माओवादी केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना, प्रचण्डले रोके भेटघाट

नेकपा माओवादीका अध्यक्षमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डले कोरोनाका कारण भौतिकरूपमा बधाई तथा शु्भकामना ग्रहण गर्ने काम रोकेका छन् ।

प्रचण्डको स्वकीय सचिवालयका अनुसार काठमाडौंका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीको सुझावलाई समेत ध्यानमा राखेर यो निर्णय लिइएको हो ।

सचिवालयका तर्फबाट जारी गरिएको वक्तव्यमा पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गरिनेछ । कतिपय संवाद भेटघाट बैठक र छलफललाई प्रविधिको प्रयोगबाट सहजीकरण गरिने विज्ञप्तिमा उल्लेख छ । केन्द्रीय कार्यालयका कतिपय जिम्मवार व्यक्तिलाई समेत कोभिड संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । ‘कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ .
आदरणीय कमरेडहरु तथा शुभेच्छुक मित्रहरू,
पार्टीको ऎतिहासिक आठौं राष्ट्रिय महाधिवेशन सफलतापुर्वक सम्पन्न भएको र अध्यक्ष कमरेड प्रचण्ड पुनः अध्यक्ष निर्वाचित हुनुभएकोमा सम्पुर्ण राजनैतिक शक्ति, स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, सम्पुर्ण पार्टीपंक्ति तथा शुभेच्छुकहरुद्वारा व्यक्त गरिएको बधाई तथा शुभकामनाको लागि हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं ।
राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं । यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ ।
हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं। कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजिकरण गर्नेछौं । केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडहरुलाई समेत कोभिड संक्रमण पुष्टि भएकोले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं ।
– स्वकीय सचिवालय

तपाईको प्रतिक्रिया