बनेपा÷नेकपा एमाले काभ्रेपलाञ्चोकको नेतृत्वमा दोश्रो पुस्ता नवौं महाधिवेशनबाट जवरजस्त रुपमा स्थापित भयो । सोही नेतृत्व यो पटक परीक्षणको रुपमा स्थानीय तहको निर्वाचनमा होमियो । प्रमुख, उपप्रमुखसँगै निर्वाचनको कमाण्डर बनेर होमियो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले काभ्रेको सात वटा पालिकाको नेतृत्व जितेको थियो भने कांग्रेस चार र माओवादी केन्द्रले दुई पालिका । यसपटक परिणाम उल्टिएर कांग्रेस सात पालिका प्रमुख जित्ने सम्भावना देखिएको छ ।
०७४ मा एमालेले मेयर उपमेयर दुबै जितेका ७ वटा पालिकामध्ये ६ वटा पालिकाको प्रमुख र उपप्रमुख यसपटक गुमाइसकेको छ । ०७४ मा एमालेले बनेपा, पनौती, नमोबुद्ध, मण्डन देउपुर नगरपालिकाको मेयर उपमेयर तथा खानीखोला र भुम्लु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।
धुलिखेलको मेयरमा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जुले विजयी हात पार्नुभएको छ । उपमेयरमा कांग्रेसका उम्मेदवार निराजन जंगम विजयी बन्नुभयो । अन्यत्र जितेका पालिका एमालेले यसपालि गुमाएको छ ।
गठबन्धनमा आवद्ध सबै दलले लाभ लिएका छन् । कांग्रेस र माओवादीले ०७४ मा जितेका पालिका जोगाएका मात्र छैनन्, एमालेले जितेका पालिकाको पनि नेतृत्व लिएका छन् ।
माओवादी केन्द्रले ०७४ मा जितेको चौंरी देउराली गाउँपालिका यस पटक पनि सुरक्षित गरेको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार रेणुका चौलागाईं निर्वाचित भएकी छिन् । रेणुका ६ हजार २२८ मत पाएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी एमालेका जितराम लामाले पाँच हजार ४६३ मत पाए । उपाध्यक्षमा कांग्रेसका उम्मेदवार शेरबहादुर लामा निर्वाचित भए । लामाले सात हजार २१९ मत पाउँदा एमालेकी बविता खरेल गौतमले तीन हजार ५४९ मत पाइन् ।
माओवादी केन्द्रले ०७४ मा जितेको महाभारतको नतिजा आफ्नो पक्षमा पारेको छ । ँ माओवादी केन्द्रबाट मेयरका उम्मेदवार कान्छा लाल जिम्वा र उपप्रमुखमा कांग्रेसका उम्मेदवार सागर मोक्तानले विजयी भैसकेका छन् ।
यस्तै खानीखोला र भुम्लु गाउँपालिकाको अध्यक्ष माओवादी र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । अघिल्लो पटक दुबै पद एमाले जितेको थियो ।
खानीखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ ९छिन्ताङ० र उपाध्यक्षमा कांग्रेसका दोर्जेमान जिम्बा विजयी भए । यसैगरी, भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका प्रेम भुजेल पाँच हजार ७९२ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रेम लामाले चार हजार ५६८ मत पाए । उपाध्यक्ष पदमा कांग्रेसका जितेन्द्रमान तामाङ ९दावा लामा० ६ हजार ९८ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना श्रेष्ठले चार हजार २९ मत प्राप्त गरिन् ।
नमोवुद्ध नगरपालिकाको प्रमुखमा कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा विजयी भएका छन् । प्रमुखमा विजयी लामाले निकटम प्रतिस्पर्धी एमालेका राजन भुर्तेललाई पाँच हजार ३८९ मतान्तरले पराजित गरे । लामाले ११ हजार २११ र भुर्तेलले पाँच हजार ८२२ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा निकटतम प्रतिस्पर्धीलाई एक हजार ६४४ मतले पछि पार्दै गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रत्नबहादुर लामा विजयी भए । लामाले आठ हजार १८७ र एमालेकी सम्झना लामाले ६ हजार ५४३ मत प्राप्त गरिन् ।
बनेपा नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका उम्मेदवार शान्तिरत्न शाक्य विजयी भएका छन् । उनी १३ हजार ७९३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका रत्न कुश रंजितकारले ११ हजार ८३५ मत प्राप्त गरे ।
उपप्रमुखमा भने एमालेकी उम्मेदवार विमला सापकोटा दाहाल विजयी भएकी छन् । दाहाल ११ हजार ९९२ मतका साथ मेयरमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रगुवर चौ प्रधानले १० हजार ५१५ मत प्राप्त गरेका छन् ।
०७४ मा एमालेले मण्डनदेउपुर नगरपालिकाको प्रमुख पद यसपटक एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीले जितेको छ । मण्डनदेउपुर नगरपालिका एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगर हो । त्यहाँ एकीकृत समाजवादीका टोकबहादुर वाइवा विजयी भए ।
वाइवाले नौ हजार ४०६ मत ल्याउँदा एमालेका विदुर सापकोटाले आठ हजार ३५१ मत प्राप्त गरे । उपमेयरमा कांग्रेस उम्मेदवार विष्णुमणि नेपाल विजयी भए । एमालेकी उम्मेदवार सरिता ढकाललाई चार हजार ३८१ मत अन्तरले पराजित गरे ।
विजयी विष्णुमणि नेपालले ११ हजार ३०५ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत प्राप्त गरे । मतगणना जारी रहेको पनौती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामशरण भण्डारी विजयी भएका छन् ।
उपमेयरमा भने एमालेका उम्मेदवार गीता बञ्जरा विजयी भएकी छिन् ।
अघिल्लो पटक कांग्रेसले जितेको पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसकै महेश खरेलले अग्रता लिइरहेका छन् । उनलाई एमालेका कञ्चन अधिकारीले पछ्याइरहेका छन् । उपमेयरमा माओवादी केन्द्रका चेतप्रसाद गौत्तमले अग्रता लिइरहेका छन् । उनलाई एमालेका सूर्य माया दनुवारले पछ्याइरहेकी छन् । सो पालिकामा कांग्रेस जित नजिक पुगेको छ ।
बेथानचोक गाउँपालिकाको प्रमुखमा कांग्रेसका भगवान अधिकारीलाई एमालेका कमलप्रसाद तिमल्सिनालाई पराजित गरेका छन् । उपप्रमुखमा माओवादी केन्द्रका तारा राना तिमल्सिना विजयी भएकी छिन् ।
रोशी गाउँपालिकाको प्रमुखमा कांग्रेसका दिनेश लामा विजयी भएका छन् । उपप्रमुखमा माओवादीका दलमान थोकर विजयी बनेका छन् ।
यो पटक २०७४ को तुलनामा निकै उलटपुलट नतिजा आएको स्थानीय नेता÷कार्यकर्ताहरु बताउँछन् ।
काभ्रेमा टेष्टका रुपमा गोकुल बाँस्कोटाले फायर खोलेका मान्छे असफल बनेका छन् । उनको निर्वाचन क्षेत्रमा रहेको मण्डनदेउपुर, पाँचखाल, भुम्ल्ु र बेथानचोकमा एमालेले ठूलो मतान्तरले पराजित भएको छ । त्यस्तै धुलिखेलमा मेयर, बनेपा र पनौतीमा उपमयेर विजयी बनेको छ । यसमा सम्माजनक मत एमालेको छ ।
पुरानालाई दोहो¥याएको भए के हुन्थ्यो
मण्डनदेउपुरका एमालेका उम्मेदबार विदुर सापकोटाले आफ्नो वडामै बडाअध्यक्ष गुमाए । उपमेयर सरिता ढकालको बडामा समेत राम्रो मत आउन सकेन । पाँचखालमा कंचन अधिकारीले ठूलो मतान्तरले पराजित हुने संघारमा पुगे । उपप्रमुख सुर्यमायाँ दनुवारको सोचेको जस्तो मत आएन । भुम्लुमा भेगिय मुद्धा पहिलो बन्यो । सोचेको मत अध्यक्ष पदका उम्मेदबार प्रेम र लामा र उपाध्यक्ष कल्पना श्रेष्ठले ल्याउन सक्नुभएन ।
धुलिखेलमा गठबन्धनमै बागी भएकाले अशोक व्याञ्जू जोगिए । उपमेयर पराजित हुन पुगे । बनेपामा साविक बनेपा र एमालेको गढ नालाबाट कम मत आयो । रत्नकुश रंजित पराजित भए । उपमेयरमा समाजवादीको उम्मेदबार भएकाले एमालेले बाजी मार्याे ।
पनौतीमा बहुमत बडा जितेर मेयर कांग्रेसको हातमा गयो । नमोबुद्धमा ठूलो मतान्तरभयो । तेमालमा लज्जास्पद हार भयो । रोशीमा निक्कै समस्या देखियो । महाभारत गाउँपालिका र खानीखोलामा खासै राम्रो देखिएन । चौरीमा लालकिल्ला तोड्न एमालेले सकेन । युवा उम्मेदबार कच्चा देखिए । पुरानालाई एक पटक चान्स दिएको भए जे पनि हुन सक्ने अहिले एमाले बृत्तमा हल्ला फैलिएको छ ।
पहिलो परीक्षणमै असफल बने काभ्रे एमालेको दोश्रो पुस्ता
2022-05-21T08:03:50+05:45

तपाईको प्रतिक्रिया