बनेपा÷ जाडो मौसममा कोठालाई न्यानो बनाउन प्रयोग गरिने आगो र हिटरको प्रयोग सही तरिकाले नहुँदा कहिलेकाही काल बन्न सक्छ । देशभर जाडो मौसममा बालेको आगो र हिटरकै कारण एक दशकको अवधिमा निसास्सिएर ३३ जनाले ज्यान गुमाएको नेपाल प्रहरी प्रहरीसँग तथ्याङ्क छ ।
काठमाडौंको शंखरापुर नगरपालिका–३, बोजेनीमा बिहीबार एक दम्पती सुतेकै अवस्थामा मृत भेटिएका छन् । बुधबार राति खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङ मृत अवस्थामा भेटिएका हुन् । राति नै निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । कोठामा आगो बालेर राखेको मकल समेत फेला परेको छ ।
पौष १५ गते बाँकेको नेपालगञ्जमा कोठाभित्र कोइला बालेर सुतेका सात जना मध्ये चार जनाको निसास्सिएर मृत्यु भयो । तीन जनाको जीवितै उद्धार गरेर उपचार गरियो ।
माघ १ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेमा एउटै कोठामा सुतेका चार जनाको निसास्सिएर मृत्यु भयो । यस्तै २०७६ सालको माघमा भारतको केरला घर भई पोखरा हँुदै दामन घुम्न आएका आठ जना निसास्सिएर होटलभित्र मृत फेला परे ।
नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले हिउँदमा कोठा भित्र कोइला, हिटर र ग्यास हिटर बालेर सुतेको अवस्थामा निसास्सिएर मृत्यु हुने घटना बृद्धि भइरहेको बताउनुहुन्छ । जाडो मौसममा कोठालाई तातो बनाउँदा सावधानी अपनाउन नसक्दा यस्ता घटनामा बृद्धि भैरहेको केसीले जानकारी दिनुभयो ।
कोठामा बालेको आगो, हिटर ग्यासले सामान्यतया मानिसमा वान्ता हुने, मुटुको धड्कन असामान्य बनेर मस्तिष्कमा समेत असर पार्ने लक्षण देखिने नेपाल प्रहरी अस्पतालमा कार्यरत डा. दामोदर पौडेलले बताउनुभयो ।
नेपालमा अहिले मध्य चिसो भएको र केही दिनदेखि मौसम चिसिएकाले यसबाट जोगिन धेरैले हिटर बालेर ताप्ने गरे पनि धेरैले सावधानी अपनाउन नसक्दा मानवीय क्षति हुने गरेको उहाँले बताउनुभयो ।
कोठा भित्र आगो र ग्याँस हिटर बाल्दा कोठा तातो हुने भए पनि अत्याधिक जोखिम हुने भएकाले सचेत रहन सबैलाई अनुरोध गर्नुभयो ।
वरिष्ठ फिजिसियन डा. रविन्द्रप्रसाद राजभण्डारीले आगोको धुवाँबाट निकाल्ने कार्बन मोनोअक्साइड ग्यास मानव स्वास्थ्यको लागि हानीकारक हुने बताउनुहुन्छ । ‘कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाएर आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन जान्छ र मुटुमा पनि प्रत्यक्ष हानी गर्छ’ राजभण्डारीले भन्नुभयो ।
हिउँदमा एकै कोठाभित्र धेरै जना मृत्यु भएको र बेहोस अवस्थामा फेला पारेको भन्ने आउने समाचार यही कारणले भएको राजभण्डारीले बताउनुभयो । ग्यास,कोईला बालेको अवस्थामा कोठा भित्र शुद्ध हावाको प्रसार हुन नपाउँदा अक्सिजनको कमी हुने र यसरी तातेर बसेको समयमा चक्कर लागेर वाकवाक आउने, मन्द टाउको दुख्ने, आँखा धमिलो हुँदै जाने, श्वासको गति बढ्न थालेमा तत्कालै अस्पताल जानु पर्ने उहाँले बताउनुभयो । तर अधिकांश घटनामा मानिसहरु अर्धचेत अवस्थामा फेला पर्ने र अस्पतालसम्म पु¥याउदा बचाउन नसकिने उहाँ बताउनुहुन्छ ।
नेपाल प्रहरीका प्रवक्ता केसीले निसास्सिएर मृत्यु भएका घटनाको सुक्ष्म रुपमा गरिएका अनुसन्धानबाट मृत्यु भएका मानिसको कोठामा रात भरि ग्यास हिटर, कोइला र आगो बालेको पाइने गरेको बताउनुहुन्छ ।
त्रिभुवन विश्वविद्यालयका शोधकर्ता मानवशास्त्री विदुर तिमल्सिना हिउँदमा कोठा तताउन प्रयोग विधि र बिषय मानिसमा रहेको चेतनास्तर र आर्थिक हैसियतले भूमिका खेल्ने बताउनुहुन्छ ।
मानिसमा आगो बालेमा हुन सक्ने असरको बारेमा धेरै जानकारी हुँदैन जसको कारणले धेरैको अकालमा ज्यान जाने गरेको तिमल्सिना बताउनुहुन्छ । उहाँले मानिसको आर्थिक अवस्थाको आधारमा कोइला बाल्ने, ग्यास हिटर बाल्ने र त्यसबाट जोखिम समेत बढेको बताउनुभयो । उपल्लो वर्गले अत्याधुनिक एसी र हावा वारपार हुने सामाग्रीको प्रयोग गरेपनि सामान्य मानिसले कोठा तताउन प्रयोग गर्ने विधीको कारणले जोखिम बढेको भन्नुभयो ।
जाडो मौसममा आगो बालेर र ग्याँस हिटर तापेर सुतेका धेरै जनाको ज्यान जाने गरेको घटनाका बारेमा विद्यालय स्तरमै शिक्षा दिन आवश्यक रहेको तिमल्सिना भन्नुहुन्छ । उहाँले स्थानीय तहले समेत जाडो मौसममा बालिने आगो निभाएर मात्रै सुत्न, हिटरको प्रयोग कसरी गर्ने भन्ने बारे जानकारी दिन आवश्यक रहेको बताउनुभयो ।
कोठा न्यानो बनाउँदा निसास्सिएर मृत्यु हुनेक्रम बढ्यो
2022-01-29T08:04:34+05:45
तपाईको प्रतिक्रिया