बिचौलिया समात्नु नपर्ने यातायात कार्यालय

बनेपा÷अघिपछि बिचौलियाको सहयोग बिना सहजै सवारी दर्ता प्रमाणपत्र(ब्लू बुक) नविकरण नहुने यातायात व्यवस्था सेवा कार्यालय,सल्लाघारी भक्तपुरमा आजभोली त्यस्तो दृश्य देखिदैन । सेवाग्राहीले सकेसम्म बिचौलिया समात्नु नपरोस् भनेर विकास गरेको सामान्य प्रविधीले सो कार्यालयप्रति सेवाग्राहीको विश्वास बढेको छ ।
काभे्रपलाञ्चोक जिल्ला पनौतीका श्रीकृष्ण थापाले पहिलो पटक सवारी दर्ता प्रमाणपत्र(ब्लू बुक) नविकरण गर्न कसैको सहयोग लिनुपरेन । यसअघि बिचौलियाकै भरमा परेर काम गराउने थापाले शुक्रबार भने सहजै काम भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
‘यसअघि बिचौलियाले भनेको जति रकम दिएर काम लगाउँदा पनि एकै दिनमा नसकिने काम अहिले एक घन्टामै हुनेरहेछ’ थापाले भन्नुभयो । यस्तो व्यवस्था यातायात कार्यालयमा मात्रै नभई विशेष गरेर जनताको प्रत्यक्ष सरोकार रहने कार्यालयमा भए जनताले दुख नपाउने उहाँले बताउनुभयो ।
मोटरसाईकलको कर तिर्न कार्यालयमा पुग्नु भएका सिन्धुपाल्चोकका लालध्वज तामाङले पनि समयमै काम सकिएको देखेर अचम्ममै पर्नुभयो । ‘बिहान १० बजे कुपन पाएको थिए, ११ नबज्दै काम सकियो’ तामाङले थप्नुभयो,‘ सुरुमा आउनेले सुरुमै सेवा पाउने रहेछ, अब समयमै घर फर्कन पाउने भए ।’
पहिला कम्तिमा दुई दिन माया मारेर कर तिर्न आउनु पर्दथ्र्याे, त्यो पनि लाइन बस्दाबस्दै रात परेर फेरि अर्काे दिन आउनु पर्दथ्र्याे,अहिले केही घन्टामै काम सकिएको देखेर अचम्ममा परे तामाङले सुनाउनुभयो ।
भक्तपुरकै सेवाग्राही असिम मानन्धरले पहिला एउटा मोटरसाइकलको राजस्व तिर्दा कम्तिमा एक हजार रुपियाँ बिचौलियाले खाईदिनेमा अहिलेको टोकन प्रणालीले ठूलो राहत मिलेको बताउनुभयो ।
केही महिनादेखि कार्यालयले सुरु गरेको टोकन प्रणालीले आफ्नो कार्यालय बिचौलियामुक्त बनेको कार्यालय प्रमुख बिमल भट्टराईले भन्नुभयो । कोरोनाको कारणले सुरु गरेको टोकन प्रणालीले कार्यालयको सिष्टममै परिर्वतन ल्याएको भट्टराईले भन्नुभयो ।
‘हामीले सुरु गरेको टोकन प्रणालीले सेवाग्राहीले बिचौलिया समात्नु नपर्ने कुराको प्ुष्टि गरेको छ’ उहाँले भन्नुभयो । सुरुमा हामीले स्विच थिचेर पाउने टोकनबाट सेवा सुरु गरेका थियौ, कार्यालय प्रमुख भट्टराईले भन्नुभयो ‘टोकन बिहानै आएर बिचौलियाले दिने र दिउँसो सेवाग्राहीलाई बेच्ने थाहा पाएपछि त्यसलाई रोकेर कागजकै प्रिन्ट गर्ने टोकन दिन थालेका हौ ।’ कार्यालयले दिने टोकन सेवाग्राहीको ब्लूबुकमै टाँस हुने र सम्बन्धित फाँटमै राखिने भएसँगै चलखेल कम भएको र बिचौलिया तितरबितर भएको उहाँले दावि गर्नुभयो ।
उहाँले आफूहरुले सेवाग्राहीको संख्या कम गराउन नभएर पहिलो आउनेलाई पहिलो सेवा दिन टोकन प्रणालीको सुरुवात गरेको बताउनुभयो । उहाँले राजस्व तिर्नदेखि बिल काट्न समेत त्यही टोकन प्रणालीले काम गर्ने भएकाले सेवाग्राहीलाई झन्झट नहुने भन्नुभयो । ‘जो जतिबेला आउँछ, उहाँले टोकन लिनुहुन्छ र आफ्नो पालो आएपछि काम सकेर जानु हुन्छ,सेवाग्राहीबीच मनमुटाव पनि भएन कर्मचारीले बिचबाट काम गरे भनेर गुनासो गर्नु परेन’भट्टराइले भन्नुभयो ।
यातायात व्यवस्था सेवा कार्यालय,सल्लाघारी भक्तपुरमा दैनिक आठ सयदेखि १२ सय जनाले सेवा लिने गरेका छन् । सेवाग्राहीको संख्याको आधारमा कम्तिमा टोकन लिएको ४० मिनेटदेखि बढिमा डेढ घन्टासम्ममा सेवा हुने गरेके उहाँले भन्नुभयो । सो कार्यालयले बागमती प्रदेशका कार्यालयले सबै सवारी साधनको कर तिर्ने, रुट परमिट नविकरण गर्ने तथा चार पाङ्गे्र सवारी साधनको वायु प्रदुषण जाँच गर्ने सेवा प्रदान गर्दै आएको छ । आर्थिक बर्ष ०७८÷०७९ को साउनदेखि पौष मसान्तसम्ममा सो कार्यालयले एक अर्ब ६ करोड २० लाख ३० हजार ७०२ रुपियाँ राजस्व संकलन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया