
बनेपा – जिल्लाको पनौती, पाँचखाल र भकुण्डे गरी ३ स्थानमा सडक सुरक्षामा जोड दिन ‘तौल पुल’ स्थापना गरिएको छ । बीपी राजमार्गको भकुन्डेवेशी, अरनिको राजमार्गको केराघारी र पनौती सडकको नैकिनटारमा शुक्रबार तौलपुल स्थापना गरिएको हो ।
पनौती रोडको नैकिनटार र अरनिको राजमार्ग पाँचखाल स्थित केराघारीमा ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रा.लिद्वारा ‘तौल पुल’ सञ्चालनमा ल्याइएको हो । त्यस्तै बिपिराजमार्गको नमोबुद्ध नगरपालिका स्थित भकुण्डेमा कोट कालिका मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रा.लिद्वारा तौल पुल सञ्चालनमा ल्याइएको हो ।
जिल्लाको पनौती नगरपालिका वडा नं ५ स्थित नैकिनटारमा स्थापना गरिएको ‘तौल पुल’ को पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले उद्घाटन गर्दै, ‘मालवाहक साधनले क्षमताभन्दा बढी भार बोक्दा सडक जीर्ण भएको हुनको साथै दुर्घटना भइरहेका छन् । तौलपुल सञ्चालनमा ल्याएपछि दुर्घटना न्यूनिकरण हुने विश्वास लिएका छौँ।’
अरनिको राजमार्गको केराघारीमा पनि स्थापना गरिएको ‘तौल पुल’को ‘तौल पुल’ को उद्घाटन पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले गरेका थिए । नमोबुद्ध स्थित भकुण्डेमा सञ्चालनमा ल्याएको ‘तौल पुल’को उद्घाटन नगरप्रमुख टि.पी शर्मा तिमल्सिनाले गरेका हुन् ।

तपाईको प्रतिक्रिया