
बनेपा÷नेपाल कम्युनिस्ट पाटी एमाले पनौती नगर कमिटिले आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मानेश्वरीलाई साक्षी राखेर एमालेले आफ्नो प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गरेको हो ।
नेकपा एमालेबाट पनौती नगरपालिकाको प्रमुख पदका उम्मेदवार भिम न्यौपाने, उपप्रमुखका उम्मेदवार गीता बञ्जारा, नेकपा एमाले बागमती प्रदेश कमिटिका उपाध्यक्ष रामहरि सुवेदी, एमाले पनौती नगर कमिटि अध्यक्ष सुरेश हुमागाँई, नेकपा एमाले काभ्रेका उपसचिव राजकुमार सापकोटाले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरे ।
प्रतिवद्धता पत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नगर प्रमुखका उम्मेदवार न्यौपानेले आफ्नो पहिलो कार्यकालमा अघिल्लो निर्वाचनमा आफुहरुले अघि सारेका ८५ प्रतिशत कामहरु सम्पन्न भएको बताए । उनले प्रतिवद्धता पत्रमा उल्लेख भएका कुरालाई सिरोपर गर्दै आफुहरु निर्वाचित भएको खण्डमा पहिलो कार्यकालमा सुरु गरिएका ठुला आयोजनाहरुको कामहरु सम्पन्न गरी जनता समक्ष हस्तान्तरण गर्ने बताए । पहिलो कार्यकालमा भुकम्पको पुनर्निर्माण, कोरोना सङ्क्रमणसँग जुध्नु परेको बताउँदै उम्मेदवार न्यौपानेले सम्पदाको शहर पनौतीलाई व्यवस्थित गर्ने लगायतका कामहरु अघि बढाउने बताए ।
न्यौपानेले तीन महिनाभित्र विशेषज्ञ सेवा सहित नगर अस्पताल सञ्चालन गर्ने प्रतिवद्धता जनाए । उनले पनौतीमा निर्माणाधिन २५ शप्यको नगर अस्पताल आवश्यक जनशक्ति, औषधि, यन्त्र, उपकरण, प्रयोगशाला तथा विशेषज्ञ सेवा सहित ३ महिनाभित्र सञ्चालनमा ल्याइने दाबी गर्नुभयो ।
सबै नगरवासीको स्वास्थ्य बीमा गरिने समेत उहाँले प्रतिवद्धता जनाए । यसअघि नगरपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको थियो । ४० वर्ष नाघेका सबै नगरवासीको वर्षको एकपटक पुर्ण स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाउने नगरप्रमुखका उम्मेदवार न्यौपानेले बताए ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेशका उपाध्यक्ष रामहरि सुवेदीले एमालेको सरकारले अघि बढाएका कामहरु पुरा गर्नका लागि फेरी एमालेले नै जित्नुपर्ने बताउँदै कार्यक्रममा एमाले काभ्रे कमिटिका उपसचिव राजकुमार सापकोटाले एमालेले गरेका प्रतिवद्धताबाट अन्य राजनीतिक दलहरुले धेरै कुरा सिक्नु पर्ने भने । उनले एमालेका उम्मेदवारहरुसँग विकासको स्पष्ट खाका रहेको बताउँदै एमालेले जितेको खण्डमा पनौतीलाई एउटा सांस्कृतिक शहरको रुपमा विकास गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर कमिटि अध्यक्ष सुरेश हुमागाँईले एमालेका जनप्रतिनिधिले अघि बढाएको पनौती क्षेत्रिय रंगशाला निर्माणको लागि छुट्टिएको बजेट वर्तमान गठबन्धन सरकारले कटौँती गरेको आरोप लगाए ।
एमालेले देखेको विकास र समृद्धिको सपना पुरा गर्नका लागि एमालेले जित्न आवश्यक रहेको बताए । एमाले पनौतीले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा पशुपालन, सहकारी, संस्कृति तथा पर्यटन, महिला, बालबालिका तथा जेष्ठ नागरिक, अपाङ्गता भएका, युवा तथा खेलकुदलगायतका थुप्रै विषयका योजनाहरु समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया