पर्यटक तान्दै रोशीको डम्फु

बनेपा÷काठमाडौंबाट सिन्धुलीतर्फ जाँदा धुलिखेलबाट करिब ४० किलोमिटरको दूरी बी.पी. राजमार्गको बायाँतर्फ एउटा ठूलो आकारमा डम्फु बनाइएको छ । डम्फु पार्क नै नामकरण गरिएको आकर्षक देखिने यो डम्फु काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ कालो ढुङ्गा र रोशी खोलाको किनारमा छ ।

यो डम्फु काभ्रेपलाञ्चोक जिल्लाको पर्यटन भित्राउने एउटा आधार बन्न सक्ने आंकलन गरिएको छ । तत्कालिन रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाको योजनामा निर्माण भएको डम्फ आकर्षक छ । तामाङ जीवन्त संग्राहलयको प्रारुप अनुसार सो डम्फुको निर्माण गरेको लामाले बताउनुभयो ।

उहाँले यो डम्फु संसारकै ठूलो रहेको र निर्माणपछि आफ्नो दाबी सबै क्षेत्रमा गर्ने बताउनुभयो । डम्फु३२ फिट अग्लो र गोलाइ पनि ३२ फिट छ । पार्कको क्षेत्रफल २२१ रोपनी छ ।

अझै यहाँ निर्माणकार्य हुन बाँकी छ र यस्तै शैलीको तामाङ संस्कृति झल्किने ढिकी, जाँतो आदि पनि बनाइनुको साथै पार्क, बगैँचा लगाएर विभिन्न भवनहरू निर्माण हुने क्रममा छ । डम्फु तामाङ संस्कृतिको प्रमुख बाजामध्ये एक हो । अब यही स्थलमा तामाङ समुदायको विभिन्न चाडपर्व मनाइनेछ । केही समयमा एउटा जीवन्त संग्राहलय निर्माण हुनेछ ।

तपाईको प्रतिक्रिया