसलाई जोगाउन के गर्न सकिन्छ भनेर प्राविधिकसँग आवश्यक परामर्श गरिरहेको बताउनुभयो ।
उहाँले नगर प्रमुख, वडा अध्यक्ष, प्राविधिक बसेर नगरको लगानीमा निर्माण भएको मन्दिर जोगाउन अधिकतम् प्रयास थाल्ने उल्लेख गर्नुभयो ।
स्थानीय युवा क्लव सुन्दरबस्ती इनपावरमेन्टका युवाले समेत मन्दिर जोगाईदिन सरोकारवाला निकायसँग पटक पटक माग गरेका छन् । उनीहरुले वडा कार्यालय,नगरपालिकाको कार्यालय पुगेर निवेदन दिएका छन् ! सो क्लवका युवाहरु पछिल्लो समय सोही कार्यका लागि एकीकृत भएर दबाब समेत दिई रहेका छन् !
आउँदो बर्षासम्ममा पर्खाल लाउन सकेन भने मन्दिर लड्ने चिन्ताले उनीहरु राम्रोसँग निदाउन समेत सकेका छैनन् ।
छेवैमा केयूको जग्गा पनि भएकाले आफ्नो जग्गाको संरक्षणको माग स्थानीयको छ । स्थानीयका अनुसार सो स्थानको माटो झिकेर एयरपोर्टमा लाने भन्दै अन्धाधुन्ध तरिकाले मेशिनको प्रयो गरिएका छन् । जसको कारण हरियो जमिन कुरुप बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया