एकीकृत खानेपानी असफल भएकै हो ?

काभ्रे हेडलाईन डेक्स
काभ्रेपलाञ्चोकको मुख्य सहर बनेपा, पनौती र धुलिखेलका एकीकृत खानेपानी कुरेर बसेको १० बर्षभयो । समाचार काम सकिएको भनेर आउँछ,नेताहरुको भाषणमा ९७ प्रतिशत काम सकिएको दाबी गर्छन् । तर उपभोक्ताको धारामा पानी नझरेपछि स्थानीय एकीकृत खानेपानीको भर गर्न छाँडेको बताउन थालेका छन् ।
खानेपानीको सबैभन्दा ठूलो समस्या नै बनेपा र पनौतीमा रहेको र धुलिखेलमा तुलनात्मक रुपमा खानेपानीको समस्या कम भएकाले धुलिखेलले यसबारे चासो कम दिएको आरोप बनेपा र पनौतीको छ ।
हरेक बर्ष प्रतिशतमा खानेपानीको काम बढेपनि धारामा पानी नझर्दा काभ्रेपलाञ्चोकका मुख्य तीन नगरपालिका बनेपा, पनौती र धुलिखेलका स्थानीय पानीकै कारण व्ययभार बढिरहेको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बताउनुभयो ।
एकीकृत खानेपानीमा चरम भष्ट्राचार र नेतृत्वकर्ताको असमक्षताको कारणले खानेपानी पुरा नभएको बताउँदै भण्डारीले धुलिखेललाई खानेपानीको आवश्यकता नै नभएको तर पनौती र बनेपालाई आवश्यकता परेकाले समयमै काम सम्पन्न नगरेको दाबी गर्नुभयो ।
‘चाहिएको हामीलाई छ । खानेपानीको समस्या नभएको ठाउँको नेतृत्व भएपछि कसरी काम अघि बढ्नु ? यो काम पुरा नभएको भन्दा पनि नगरिएको कार्य हो’ नगर प्रमुख भण्डारीले थप्नुभयो, ‘अब बनेपा र पनौती मिलेर कसरी देवीथानमा खानेपानी झार्न सकिन्छ भनेर साझा प्रयास थालेका छौ ।’
उहाँले मुख्य लाईनको प्रेसर जाँच्ने, सडक विभाग, नेपाल विद्युत प्राधिकरण र स्थानीय तहले विकास निर्माणको कार्यगर्दा क्षती भएको शाखा पाइप लाईनको मर्मतमा आयोजनाले चासो नदिएको बताउनुभयो । काम त धेरै टाढाको बिषय समयमै बैठक समेत डाकिएको छैन उहाँले बताउनुभयो ।
एकीकृत खानेपानीमा तीन वटा नगरका प्रमुखको सहभागिता रहने भएपनि यसको नेतृत्व धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले गरेको तर उहाँ यो कार्यमा पुर्ण रुपमा असफल भएको बताउनुभयो । उहाँले आफू निर्वाचित भएको छ महिनामा एउटा मात्रै खानेपानीको बोर्डको बैठक राखिएको बताउनुभयो ।
एक अर्बभन्दा धेरै खर्च भएको आयोजनामा लापरवाहीले सिमा नाघेको र खानेपानी सफल गराउन मुख्य नेतृत्वकर्ताको ध्यान नगएकाले यो बर्षबाट नगरपालिकाले व्यहोर्ने भनिएको ऋणका ब्याज बारेमा पनौती नगरपालिकाले पुनः विचार गर्ने भण्डारीले बताउनुभयो । खानेपानी आउने ग्यारेन्टी नभएपछि बार्षिक करोडौं ऋणको व्याज कसरी धान्न सकिएला पहिला हामी आफैँ काम अघि बढ्ने कुरामा ढुक्क हुनु पर्याे नी भण्डारीले प्रष्ट्र पार्नुभयो ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आफूले निर्वाचनमा प्रतिबद्धता जनाए अनुसार खानेपानी खुवाउने कार्यमा अघि बढेको बताउनुभयो । उहाँले व्यक्तिगत प्रयासमा आजाद माविको ट्याक्कीमा पानी खसाउन सफल भएको बताउनुभयो ।
खानेपानीको समस्या बनेपा र पनौतीले अत्याधिक झेलेकाले कसरी खानेपानी खुवाउन सकिन्छ भनेर पनौतीको प्रमुखसँग निरन्तर सहकार्य गरिरहेको र केही महिनाभित्र खानेपानी खुवाउने तरिकाले काम गरिरहेको बताउनुभयो । समस्या हामीहरुलाई धेरै भएकाले हामीले हाम्रो तरिकाले काम सुरु गर्नु बाहेकको विकल्प नभएको उहाँले बताउनुभयो ।
काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना व्यवस्थापन बोर्डका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले आयोजनाको ९७ प्रतिशत काम सकिएको बताउनुभयो । उहाँले जनताको घरमा रहेको धारामा पानी नआएसम्म कामको प्रगति नदेखिने भएकोले खानेपानीको काम नभएको जस्तो देखिएको बताउनुभयो ।
ठेकेदार कम्पनीले अदालतमा मुद्धा दायर गरेकाले बाँकी तीन प्रतिशत काम गरी उपभोत्ताको धारमा पानी खसाल्न नसकिएको दाबी गर्नुभयो ।
हरेक बर्ष प्रतिशतमा काम सम्पन्न भयो तर धारामा पानी नझर्नुको प्रमुख कारण नै नेतृत्वकर्ता भएको पनौती नगरपालिकाका नागरिक समाजका अगुवा विशेश्वर बञ्जाराले दुखेसो पोख्नुभयो । पानीको व्यवस्थापनका लागि एउटा सर्वसाधारणले मासिक हजारौँ रुपियाँको व्ययभार थपेको बञ्जाराले बताउनुभयो । उहाँले धुलिखेल नगरपालिकाको नियतमा खराबी देखिएकाले खानेपानी समयमै सम्पन्न हुन नसकेको दावी गर्नुभयो ।
काभ्रे एकीकृत खानेपानीको २०७४ सालमै ७७ प्रतिशत काम सम्पन्न भएको थियो । त्यसपछि २०७५ मा ९३ प्रतिशत, २०७६ मा ९५ प्रतिशत, २०७७ मा ९६ प्रतिशत, २०७८ मा ९७ प्रतिशत र यो आर्थिक बर्षमा समेत ९७ प्रतिशतमा काम रोकिएको आयोजनाका व्यवस्थापक कृष्णप्रसाद कायस्थले बताउनुभयो ।
एकीकृत खानेपानी आउने आसामा ऋण काँडेर बनेपामा पाँच बर्षअघि घर बनाउनु भएको उद्धवप्रसाद पौडेल घरायसी प्रयोजनका लागि मात्रै मासिक १५ हजार रुपियाँको पानी खरिद गर्नुपर्दा दैनिक जिविका चलाउन नै समस्या परेको बताउनुहुन्छ । जारको खानेपानी किनेर खानुपर्दा थप व्ययभार बढेको उहाँले गुनासो गर्नुभयो ।
उहाँमात्रै हैन बनेपाको तीन दोबाटोमा मिठाइ पसल संचालन गर्नुभएका बद्री तिमल्सिनाले पानीको लागि मात्रै मासिक ५० हजार रुपियाँ खर्च गर्ने गरेको बताउनुभयो । झट्ट हेर्दा सो रकम आफ्नो खर्च जस्तो देखिएपनि त्यसको मारमा भने उपभोक्ता परेको उहाँले बताउनुभयो । एकीकृत खानेपानी आउँला भन्ने सोच्नै बिर्सिएको तिमल्सिनाले बताउनुभयो ।
काभ्रेपलाञ्चोक जिल्लाको बहुप्रतिक्षित काभ्रे एकीकृत खानेपानी आयोजना मेलम्ची खानेपानीकै पथमा बढेको स्थानीयको आरोप छ । विशेश्वर बञ्जाराले थप्नुभयो, काठमाडौँ उपत्यकाको वैकल्पिक सहरको रुपमा चर्चामा आइरहने बनेपा र पनौती खानेपानीको अभावमा तड्पिरहेको छ ।
आयोजना पक्षले विगत तीन वर्षदेखि खानेपानी आयोजनाको काम ९७ प्रतिशत पुरा भएको जनाएपनि हालसम्म शत प्रतिशत काम सम्पन्न हुन सकेको छैन भने गुणस्तरीय खानेपानीको अपेक्षा गरेका नागरिकहरुका लागि ‘आकाशको फल, आँखा तरी मर’ भन्ने उखान जस्तो भएको छ ।
परियोजना सुरु हुँदा एशियाली विकास बैँकको ऋण सहयोगमा मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठुलो आयोजनाको रुपमा रहेको काभ्रे उपत्यका खानेपानी आयोजनाको हालत पनि मेलम्ची जस्तै भएको छ । सो समयमा एशीयाली बैंकको २२ करोड, नेपाल सरकारको १६ करोड, नगर विकास कोषको २६ करोड र स्थानीय सरकारका ५ प्रतिशतका दरले ११ करोड रुपियाँको प्रत्यक्ष लागतमा कार्य सुरु भएको थियो ।
आयोजनाका इञ्जिनियर सितु सैँजुले आयोजनाको मुख्य हाइड्रोलिक परीक्षण, मुख्य प्रशारण लाइन, उपप्रशारण लाइन, फिल्टर मिडिया जडानको काम करिब १० प्रतिशत, ५११ वटा जक्शन जडानको, किटेनी र भण्डारी गाउँमा केहि काम र खारखोलामा इन्टेक जडानको काम बाँकी रहेको बताउनुभयो ।
खानेपानी आयोजना अन्र्तगत रिर्जभवार्यर ट्याङ्की, पानी प्रशोधन केन्द्र, पाइप बिछ्याउने, विभिन्न स्थानमा खानेपानीको ट्याङकी निर्माण गर्ने काम सकिएको जनाएको छ ।
उहाँले सडक विभागलगायतका तेस्रो पक्षले आयोजनाको मुख्य प्रशारण र वितरण पाइप लाइनलगायतमा पु¥याएको क्षतीको सुधार गर्न, खानेपानी वितरण पाइप लाइनका नेटवर्कहरु परीक्षण गर्न बाँकी रहेको बताउनुभयो । उहाँले पनौती शारदादेवस्थानमा रहेको फिल्टर ट्याङ्की र भालेश्वरमा रहेको मुख्य प्रशारण लाइनको केहि फिटिङ्ग सामान हराएकोले उक्त सामानहरुको व्यवस्थापन गर्ने कार्य समेत भएको बताउनुभयो ।
खानेपानी आयोजनाका लागि सन् २०१० अक्टोवर २६ मा नेपाल सरकार र एशियाली विकास बैङ्कबीच ऋण सम्झौता भएको थियो । आयोजनाको लागि लाग्ने कूल लागतको ५० प्रतिशत रकम नेपाल सरकार र एशियाली विकास बैंकवाट अनुदान, ३५ प्रतिशत रकम नगर विकास कोषवाट ऋण लिइएको छ भने बा“की १५ प्रतिशत रकम तीनवटै नगरपालिका र स्थानीय उपभोक्ताहरुबाट व्यहोरिने उल्लेख छ । खानेपानी आयोजनालाई राष्ट्रिय योजना आयोगले प्राथमिकतामा राखेर काम सुरु गरेको थियो ।
आयोजनाको लागि आवश्यक पर्ने ३५ प्रतिशत रकम ऋण लिनका लागि नगर विकास कोषसँग २०६९ असार २३ गते मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना, नगर विकास कोष र काभ्रे उपत्यकाका तीनवटा नगरपालिकाहरु बीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको थियो ।
सम्झौता अनुसार काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको कूल लागतको ३५ प्रतिशत रकम नगर विकास कोषवाट ऋणको रुपमा प्राप्त गर्नेछ ।
वार्षिक ५ प्रतिशत ब्याज तोकिएको उक्त ऋणको सा“वा र ब्याज तीन वटै नगरपालिकावाट २० वर्ष भित्र चुक्ता गरी सक्नु पर्ने सम्झौतामा उल्लेख छ । खानेपानी आयोजना निर्माणको ठेक्का चिनिँया निर्माण व्यवसायी कम्पनी निम्वो निङसिङ इन्टरनेशनल इङ्कले पाएको थियो । निर्माणको ठेक्का पाएको चाइनिज कम्पनीको सन् २०२० नोभेम्बर ३० बाट म्याद सकिएको थियो ।
म्याद सकिएको कम्पनीले २०२१ मार्च ७ (२०७७ फागुन २३ गते) ४५ दिनभित्र आयोजनाका सबै खानेपानी ट्याङ्कीमा खानेपानी खसाल्ने प्रतिवद्धता जनाएपनि काम सम्पन्न हुन नकेपछि आयोजनाले जरिवाना तिराएर काम लगाएको थियो । हर्जना तिराएर काम लगाउँदा समेत काम नगरेपछि २०७८ चैत २१ गते ठेकेदारसँगको सम्झौता तोडिएको छ । समयमा नै काम सम्पन्न नभएपछि आयोजनाको कुल लागत भ्याट र कन्टिजेन्सी बाहेक बढेर ९९ करोड आठ लाख सात हजार ८२१ रुपियाँ पुगेको छ । आयोजनाबाट सन् २०२४ सम्म बनेपा, धुलिखेल र पनौती नगरपालिका एक लाख ४० हजार जनसङ्ख्या लाभान्वित हुनेछन् । एक दिनमा एक व्यक्तिलाई ६५ देखि ८० लिटर पानी उपलब्ध गराइनेछ ।

तपाईको प्रतिक्रिया