राजा महाराजाले मात्र गर्न सक्ने कोटीहोम काभ्रेमा गरिदै

बनेपा÷धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले काभ्रेबाट रथ यात्राको थालनी गरिएको छ । पञ्चाङ निर्णायक समितिको साइतअनुसार वैशाख २० गतेदेखि नियमित रुद्री पाठ गरेपछि सोमबार एकादशीको तिथि पारेर काभ्रेपलाञ्चोकको पावन धाम चण्डेश्वरी मन्दिरबाट रथयात्रा थालिएको हो ।
नेपालका ७७ जिल्लामा रहेका प्रमुख धार्मिकस्थलको भ्रमण सकेर आगामी माघ शुक्ल पक्षदेखि बल्थलीको लड्केश्वर महादेव मन्दिर परिसरमा कोटीहोम गर्ने उद्देश्य राखिएको छ । लड्केश्वर महादेव परिसरमा २० हजार किलो फलामको प्रयोग गरेर नेपालकै ठूलो त्रिशुल बनिसकेको छ भने अब फागुनमा कोटीहोमको आयोजना गरिदै छ ।
रथका लागि प्रयोग भएको च्यासिसदेखि साजसज्जाका लागि एक करोड रुपियाँको खर्च गरिएको छ । तीन महिना लगाएर रथ निर्माण गरिएको छ । रथ आगामी फागुनमा काभ्रे फर्किनेछ ।
कोटीहोमलाई आवश्यक पर्ने एक लाख किलो चरु कम्तिमा एक जिल्लाबाट एक हजार पाँच सय केजीको दरले सङ्कलन गर्ने उद्देश्य समेत राखिएको छ । त्यसरी सङ्कलन गरिएको चरुलाई पछि ट्रकमा राखेर काभ्रे ल्याइनेछ । त्यो संम्भव नभएमा एक लाख किलो चरु काभ्रेमै खोजी गर्ने लक्ष्य आयोजकको छ ।
झटट् हेर्दा एउटा सिंगो मन्दिरजस्तो देखिने रथमा सुरक्षाका लागि सिसी क्यामेरा, मन्दिरभित्र शिव मन्दिर र भगवानका आकृती राखिएका छन् । ३९ लाख रुपियाँमा खरिद गरिएको बसमा सजावट र बसभित्र मन्दिर निर्माणमा मात्रै ६० लाख रुपियाँ खर्च भएको आयोजक समितिका मुकुन्द पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छ सय जना दाताले पाँच हजार एक सय रुपियाँ र ३३ जनाले ५१ हजार रुपियाँको प्रत्यक्ष सहयोगमा रथ तयार गरिएको हो । रथयात्राको उद्देश्य कोटीहोम हो ।
एक महिनासम्म ब्राह्मणबाट हुने यज्ञमा एक लाख केजी चरु होम गरिने कोटीहोम संकल्पकर्ता मुकुन्द शर्मा हुँमागाईले बताउनुभयो । जौ, चामल, तिल र गाईको घ्युको समिश्रणबाट बन्ने चरु एक किलोको लागि आवश्यक पर्ने समिदा, ब्राम्हणको भोजन, दक्षिणा, भजन किर्तनका लागि लाखौं रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । ती सबै सामानको जोहो आमनागरिकले नै गर्ने प्रतिज्ञा गर्नुभएकाले कोटीहोम सम्भव रहेको उहाँले दाबी गर्नुभयो ।
परापूर्वकालमा कोटीहोम राजा महाराजाले मात्रै गर्न सक्ने मान्यता थियो । आम मानिसले कोटीहोम गर्न सम्भव थिएन । रथ निर्माणको प्रकृयामा यातायात व्यवस्था विभागबाट र गृह मन्त्रालयबाट अनुमति लिएर रथ यात्राको सुरुवात गरिँदैछ ।

तपाईको प्रतिक्रिया