विद्यालयको मेरुदण्ड तपाईहरु हो : मेयर न्यौपाने

पनौती÷एउटा विद्यालयमा हेडसर शिक्षक÷शिक्षिकाको जस्तै भुमिका निर्वाह गरेको हुन्छ एउटा कार्यालय सहयोगीले । विद्यालयको मेरुदण्ड भएपनि उसका कुरा कमैले सुन्छन् । हेर्दा सानो तर विशेष भुमिका निर्वाह गर्ने तल्लो तहका कर्मचारीको गुनासो भने कमै सुन्ने गरिन्छ ।
बुधबार, काभ्रेको पनौती नगरपालिका शिक्षा शाखाले कार्यालय सहयोगी, लेखापाल र बाल विकास सहजकर्ता(इसिडी) का कर्मचारीको गुनासो सुन्न कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथी हुनुहुन्थ्यो मेयर भिम न्यौपाने ।
घर छाँडेर विद्यालय जाने र आमापछि आमाको रुपमा रहेका इसिडी शिक्षकले पहिलाभन्दा केही धेरै रकम पाएपनि पर्याप्त नभएको गुनासो देवकी आचार्यले गर्नुभयो । न्यूनतम पारिश्रमिकमा स्थानीय तहले दिदै आएको २ हजार ५०० सुविधा थपिदिएको भए अझ राम्रो हुने उहाँले भन्नुभयो ।
हामीले विद्यालय नियमित बनाउन, बालबालिकालाई जान्न र जिज्ञासु बनाउन प्रयास गरिरहेका हुन्छौ उहाँले भन्नुभयो । बिरामी र भैपरी आउने बिदा समेत पाउन नसकेको अवस्थामा केही सहयोग गरिदिन आर्चायले अनुरोध गर्नुभयो । सुविधा कम भएकाले नयाँ अवसर पाएसँगै सो पदका साथीहरुले जागिर छाड्ने भएकाले नयाँ साथीका लागि तालिम आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले सम्मानपूर्वक समान व्यवहार खोजेको भन्नुभयो ।
लेखापाल रिता वाइवाले आफूहरुलाई इसिडी र कार्यालय सहयोगीको बराबरको सेवा समेत नदिएर अन्याय भैरहेकाले स्थानीय सरकारले त्यसमा ध्यान दिन आवश्यक रहेको औल्याउनुभयो । नेपाल सरकारले सबैलाई १५ हजार सेवा दियो तर हामीले पाउन सकेनौ उहाँले थप्नुभयो । कार्यालय सहयोगी दीपक हुँमागाईले आफूहरुले दरबन्दी पाउनु पर्ने र आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुन पाउनु पर्ने माग राख्नुभयो ।
पनौती नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रणराज न्यौपानेले बालबिकासका मिसहरु, लेखापाल साथीहरु र कार्यालय सहयोगी नै वास्तवमा विद्यालयको मेरुदण्ड भएकाले उहाँहरुको सेवा सुविधा दिन कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो ।
कार्यक्रममा मेयर भिम न्यौपानेले कार्यालय सहयोगीसँग एकै पटक यसरी कुरा गर्न नपाएको अवस्थामा यो छलफलले निक्कै ठूलो भुमिका खेल्ने भन्नुभयो ।
विद्यालयका मेरुदण्ड भनेकै कार्यालय सहयोगी भएकाले उहाँहरुको समस्याको बारेमा जानकारी लिएर समस्या समाधान गराउन आफूले भुमिका खेल्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा शिक्षाको सुधारका लागि आफूहरुले निरन्तर प्रयासका थालनी गरिरहेको स्पष्ट पार्नुभयो । सो कार्यक्रमको सहजीकरण महेश्वर जंगमले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया