विकटेश्वरमा स्काउट क्याम्प, विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा

काभ्रेपलाञ्चोक जिल्लाकै उत्कृष्ट तथा एसईई परीक्षा २०८१ मा जिल्ला प्रथम हुन सफल विकटेश्वर अङ्ग्रेजी माध्यमिक विद्यालयमा एक रात दुई दिनको विशेष स्काउट क्याम्प सुरु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका बरिष्ठ सई टंकप्रसाद सिवाकोटी र विद्यालयका प्रिन्सिपल श्यामबहादुर भुजेलले संयुक्त रूपमा स्काउट तथा नेपालको झण्डोतोलन गरी क्याम्पको शुभारम्भ गर्नुभयो।

५० जना विद्यार्थी सहभागी उक्त क्याम्पमा ब्वाय र गल्र्स स्काउटलाई स्काउट नियम, अनुशासन तथा नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गरिएको छ। एक रात दुई दिनसम्म सञ्चालन हुने क्याम्प बालबालिका तथा युवाहरूको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि सहयोगी हुने प्रमुख प्रशिक्षक रमेश सिटी खुलेले बताउनुभयो। उहाँका अनुसार क्याम्प साहसिक र शैक्षिक गतिविधिले भरिपूर्ण कार्यक्रम हो।

क्याम्पअन्तर्गत पाल टाँग्ने, खाना पकाउने, मार्चपास, सांस्कृतिक झाँकी, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षणसम्बन्धी तालिम सञ्चालन गरिने छ। विद्यालयका प्रिन्सिपल एवं प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले क्याम्पिङ र ट्रेनिङमार्फत पाल टाँग्ने, गाँठो पार्ने, दिशा पहिचान गर्ने जस्ता आधारभूत सीप सिकाइने जानकारी दिनुभयो।

यसैगरी, ट्रेकिङ, हाइकिङ तथा प्राकृतिक वातावरणमा रमाउने कला सिकाउने कार्यक्रमसमेत समावेश गरिएको छ। टोलीमा काम गर्ने बानी, तोकिएको समयमा कार्य सम्पन्न गर्ने अनुशासन तथा एकताको भावना विकास गर्न क्याम्प प्रभावकारी हुने उहाँले बताउनुभयो। प्राथमिक उपचार तथा विपद् व्यवस्थापनसम्बन्धी आधारभूत ज्ञानले विद्यार्थीलाई व्यवहारिक जीवनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

क्याम्प फायर, नृत्य, गीत तथा सांस्कृतिक झाँकी प्रदर्शन पनि क्याम्पका प्रमुख आकर्षणका रूपमा रहेका छन्। स्काउटमा आबद्ध विद्यार्थीहरूमा निस्वार्थ सामाजिक सेवा तथा प्रकृति संरक्षणप्रतिको चेतना विकास हुने विश्वास व्यक्त गरिएको छ। विद्यालयले यसअघि विभिन्न स्थानमा आउटिङ कार्यक्रम सञ्चालन गर्दै आएकोमा यसपटक विद्यालय परिसरमै क्याम्प आयोजना गरिएको हो।

यसैबीच, सडक दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने उद्देश्यले विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ। छात्रछात्रालाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिइनुका साथै सचेतनामूलक ¥यालीसमेत निकालिएको थियो। ट्राफिक नियमसम्बन्धी लेखिएका पर्चा–पम्प्लेट वितरण गर्दै व्यवहारिक अभ्यास गराइएको बरिष्ठ सई सिवाकोटीले जानकारी दिनुभयो।

उक्त कार्यक्रमबाट विद्यार्थीमार्फत समुदायमा समेत जनचेतना अभिवृद्धि भई सवारी दुर्घटनामा कमी आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो। जिल्ला ट्राफिक प्रहरी कार्यालयले प्रत्येक विद्यालयमा पुगेर यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अभियान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया