चुनावी प्रचारमा एमाले काभ्रे, १५ हजारभन्दा बढी कार्यकर्ता मैदानमा

काभ्रेका दुई निर्वाचन क्षेत्रमा नेकपा एमालेले चुनावी प्रचार–प्रसारलाई व्यापक बनाएको छ । आसन्न २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ माघमा उम्मेदवारी दर्ता गरेसँगै एमालेले प्रचार–प्रसारलाई तीव्र बनाएको हो ।
काभ्रेका दुई क्षेत्रमा उम्मेदवारी दर्तापछि निर्वाचन अभियानअन्तर्गत पार्टीका आन्तरिक भेला तथा बैठकहरू सम्पन्न गरिसकेको बताए । काभ्रे १ मा केन्द्रीय सदस्य अमित लामा र काभ्रे २ मा केन्द्रीय सदस्य अशोक व्याञ्जु उम्मेदवार हुनुहुन्छ ।
एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलका अनुसार जिल्लाका १३ वटा नै स्थानीय पालिका अन्तर्गतका पालिका कमिटी, १३५ वडा कमिटी तथा पाँच सयभन्दा बढी टोल कमिटीले प्रारम्भिक निर्वाचन परिचालन गतिविधि पूरा गरिसकेका छन् । ती गतिविधिमा पार्टीका १५ हजारभन्दा बढी संगठित सदस्य परिचालित भएको उहाँले उल्लेख गर्नुभयो ।

भदौ २३ र २४ गतेपछिको राजनीतिक घटनाक्रमले मुलुकमा संवैधानिक संकट र प्रतिनिधिसभा रिक्तताको अवस्था सिर्जना गरेको उल्लेख गर्दै एमालेले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा आवधिक निर्वाचन नै लोकतान्त्रिक शासन व्यवस्थाको प्रमुख मेरुदण्ड भएको स्पष्ट पारेको छ । एमाले केन्द्र र काभ्रै जिल्ला कमिटीले केही दिनमै निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ । घोषणापत्रअघि नै गाउँ–बस्तीमा पुगेर जनताका आवश्यकता, विकास निर्माण र समृद्धिका सवालहरू संकलन गरिरहेको पार्टीले ती विषयलाई घोषणापत्रमा व्यवस्थित रूपमा समेटिने उहाँले बताउनुभयो ।
काभ्रेको समग्र विकासको योजनाकार एमाले भएको र यसअघिको नेतृत्व पनि एमालेले गरेकाले जनताले विश्वास गर्ने दल एमाले भएको उहाँले बताउनुभयो । एमाले विना काभ्रेको विकास संम्भव छैन भन्ने मतदाताले राम्रोसँग बुझेको फागुन २१ गते एमालेको पक्षमा मतदान गर्न मतदाता आतुर भएको उहाँले सप्ष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया